डिग्री पास गरेकी सगरमाथा आरोहीले खोलिन् मटका चिया पसल


कुनै पनि काम गरेर आत्मनिर्भर बन्न खोज्दा मानिस झन् गौरवशाली हुन पुग्छ। त्यस्तै उदाहरण प्रस्तुत गरेकी छन् सगरमाथा आरोही डोमा शेर्पा पिनासाले।

स्नातकोत्तर उत्तीर्ण गरिसकेकी डोमाले काठमाडौंमा मटका चिया बेच्ने 'टी सप' खोलेकी छन्, जसमा उनी र उनकी बहिनी संलग्न छन्। यस कामका लागि उनले करिब ५ लाख रुपैँया लगानी गरेकी छन्। काठमाडौंको बौद्ध नजिकै खोलिएको 'क्याफे इनारा'का लागि उनी इन्द्रचोक गएर होलसेलमा माटोको कप किनेर ल्याउँछिन्। त्यसमा ग्राहकहरुलाई चिया बेच्ने गर्छिन्। उनको चिया पसलमा एक कप चियाको ७० रुपैँया पर्छ। त्यहाँ अन्य साकाहारी खाने कुरा पनि खान पाइन्छ। जस्तै पनिर, भेज मम, लाफिङ आदि। उनलाई यसअघि फेन्सी पसलसमेत चलाएको अनुभवले चिया पसल खोलेकी हुन्।

एकातिर टेलिभिजनको स्क्रिनमा लामो समयदेखि देखिएको ब्यक्तित्व, अर्कोतर्फ सगरमाथाजस्तो सर्वोच्च हिमाल आरोहण गरी बनाएको सहासिक महिलाको परिचय। तर उनको कामप्रतिको झुकाव लोभ लाग्दो छ।

सञ्चार क्षेत्रमा लामो समय काम गरिसकेकी डोमाले सञ्चार क्षेत्रमा कम पारिश्रमिक दिने गरिएकाले अर्को काम गर्नु परेको नेपालन्युजलाई बताइन्। उनी काम गरेर खान केही लाज नहुने बताउँछिन्। उनी चिया पसलमा आफैँ चिया लगायतका खानेकुरा पकाउनेदेखि वितरण गर्नेसम्म गर्छिन्।

उनले केही समयअघि सम्म योहो टेलिभिजनमा हिमालसम्बन्धी कार्यक्रम चलाउँथिन्। डोमाले इण्डिजिनियस टेलिभिजनमा पनि हिमाली आवाजसम्बन्धी कार्यक्रम सञ्चालन गरिसकेकी छन्। सेफर्ड कलेजबाट टेलिभिजन पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण गरेकी डोमाले सगरमाथामा सञ्चार प्रविधिको प्रयोग विषयमा थेसिस लेखेकी थिइन्।

उनी सन् २०१० देखि नै सञ्चार क्षेत्रसँग आबद्ध हुँदै आएकी छन्। उनी सोलुअनलाइन तथा गोरखा एफएममा पनि आबद्ध थिइन्। शेर्पा सञ्चार समूहको नेतृत्व गरिसकेकी डोमा नेपाल अल्पाइन फाउण्डेशनकी संस्थापक अध्यक्ष पनि हुन्, जसले हिमाल तथा आरोहीहरुबारे अनुसन्धान गर्ने लक्ष्य राखेको छ।

डोमाले सन् २०१७ मा आइल्याण्ड पिक हिमालको आरोहण गरेकी थिइन्। उनी सन् २०१८ मा पहिलो नेपाली महिला शेर्पा पत्रकारका रुपमा सगरमाथाको शिखरमा पुगेकी थिइन्। त्यतिबेला उनले आफैँले खिचेर पिलर अफ दी माउण्टेन नामक वृत्तचित्र पनि बनाएकी थिइन्। वृत्तचित्रमा आरोहीहरुले आरोहणका क्रममा पाएको दुःख ब्यथा देखाइएको छ।

डोमा अहिले पुस्तक प्रकाशन गर्ने काममा पनि ब्यस्त छिन्। उनको मेलदेखि मोबाइलसम्म सगरमाथा सञ्चार शीर्षकको पुस्तक छिट्टै सार्वजनिक हुँदैछ।


राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes