स्मृति भैरवनाथ रिमाल

'नारायण गोपालका प्रिय गीतकार'


नेपालन्युज
आईतवार , २६ पुष , २०७७
स्व. गायिका अरुणा लामा र स्व. गायक नारायण गोपालको साथमा गीतकार भैरवनाथ रिमाल

जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ 

सौन्दर्य बनि त्यो सधैं मेरो आँखामा लुकेछ

सुख र दुख संगाली दिने जीवनमा त्यै थियो

दिन रात अब म देखि टाढा भएर गैदियो

बिरानो बनि प्रत्येक पल मेरो यो मुटु धड्किन्छ

बितेका तिनै पुराना कुरा सम्झाई तड्पिन्छ

 

बाँचि नै रह्यो केबल चाहि मुटुमा चोट पारी 

त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी

चर्केको माया जोडिदिने फेरि बस्तु नै के छ र

मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र

जून फूल मैले चाहेको थिएँ.......

उल्लेखित गीत हिजोआज पनि रेडियोमा घन्किने छाडेको छैन । युवापुस्ता देखि पाका उमेरकाको मन यी गीतहरुले जित्ने गरेको छ । यस्ता  कालजयी गीतको श्रष्टा भने अब हाम्रो माझ रहेनन।यस गीतका  संगीतकार नारायण गोपालको निधन २०४७ साल मसिंर १९ गते भएको थियो भने त्यसको  ३० वर्षपछि यो गीतका गीतकार भैरवनाथ रिमाल कदमको निधन भएको छ। 

स्वर सम्राट नारायण गोपालले आफ्नो जीवनमा थोरै मात्र गीत गाए। तर जति गीत गाए ति अझै पनि लोकप्रिय छन। उनि ज्यादै मुडी खालका कलाकार थिए। उनलाई गीत गाउनका लागि धेरै रचनाकारहरुले गीत दिन्थे। तर उनको छनौटमा पर्न त्यति सजिलो थिएन। फेरि उनि ब्यक्तिगत रुपमा पनि त्यति सहज थिएनन। तर उनले गीतकार रिमाललाई भने अत्यन्त मन पराएको महसुस गर्न सकिन्छ। उनले रिमाललाई मन पराएको मात्र होईन उनिहरु घनिष्ठनै  थिए। उनले गीतकार रिमालको गीत स्वयमले गाउनुका साथै आफैंले संगीत दिएर अन्य कलाकारलाई पनि गाउन प्रेरित गरे। आफैंले संगीत दिएर उनले थोरै कलाकारलाई मात्र यसरी गाउने मौका दिएका छन। वरिष्ठ गायिका स्वर्गीय अरुणा लामा पनि त्यस्ता भाग्यमानीको पङ्तिमा परेकी थिईन।

उदास मेरो जीवन कथा कसैलाई भनिन 

यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन 

स्वर्गीय गायक फत्तेमान पनि स्वर्गीय नारायण गोपालका मन पर्ने गायक थिए। उनलाई पनि नारायण गोपालको संगीतमा गाउने अवसर मिलेको थियो जसमा गीतकार कदमको गीत पनि थियो। 

जिन्दगीको पानाभरि सुख भेटिंदैन

सधैंभरि बिवसताको कथा मेटिदैंन 

अत्यन्त भद्रतथा मिलनसार स्वभावका गीतकार रिमालको स्वर्गीय फत्तेमानसंग पनि राम्रो सम्बन्ध थियो। चाबहिल निवासी रिमाल बरोबर पशुपतिनाथ जाँदा जयबागेश्वरी निवासी फत्तेमानसंग भेट हुने गर्दथ्यो। फत्तेमानले रिमालका १३ वटा गीत रेकर्ड गराएको बरिष्ठ संगीत समीक्षक प्रकाश सायमीले जानकारी दिए।

