बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी दिनेश भट्टलाई प्रहरीले आज बुधबार सार्वजनिक गरेको छ । भागरथीको हत्यापछि थालिएको अनुसन्धानमा ३ वटा प्रमाण पाएपछि दिनेशलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीले भागरथीकै गाउँका १६ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेको छ ।
‘हामीले आरोपित व्यक्तिको लोकेसन, आइ विट्नेस र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘आरोपितको बारम्बारको बयान बाझिएको र उसले गरेको गतिविधिले पुष्टि गरेको हो ।’
निजका गतिविधि, पोजिसन, साथीहरूको भनाइ आदिले उसको संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ । ‘अनुसन्धानका क्रममा प्रमाण भेटेर पक्राउ गरेका हौं । उमेरका सम्बन्धमा पनि अनुसन्धान गर्दैंछौं,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘थप व्यक्ति छ कि छैन भन्ने अनुसन्धान गर्दैछौं ।’