भिमदत्त नगरपालिका २ पशुपति टोल बस्ने ७६ वर्षीय प्रेम थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै बुहारी ३५ वर्षीया सीता थापा र १८ वर्षीय किशोर रहेका प्रहरीले जनायो ।
उनीहरुले घरायसी बिबादका कारण गत माघ २८ गते साँझ प्रेमलाई कुटपिट गरी कसैलाई जानकारी नगराई उपचारको लागि महाकाली अस्पताल ल्याई उपचार पश्चात घर लगेकोमा पुनः स्वास्थ्यमा समस्या आएपछि महाकाली अस्पताल ल्याएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको जनाएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।