वरिष्ठ गायक दीप श्रेष्ठले पनि गीतकार रिमालको केही गीत गाएका थिए। गायक श्रेष्ठले आफ्नी धर्मपत्नीसंग रिमालकै गीत गाएका थिए भने प्रकाश श्रेष्ठलाई पनि आफ्नै संगीतमा गाउन लगाएका थिए। दिप श्रेष्ठको स्वरतथा वरिष्ठ संगीतकार शुभबहादुर सुनामको संगीत रहेको तल उल्लेखित गीत आज पनि लोकप्रिय छ।

हुं यात्री एउटा रुमल्ली हिंडने अंधेरी रातमा 

हुं यात्री एउटा कहानी लेख्ने जंगली पातमा 

विक्रम संवत १९९३ साल माघ २ गते काठमाण्डौको ठमेल गल्कोपाखामा जन्मेका गीतकार रिमालले लेखेको गीत २००९ सालमै रेडियो नेपालमा उस्ताद गोविन्दलालको सङ्गीतमा किशोरीदेवीले गाएकी थिईन।उनले प्रारम्भमा भजन,राष्ट्रिय गीत हुदैं आधुनिक गीत लेखेका थिए।

२०१० सालमा महाराजगन्जमा उनि साईकल दुर्घटनामा परी घाईते भएपछि उनको श्रवण शक्ति गुमेको थियो। त्यतिखेर साईकलको ब्रेक उनको कानभित्र पसेको थियो। घाईते अवस्थाबाट तङ्ग्रिएपछि उनि क्षेत्रमा उनि सकृय भैरहे। सरकारी जागिरे भएर सामान्य अवस्थामा जीवन गुजारिरहँदा पनि उनले कयौं गायक कलाकारहरुलाई आर्थिक सहयोग गर्ने गरेको सम्बन्धित कलाकारहरु अझै सम्झने गर्दछन। गीतकार रिमालले गीत लेख्ने समयमा रेकर्डिङका लागि खाली रेडियो नेपाल मात्र थियो जहाँ एउटा गीत गाउँदा २० रुपैंया पारिश्रमिक पाईन्थ्यो। त्यस्तो समयमा पनि उनले गायकहरुलाई खाममा हालेर केही रकम दिई सहयोग गर्ने गर्दथे।

स्वर सम्राट नारायण गोपालले आफ्नो जीवनमा थोरै मात्र गीत गाए। तर जति गीत गाए ति अझै पनि लोकप्रिय छन। उनलाई गीत गाउनका लागि धेरै रचनाकारहरुले गीत दिन्थे। तर उनको छनौटमा पर्न त्यति सजिलो थिएन। तर उनले गीतकार रिमाललाई भने अत्यन्त मन पराएको महसुस गर्न सकिन्छ। उनले रिमाललाई मन पराएको मात्र होईन उनिहरु घनिष्ठनै  थिए।

रेडियो नेपालमा धेरै गीत रेकर्ड भएका गीतकारहरुमा उनि पर्दछन। उनले अन्य साहित्यिक कृति पनि रचना गरेका छन। जीवनको उत्तरार्ध्द अवधिमा बिर्सिने रोगबाट उनि पिडित थिए। सुमधुर गीतहरुको माध्यमबाट लाखौं श्रोतातथा दर्शकहरुको मन जित्न सफल श्रष्टा रिमाल जीवनको उत्तरार्ध्द अबधिमा आफ्नै परिवारलाई चिन्न नसक्ने अवस्थामा थिए। गीतकार रिमालको भौतिक शरिर नरहेपनि उनले गरेका श्रृजनाहरु सदा अमर भईरहने छन।

लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो

फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

आफू खोज्छु बिर्सिदिन गहराइबाट

बिपनामा बिर्से पनि सपनीमा आउँछ याद

मुटु मेरो जलाइदिने उनको बानी कस्तो

फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

भनिदेऊ अझैं पनि केही थाहा भए

पोखिदेऊ अझैं पनि मुटुभित्र चाह भए

सम्झिल्याउँदा पत्थर जस्तो दिल रैछ कस्तो

फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

शब्द : भैरबनाथ रिमाल

स्वर, संगीत : स्व अरूण थापा

एल्बम: ऋतुहरूमा तिमी


राजु सिलवाल

राजु सिलवाल


सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal