खिचिक्क
कुहिरोभित्रको पक्षी जीवन
चितवन। नारायणी नदी क्षेत्रमा जाडो यामसँगै देखिने प्राकृतिक दृश्य अत्यन्त मनमोहक हुन्छ।
चिसो बिहानको कुहिरोले ढाकिएको नदी, बगर र वरपरका घाँसे मैदान शीतकालीन आप्रवासी चराहरू र स्थानीय वन्यजन्तुको गतिविधिले जीवन्त बन्छ। हरेक वर्ष उत्तरी एसिया, साइबेरिया, मध्य एसिया र तिब्बती उच्चभूमिबाट हजारौँ किलोमिटर यात्रा गरेर नेपाल आउने आप्रवासी चराहरूका लागि नारायणी नदी एक महत्त्वपूर्ण आश्रयस्थल हो।
यस क्षेत्रमा चखेवा (Ruddy Shelduck), खोया हाँस (Bar-headed Goose), रणमत्त महाचिल (Eastern Imperial Eagle), लगु राजपुत्रिका (Little Ringed Plover) जस्ता प्रमुख आप्रवासी चरा देख्न सकिन्छ।
साथै मणितुण्डक हाँस (Goosander) जस्ता जलचर र आसपासका वन क्षेत्रमा मयूर (Peacock) को उपस्थितिले पनि यहाँको जैविक विविधतालाई झनै समृद्ध बनाएको छ। यी चराहरू उत्तरी क्षेत्रमा अत्यधिक चिसो, हिउँ र आहारको अभाव भएपछि तातो मौसम, सुरक्षित बासस्थान र प्रशस्त खानाको खोजीमा नेपालतर्फ आउने गर्छन्। नारायणीजस्ता नदी, सिमसार र बगर क्षेत्र उनीहरूका लागि जाडो बिताउने उपयुक्त स्थान हुन्।
यी सबै प्रजातिले यस क्षेत्रको पारिस्थितिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। शीतकालीन आप्रवासी चराहरू नेपालका सिमसार क्षेत्रहरूको स्वास्थ्य अवस्था र वातावरणीय सन्तुलनका महत्त्वपूर्ण सूचक हुन्। तर सिमसार क्षेत्रको संकुचन, नदी प्रदूषण, अवैध सिकार र बढ्दो मानवीय दबाबका कारण यी चराको बासस्थान जोखिममा पर्दै गएको छ। त्यसैले नारायणी नदी र यससँग जोडिएका सिमसार क्षेत्रहरूको संरक्षण अत्यन्त आवश्यक छ।
यी सुन्दर चरा र वन्यजन्तुको संरक्षण गर्नु भनेको केवल जैविक विविधताको रक्षा मात्र होइन, प्राकृतिक सम्पदा, पर्यटन र भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्नु पनि हो। नारायणी नदीमा हिउँदका बिहानहरुमा देखिने यी दृश्यहरूले प्रकृतिको सौन्दर्यसँगै संरक्षणको गहिरो सन्देश पनि बोकेका छ।
हेरौँ नेपाल फोटो लाइब्रेरीका लागि दृष्टान्त बिडारीले खिचेका थप तस्बिर :
