जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा–५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका–५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार दुवै छुट्टाछुट्टै कोठामा सुतेका थिए । आज बिहानदेखि दुवै घरमा भेटिएका छैनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखा परेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए।
राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको हुन सक्ने झाका नाति सुजितकुमार झाले दाबी गरेका छन्। सुजितले घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको बताए। दुवै सुतेको ठाउँमा रगत भेटिएकाले घटना शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । प्रहरी उपरीक्षक केसीले भने, “दुवैको खोजी भइरहेको छ ।” बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीव्ररुपमा भइरहेको र घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति रहेको स्थानीयको भनाइ रहेको छ । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।