दृष्टिकोण
विगतका गल्तीहरूकै कारण जेन-जी आन्दोलनपछि भिरमा पुगेको कम्युनिस्ट आन्दोलनले जनतामा फर्किने साहस, आत्मालोचना संस्कृति र वैचारिक स्पष्टता अपनाउन सकेन भने इतिहासले यसलाई ‘अवसर गुमाएको आन्दोलन’ का रूपमा मात्र सम्झनेछ।
नेपालको कम्युनिस्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण एसियाली राजनीतिक इतिहासमै फैलिएको एक दीर्घ, जटिल र बहुआयामिक संघर्षको कथा हो। निरंकुश राणा, पञ्चायती शासनविरुद्धको भूमिगत प्रतिरोधदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, गणतन्त्रको उदय र आज देखिएको गहिरो वैचारिक संकटसम्म आइपुग्दा आन्दोलनले अनेक प्रयोग, विभाजन र पुन:संयोजनको कठोर अनुभव गरेको छ।
मदन भण्डारी प्रतिपादित ‘जनताको बहुदलीय जनवाद (जबज)’ ले नेपाली कम्युनिस्ट आन्दोलनलाई निर्णायक मोड दियो। क्रान्ति र लोकतन्त्रबीचको पुरानो वैचारिक द्वन्द्वलाई चिर्दै यस अवधारणाले वाम आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धा, जनमत र संसदीय अभ्याससँग जोड्ने नयाँ राजनीतिक मार्ग खोल्यो। यही वैचारिक आधारबाट नेकपा (एमाले)को उदय सम्भव भयो, जसले वाम राजनीति मात्र होइन, नेपाली राज्यसत्ताको दिशा र चरित्रलाई समेत गहिरो प्रभाव पार्यो।
नेपालको कम्युनिस्ट आन्दोलन कुनै एक कालखण्ड, एक नेताको नाम वा कुनै निश्चित विचारसँग सीमित छैन। यो आन्दोलन नेपाली समाजको वर्गीय संरचना, शक्ति सन्तुलन, ग्रामीण-सहरी अन्तर्विरोध र अन्तर्राष्ट्रिय राजनीतिक प्रवाहसँग घनिष्ठ रूपमा जोडिएको छ। समयक्रमसँगै यसले बारम्बार आफूलाई पुनःपरिभाषित गर्दै आएको छ।
३ जेठ २०५० मा एमालेका तत्कालीन महासचिव भण्डारीको दुर्घटनामा मृत्यु भयो। यस घटनाले पार्टीलाई ठूलो क्षति पुर्यायो। तर, एमालेले शोकलाई शक्तिमा बदल्ने निर्णय गर्दै २०५१ सालको निर्वाचनमा पहिलो राजनीतिक दलका रूपमा आफूलाई स्थापित गर्यो।
४-१५ वैशाख २०१९ मा भारतको बनारसमा भएको तेस्रो महाधिवेशनले नेपाल कम्युनिस्ट पार्टीभित्र वैचारिक बहस तीव्र बनायो। संसद् पुनःस्थापनाबारेको विवाद, सोभियत संघ-चीन विभाजनको प्रभाव र नेतृत्वबीचको असहमतिले पार्टीलाई विभाजनतर्फ धकेल्यो।
झापा विद्रोह नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी चेतनाको प्रतीकको रूपमा स्थापित हुन पुग्यो। यसले युवा पुस्ताको साहस, वर्गसंघर्षप्रतिको दृढ प्रतिबद्धता र राज्यद्वारा गरिएको कठोर दमनका बाबजुद आन्दोलन अघि बढाउने क्षमता देखायो। विद्रोहले संगठन निर्माण र राजनीतिक रणनीति विकास गर्ने नयाँ मार्गचित्र कोर्यो। यही ऐतिहासिक पृष्ठभूमिमा नेकपा (माले)को उदय सम्भव भयो, जसले कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा र पहिचान प्रदान गर्यो।
पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा नेकपा (माले)ले भूमिगत संगठन, वैचारिक प्रशिक्षण र जनआधारित आन्दोलनलाई एकसाथ अघि बढाउँदै नयाँ राजनीतिक चेतना जगायो। जनमतसंग्रह बहिष्कारको निर्णयले पार्टीको स्पष्ट दृष्टिकोण देखायो भने त्यसपछिका वैचारिक बहस र नेतृत्व परिवर्तनले संगठनलाई थप परिपक्व बनायो। यी अनुभवहरूले केवल पार्टीको आन्तरिक मजबुती होइन, कम्युनिस्ट आन्दोलनमा लोकतान्त्रिक रूपान्तरणको आधार पनि तयार गरे। जनसाधारणसँगको सम्बन्ध, संगठनात्मक अनुशासन र वैचारिक स्पष्टताले नेकपा (माले)लाई दीर्घकालीन संघर्ष र सामाजिक परिवर्तनका लागि सक्षम बनायो र भविष्यका राजनीतिक कदमहरूको दिशानिर्देशन पनि सुनिश्चित गर्यो।
मदन भण्डारीको बिरासत
मदन भण्डारीको जबज सोभियत मोडलको प्रतिलिपि होइन, नेपाली समाजको वास्तविकता र परिस्थितिअनुसार सिर्जना गरिएको मौलिक प्रयोग थियो। उनले वर्गसंघर्ष र लोकतन्त्र विरोधाभासी होइनन्, बरु एकअर्काका परिपूरक हुन् भन्ने मान्यता स्थापित गराए। यही दृष्टिकोणले एमालेलाई जनाधार विस्तार गर्न सजिलो बनायो र कम्युनिस्ट आन्दोलनलाई देशको लोकतान्त्रिक प्रणालीभित्र स्थापित गर्यो।
२०४६ सालको जनआन्दोलनपछि नेकपा (माले) र नेकपा (मार्क्सवादी)को एकताबाट नेकपा (एमाले) गठन भयो। यस गठबन्धनले कम्युनिस्ट आन्दोलनलाई नयाँ राजनीतिक शक्ति प्रदान गर्यो। संसदीय राजनीति, जनआन्दोलन र संगठन निर्माण सँगसँगै अगाडि बढाउने त्रिकोणात्मक रणनीतिले पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निभाउने क्षमता दियो र यसरी एमाले देशको मुख्य राजनीतिक केन्द्रमा उदायो।
३ जेठ २०५० मा एमालेका तत्कालीन महासचिव भण्डारीको दुर्घटनामा मृत्यु भयो। यस घटनाले पार्टीलाई ठूलो क्षति पुर्यायो। तर, एमालेले शोकलाई शक्तिमा बदल्ने निर्णय गर्दै २०५१ सालको निर्वाचनमा पहिलो राजनीतिक दलका रूपमा आफूलाई स्थापित गर्यो।
निर्वाचनपछि एमालेले अल्पमतको सरकार निर्माण गर्यो र नौ महिनाभित्र लोकप्रिय काममा सफलता हासिल गर्यो। तर, महाकाली सन्धि विवादले पार्टीभित्र गहिरो असहमति निम्त्यायो, जसले संगठनात्मक कमजोरीलाई उजागर गर्यो।
२०५६ सालको निर्वाचनमा आन्तरिक फुटले एमालेलाई कमजोर अवस्थामा पुर्यायो। यसले स्पष्ट पार्यो कि वैचारिक संवादविना पार्टी फुट अपरिहार्य हुन्छ। तर, २०५८ सालमा पुनः एकताले आन्दोलनलाई नयाँ ऊर्जा दियो र पार्टीलाई पुनः सुदृढ बनायो।
२०६२/६३ को जनआन्दोलनपछि नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले नयाँ उचाइ लियो। त्यसपछि दुई मुख्य कम्युनिस्ट धारा एमाले र माओवादी राजनीतिक परिदृश्यमा स्थापित भए। २०६४ र २०७० सालको निर्वाचनमा प्रमुख राजनीतिक दलका रूपमा उदाए।
२०७४ सालमा यी दलहरूले वाम गठबन्धन गरे र निर्वाचनमा विशाल बहुमतका साथ विजय हासिल गरे। केही समयपछि यही गठबन्धनलाई पूर्ण एकतामा रूपान्तरण गर्दै नेकपा गठन भयो। तर, राजनीतिक चमक र ठूलो अपेक्षाका बाबजुद पार्टीभित्र वैचारिक एकरूपता, संगठनात्मक अनुशासन र सामूहिक नेतृत्वको अभावले यो एकतालाई दीर्घकालीन बनाउन सकेन। अन्ततः विघटनले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा गर्न बाध्य तुल्यायो।
विभाजन होइन, वैचारिक पुनर्निर्माण; व्यक्तिवाद होइन, सामूहिक नेतृत्व; सत्ता होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन। यो मार्ग अपनाएमा मात्र नेपाली कम्युनिस्ट आन्दोलन फेरि जनविश्वासको केन्द्र बन्न सक्छ।
आज नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर विश्वास संकटको चरणमा प्रवेश गरेको छ। यो संकट केवल निर्वाचन परिणाममा सीमित छैन, बरु वैचारिक दिशाहीनता, संगठनात्मक अराजकता र नेतृत्वको व्यक्तिवादी प्रवृत्तिको परिणाम हो। सिद्धान्तलाई व्यवहारसँग जोड्ने काम कमजोर बन्दा आन्दोलन सत्ताकेन्द्रित बन्न पुग्यो।
गुटबन्दी, निषेधको राजनीति र आलोचनालाई शत्रुता ठान्ने प्रवृत्तिले आन्तरिक लोकतन्त्र कमजोर बनायो। जनताको बहुदलीय जनवादजस्तो उन्नत विचार व्यवहारमा उतार्न नसक्दा त्यो केवल दस्ताबेजमा सीमित भयो। आज प्रश्न उठिरहेको छ– कम्युनिस्ट आन्दोलन सत्ताप्राप्तिका लागि हो कि समाज रूपान्तरणका लागि? यदि आन्दोलनले उत्पादन, रोजगारी, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर स्पष्ट कार्यक्रम दिन सकेन भने जनविश्वास आर्जन गर्न धेरै कठिन हुनेछ।
नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासबाट धेरै सिकेको दाबी गरे पनि व्यवहारमा त्यो सिकाइ कार्यान्वयन हुन सकेको देखिन्न। त्यसैले पनि यस घडीमा मदन भण्डारीको वैचारिक बिरासत झन् महत्त्वपूर्ण देखिन्छ। लोकतन्त्र, समाजवाद र राष्ट्रिय स्वाधीनता तीनैको सन्तुलित संयोजन नेपाली समाजको वास्तविक आवश्यकता बनेको छ। विगतका गल्तीहरूकै कारण जेन-जी आन्दोलनपछि भिरमा पुगेको कम्युनिस्ट आन्दोलनले जनतामा फर्किने साहस, आत्मालोचना संस्कृति र वैचारिक स्पष्टता अपनाउन सकेन भने इतिहासले यसलाई ‘अवसर गुमाएको आन्दोलन’ का रूपमा मात्र सम्झनेछ।
विभाजन होइन, वैचारिक पुनर्निर्माण; व्यक्तिवाद होइन, सामूहिक नेतृत्व; सत्ता होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन। यो मार्ग अपनाएमा मात्र नेपाली कम्युनिस्ट आन्दोलन फेरि जनविश्वासको केन्द्र बन्न सक्छ। नत्र पतनबाट कसैले जोगाउन सक्दैन।