तनहुँको भिमाद नगरपालिका–९, पाथर्दीमा व्यावसायिक रुपमा पालिएको बोयर जातका बाख्रालाई दाना खुवाउँदै कृषक । यस नगरपालिकाका ६० घरधुरीले बोयर जातका बाख्रापालन गर्दै आएका छन् । छिटो बढ्ने र धेरै तौल हुने विशेषता भएको बोयर जातको एउटै बोका रु दुई लाख ५० हजार मूल्यमा बिक्री हुने गर्छ । बोयरको पाठापाठी एकदमै छिटो बढ्ने यसको मुख्य विशेषता हो । ९० दिनमै ३६ किलोग्रामसम्म तौल हुन्छ ।
दैनिक २०० देखि ३०० ग्रामका दरले तौल बढ्छ । बयस्क बोयर बाख्रा तथा बोकाको तौल १५० किलोग्राम हुन्छ । बोयर खसी, बोका र मासुका लागि विश्वमै प्रख्यात छ । नेपालमा कृषकले स्थानीय खरी, बारबरी र जमुनापारी जातका बाख्रासँग बोयरलाई क्रस गराउन थालेकाले यसको बोकाको माग उच्च छ ।