काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले शिष्टाचार भेट गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विषयमा छलफल भएको थियो। यादवले सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र इजिप्टबीच कायम रहेको मित्रता र सद्भावपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरे। उनले नेपालले सन् १९६६ मा कायरोमा र इजिप्टले सन् १९७० मा काठमाडौँमा दूतावास स्थापना गरेको उल्लेख गर्दै यसले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धको द्योतकको रूपमा कार्य गरेको बताए।
उनले लामो अन्तरालपछि आजै कायरोमा आयोजना हुन लागेको नेपाल-इजिप्ट द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकप्रति खुसी व्यक्त गर्दै बैठकबाट महत्त्वपूर्ण सम्झौता तथा समझदारी पत्रहरूमा हस्ताक्षर हुने र सहकार्यका नयाँ मार्ग खुल्ने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रहरूको समूह (नाम) का संस्थापक सदस्य रहेको, संयुक्त राष्ट्रसंघ, जी-७७ तथा विश्व व्यापार संगठनलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा मुद्दामा सहकार्य गर्दै आएकामा सन्तोष व्यक्त गरेका थिए। उनले संसारमा अन्याय, सीमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता कायम रहने समान धारणा नेपाल र इजिप्टबीच रहेको बताए।
इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले राजदूतमार्फत इजिप्टका राष्ट्रपति, सरकार तथा मित्रवत् जनतालाई बधाई दिँदै निरन्तर शान्ति र समृद्धिका लागि शुभकामना दिए।
भेटमा राजदूत अल्दिवानीले नेपाल र इजिप्टबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। “इजिप्ट नेपालको हरेक क्षेत्रमा सहयोग गर्न तयार छ। विशेषतः सैनिक तथा कृषि क्षेत्रमा सहयोग गर्न इच्छुक छ‚” उनले भने‚ “नेपालमा रासायनिक मल उपलब्ध गराउन इजिप्ट सहयोग गर्न चाहन्छ। साथै इजिप्टका कृषि विशेषज्ञहरूलाई नेपाल आमन्त्रित गरी यहाँको कृषिको स्तर उकास्न तत्पर छ।”