काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित ३ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छविप्रसाद रिसाल रहेका छन्।
कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनको आधारमा प्रमाणसहित उनीहरुलाई गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो।
कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रूपैयाँ र स्रोत नखुलेको ४० हजार ३५० रूपैयाँ बरामद भएको छ भने उनको साथबाट थप ९६ हजार ७० रूपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।
त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिसालको साथबाट घुसवापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी जम्मा ३८ हजार ८४८ रूपैयाँ बरामद भएको छ।
आयोगले उनीहरुको साथबाट स्रोत नखुलेको थप रकमसहित कुल २ लाख ६८ हजार २८८ रूपैयाँ र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ।
नियन्त्रणमा रहेका तीन जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।