काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१९ माघ २०८२
अ+
अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मापक क्यूएए प्राप्त गरेको छ।

विश्वविद्यालय अनुदान आयोगले १२० प्रकारका विभिन्न मापदण्ड परीक्षण गरी शैक्षिक गुणस्तरको अन्तर्राष्ट्रिय मापक मानिने ‘क्यूएए’ विभागलाई प्रदान गरिएको हो। विभागद्वारा आज (सोमबार) आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो। शिक्षा विभागका प्राध्यापक केशव पौडेलका अनुसार गुणस्तरीय शैक्षिक उपलब्धि एवं गुणस्तरीय भौतिक पूर्वाधारको पर्याप्त भएको अवस्थामा मात्र दिइन्छ। यसका लागि उत्तीर्ण दर उच्च हुनुपर्ने, अनुसन्धानात्मक अध्ययनका लागि विशेष व्यवस्था भएको हुनुनपर्नेलगायत पूर्वसर्त छन्। “क्यूएए प्राप्त भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय शैक्षिक संस्थाको हैसियत प्राप्त हुने छ,” उनको भनाइ छ।

तीन चरणको क्यूएएमध्ये विभागले अहिले पहिलो चरणको क्यूएए पाएको हो। अहिलेभन्दा थप गुणस्तर सुधारेमा दोस्रो चरणको क्यूएए प्राप्त हुन्छ भने तेस्रो चरणको क्यूएए प्राप्त गरेपछि विभागले मानक विश्वविद्यालयको मान्यता पाउँछ। प्राप्त क्यूएए मान्यतालाई जोगाउन र दोस्रो तहको क्यूएए पाउन बेरुजु कम गर्नलगायत आर्थिक सुव्यवस्था कायम गर्नुपर्ने प्राध्यापक पौडेलको भनाइ थियो।

कार्यक्रममा सङ्कायका वेदराज आचार्यले विभागले धेरै मिहिनेतपछि क्यूएए प्राप्त गरेको बताउँदै उनले अन्य क्याम्पसका लागि पनि यसले प्रेरणा प्रदान गर्ने दाबी गरे। अनुसन्धानमा पर्याप्त बजेट छुट्याउनुपर्ने उनको भनाइ थियो।

सङ्कायका पूर्वडिन एवं प्राध्यापक चित्रबहादुर बुढाथोकीले थप राम्रो काम गर्न क्यूएए मान्यताले प्रेरणा दिएको बताए। “धेरै क्यूएए पाएका कलेजको अवस्था पाउनुभन्दा अघिको भन्दा नाजुक भएको देखिन्छ। यसतर्फ सजग हुनुपर्छ,” उनले भने। उनले यसका लागि शिक्षक विद्यार्थीको नियमित उपस्थिति मात्र नभई समग्र शैक्षिक वातावरण सुधार्नुपर्ने बताए।