महेन्द्रनगर। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक जेन-जी आन्दोलनको पाँच महिनापछि वेदकोट नगरपालिका ८ मा रहेको पुर्ख्यौली घर पुगेका छन्।
जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा उनको पुर्ख्यौली घर आन्दोलनकारीले आगजनी गरी पूर्ण रूपमा नष्ट गरेका थिए। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन आज (सोमबार) बिहान गृहनगर पुगेका लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए ।
लेखकको काठमाडौँको नैकापमा रहेको घर, वेदकोट ८ मा रहेको पुर्ख्यौली घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मत गरी उनी आश्रय लिइरहेको छ।

पहिलोपटक पुर्ख्यौली घर पुगेका नेता लेखकले स्थानीयसँग साक्षात्कार गरे। स्थानीय बासिन्दाले गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासबारे जानकारी गराएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन्।
कांग्रेसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन। पार्टीले यहाँ पूर्वजिल्ला पार्टी सभापति हरिप्रसाद बोहोरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन्।
हेर्नुहोस् थप तस्बिर :
