जनकपुर। मधेस प्रदेश अर्थ मन्त्रालयले वित्तीय सन्तुलन कायम राख्न विभिन्न शीर्षकको खर्च कटौती र रोक्का राख्ने निर्णय गरेको छ।
मन्त्रालयले जारी गरेको सूचनामा वित्तीय सन्तुलनका लागि बजेट खर्च कटौती एवं रोक्का राख्नेसम्बन्धी निर्णय गरिएको जनाएको छ। मन्त्रालयले विभिन्न मन्त्रालय सचिवालय, आयोग, प्रतिष्ठान केन्द्र र अन्तर्गतका निकायबाट उक्त निर्णय कार्यान्वयन गराउन अनुरोध गरिएको छ।
खर्च कटौती गरिएकामा मसलन्द तथा कार्यालय सामग्री शीर्षकको विनियोजित रकममध्ये खर्च हुने बाँकी रकमको ३० प्रतिशत कटौती एवं रोक्का राख्ने। त्यसैगरी ५० प्रतिशत कटौती र रोक्का राख्ने शीर्षकमा सवारीसाधन मर्मत, मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च, निर्मित सार्वजनिक सम्पत्ति मर्मत सम्भार खर्च, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन खर्च, अन्य सेवा शुल्क छन्।
यस्तै उत्पादन सामग्री सेवा खर्च, कार्यक्रम खर्च, भ्रमण खर्च, सवारीसाधन तथा मेसिनरी औजार भाडा, वन तथा वातावरण संरक्षण, सरसफाइ संरचना निर्माण, निर्मित भवनको संरचनात्मक सुधार खर्च छन्।
त्यसैगरी खर्च हुने बाँकी रकममध्ये सम्पूर्ण रकम रोक्का गरिएकामा हालसम्म कार्यदेश नलिएका सबै आयोजना तथा कार्यक्रम, पुस्तक तथा सामग्री खर्च, इन्धन अन्य प्रयोजन, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, कर्मचारी तालिम खर्च, अनुगमन मूल्यांकन खर्च, अन्य भ्रमण खर्च, अन्य संस्थालाई अनुदान सःसर्त, अन्य संस्थालाई अनुदान पुँजीगत, अन्य सामाजिक सहायता, पशुधन तथा बागबानी विकास खर्च छन्।
यस्तै विद्युत् संरचना निर्माण, पुँजीगत सुधार खर्च सार्वजनिक निर्माण, अन्य सार्वजनिकमा स्वीकृत आयोजना तथा कार्यक्रममध्ये सुरु विनियोजित रकम १० लाख रुपैयाँ वा सोभन्दा कमका आयोजना तथा कार्यक्रम छन्।
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले असार महिनामा खर्च गरिने परिपाटी देखिएको र त्यसलाई निरुत्साहित गर्न यस किसिमको निर्णय गरिएको जानकारी दिए। उनले सुरुमा खर्च नगर्ने र असार महिनामा मात्रै खर्च गर्ने जुन प्रवृत्ति देखिएको यसले समस्या आउने भएको र त्यसलाई निरुत्साहित गर्नुपर्नेमा आफ्नो मन्त्रालयले यस खालको निर्णय गरेको जानकारी दिए।