वैशाख १२ को त्यो रोदन


नेपालन्युज
आईतवार , १२ बैशाख , २०७८

२०७२ बैशाख १२ गते शनिबार बिहान साप्ताहिक बागमती सफाई अभियानमा भारतका योगगुरु रामदेव प्रमुख अतिथि थिए। उनले बागमती सफाई अभियानको निकै प्रसंशा गरेका थिए, उनले सो अभियानका अभियन्ताहरुको समेत तारिफ गर्न भ्याएका थिए।

उनले अभियन्तामध्येका एक तत्कालीन नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेललाई नेपालका मात्र नभएर विश्वकै मणि भएको बताउँदै थिए। रामदेव सम्मिलित बागमती सफाइसम्बन्धी समाचार कम्प्युटरमा टाइप गरिरहेको अवस्थामा बिहानको ११ बजेर ५६ मिनेटमा अचानक भूकम्पको सामना गर्नुपरेको थियो।

त्यतिबेला हरेक शनिबार बिहान ड्युटि गर्ने गरेको म रामदेवको समाचारमा अल्झिरहन नपरेको भए सायद भूकम्प गएको समयमा कार्यालयबाट निस्किसकेको हुन्थे। सार्वजनिक बसबाट सुन्धारामा ओर्लेर क्षेत्रपाटीस्थित घर जान धरहरा वा रत्नपार्कमा ओर्लेर भोटाहिटी हुँदै असनतिर पुगेको हुन्थे होला। तर रामदेवको समाचारले मलाई रातभरि नै कार्यालयमा बस्न बाध्य बनायो। घटनाको गम्भीरता र मेरो पेशाप्रतिको इमान्दारीले मलाई घरभन्दा समाचारमै रमाउन उचित लाग्यो।

चीनको सहयोगमा सिंहदरवारभित्र निर्माण गरिएको नेपाल टेलिभिजनको समाचार कक्ष रहेको भवन कयौं रेक्टर स्केलको भूकम्प प्रतिरोधी क्षमता भएको भनि त्यो भवन बन्दादेखि नै चर्चा भएको थियो। वास्तवमा त्यो भवन चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनले आफ्नो नेपाल भ्रमणका क्रममा तत्कालीन राजा स्वर्गीय वीरेन्द्रको शासनको ३० वर्ष पुगेको अवसरमा काठमाडौंका जनताको मनोरञ्जनका लागि मेट्रो च्यानल बनाइदिने प्रतिबद्धताअनुसार बनाइएको थियो।

सुरुमा चीनले भवन बनाएर उपकरणसहित मेट्रो च्यानलका रुपमा हस्तान्तरण गरेपनि अहिले त्यही भवनमा नेपाल टेलिभिजनका नेपाल टेलिभिजन, एनटिभी प्लस तथा एनटिभी न्युजका साथै समाचार कक्ष र दृश्य संग्रहालयसमेत अटाएका छन्।

भूकम्प प्रतिरोधी भवन भए पनि बैशाख १२ गते त्यो भवन निक्कै हल्लिएको थियो। भूकम्पको धक्काका कारण भवनका विभिन्न भागमा धाँजा परेका थिए, जसलाई पछि चिनिया प्राविधिकहरुले नै मर्मत सम्भार गरिदिएका थिए।

भूकम्प गएको दिन शनिबार परेकाले सिंहदरवारका कार्यालयमा कर्मचारीहरु थिएनन्। नेपाल टेलिभिजनमा समेत सीमित कर्मचारीमात्र थिए। क्रमिकरुपमा समाचार कक्ष हल्लाउन थालेपछि सबैजना भवन अगाडिको भागमा निस्केका थियौं। सबैजना अन्यौलग्रस्त देखिएका थियौं। अब के गर्ने कसैलाई थाहा थिएन। ठीक पूर्वतर्फ रहेको अनामनगरतिरका घरहरु घरिघरि जोड्ने छुट्टिने गरेको स्पष्ट देखिएको थियो। यस्तो अवस्थामा अनामनगरबासीहरुले सुरक्षाका लागि सिंहदरवारभित्र प्रवेश पाउन सुरक्षाकर्मीहरुसँग अनुरोध गरेका थिए। तर तल्लो तहका सुरक्षाकर्मी आफैंले निर्णय गरेर ढोका खोलिदिन सक्दैनथे। गेटमा दबाब निक्कै बढेपछि तनाब हुनसक्ने स्थिति पैदा हुन थाल्यो र लगत्तै सुरक्षाकर्मीले ढोका खोलिदिएपछि हजारौं सर्वसाधारणले राहतको साँस फेरेका थिए।

यसरी उनीहरुले कयौं दिनसम्म सिंहदरवारका चउरहरुमा रात गुजारेका थिए। नेपाल टेलिभिजन २४ घण्टा नै चल्ने अफिस भएकाले धेरै मानिसहरुले नेपाल टेलिभिजनको गेट र बरण्डाहरुलाई आश्रय स्थल बनाएका थिए। भूकम्पका ताजा समाचार जानकारी पाउन सजिलोका साथै सधैं खुल्ने क्याण्टिन र शौचालय समेतको कारण मानिसहरुलाई केही हदसम्म राहत मिलेको थियो।

यसरी नेपाल टेलिभिजनको गेटमा कयौं दिन गुजारा गर्नेहरुमा उच्च पदस्थ मानिसहरुका साथै वरिष्ठ जनगायक जीवन शर्मालाई पनि म सम्झिन्छु।

भूकम्प गएको केहीबेर प्रसारण अवरुद्ध भए पनि लगत्तै समाचार प्रसारण सुरु गरिएको थियो। टेलिफोन सेवा अवरुद्ध भएकाले पहिले प्रसारण गर्ने सामाग्री नै थिएन। त्यतिबेला समाचारवाचक आफैँले भूकम्पका बेला गरेको अनुभव नै प्रस्तुत गर्दै प्रत्यक्ष प्रसारणमा गएका थिए। तर समाचार वाचकलाई स्टुडियोमा समाचार प्रस्तुत गरिरहेको अवस्थामै हल्लाएर टिक्न समस्या हुन्थ्यो।

कतिपटक त पराकम्पले हल्लाएर अन्य साथीहरु वाचकलाई मात्र छाडेर भागेको अवस्था पनि भएको थियो। कतिपय वाचकसमेत प्रत्यक्ष प्रसारणमा जान कयौं दिनसम्म डराएको स्थिति पैदा भएको थियो।

भूकम्प गएको दिन सुरुमा सूचनाको समस्या परेपनि विस्तारै वरिपरिका दृश्य धमाधम प्राप्त हुन थाल्यो। क्यामरापर्सन् र समाचारदाताहरु विभिन्न स्थानमा गएर समाचारका दृष्यहरु खिचेर ल्याउन थाले। भूकम्प गएको दिन यो क्रम रातभरि नै जारी रहेको थियो। त्यसदिन म बिहान ५ बजे अफिस गए पनि परिस्थितिले घर जाने अवस्था नै रहेन। हामी रातिको अवस्थाको समाचार लिन पनि गएका थियौं। राति १२ बजे धरहरा पुग्दा सुरक्षाकर्मीहरु भत्केको धरहरा खन्दै थिए भने कयौंका आमा र परिवारहरु आफ्नो आफन्तलाई छिटो झिकिदिनोस न भनि रोएर आग्रह गरिरहेका थिए। प्रायः सबैजसो टोलमा मानिसहरु सडकमै सुतेका थिए। काष्ठमण्डपमा बैशाख १२ गते बिहान रक्तदान गर्न आएको मेरो छोरो अझैपनि भेटिएन भनि एकजना बाबु मध्यरातमा छाती पिटी रोइरहेका थिए। राति नै शिक्षण अस्पताल पुग्दा बाहिरसमेत घाइतेहरुको उपचार भइरहेको थियो भने त्यतिखेर बिजुली अवरुद्ध भएकाले मुर्दा घरमा आफन्तको लासको खोजीमा जानेहरुलाई क्यामरामा रहेको बत्ती बालेर मेरा सहकर्मी क्यामरापर्सनले सहयोग गरेका थिए।

भूकम्पका बेला यसरी कयौं नेपालीहरुको दुःख साक्षात्कार गर्ने अवस्था आइपरेको थियो। शोभा भगवती पछाडि एक जना वृद्धले आफ्नो परिवारका ७ जना एकैपटक गुमाएका थिए। सप्ताह मान्न  भेला भएका परिवारको एकै चिहान भएको भग्नावशेष हेरेर नुवाकोटबाट बसाई सरेका पूर्व शिक्षकले रोएर दिएको अन्तर्वार्ता मेरो जीवनकै पिडादायी क्षण बनेको थियो।

नयाँ बसपार्कस्थित एउटा लजमा विदेश जानेक्रममा रहेका कयौं मानिस जिउँदै पुरिएका थिए। सशस्त्र प्रहरीले उनीहरुलाई ढलान काटेर भए पनि सकुशल उद्धार गरेको समाचार प्रत्यक्षरुपमा हेर्दा पीडादायक भए पनि गौरव गर्ने अवस्थाको थियो। यस्ता पीडाका कथा कयौं छन्, जसलाई हामीले भूकम्पका बेला प्रत्यक्षरुपमा अनुभव गरेका थियौं। भूकम्प प्रतिरोधी भवनमा स्टुडियो भएको नेपाल टेलिभिजनले समेत पालबाट प्रसारण गर्नुपरेको त्यस्तो जोखिमपूर्ण र दुःखदायी अवस्थालाई मैले आफ्नो जीवनको पत्रकारिताको अभ्यासको महत्वपूर्ण अध्यायको रुपलाई लिएको छु।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal