कास्की। रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पोखरा १९‚ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका घर भई अहिले पोखरा बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
पौडेलले आफू कानुन व्यवसायी रहेको र पोल्यान्डमा श्रीमानले सञ्चालन गरेको होटेलमा कामदारका रूपमा लैजाने भन्दै ११ जनालाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म गरी १४ लाख ६० हजार रुपैयाँ उनले ठगी गरेको जाहेरी प्रहरीमा परेको थियो।
दुवै जनामाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए।