नेपाली पप संगीतलाई डोर्‍याउने ओमविक्रम


तीसको दशकमा काठमाडौंका डबलीहरुमा धेरै साँस्कृतिक कार्यक्रमहरु हुन्थे। ती कार्यक्रमहरु अधिकांश नेवारी भाषामा हुने गर्थे। त्यतिबेला एक जना भर्खरको नौजवान केटो पनि नेवारी गीत गाएर रंगमन्चमा उत्रने गर्थे।

आफ्नो मातृभाषा नेवारी नभए पनि गीत गाउन पोख्त थिए- ओमविक्रम विष्ट। न्युरोड वरिपरि हुर्केका उनी नेवारी भाषा बोल्ने साथीहरुको सङ्गतले नेवारी गीत गाउन जानेका थिए। विस्तारै उनको लगाव पप संगीततर्फ हुँदै गयो र अलग किसिमको गायनमा उनको पहिचान पनि बन्न थाल्यो।

ओमविक्रम विष्टका बुबा दौलतविक्रम विष्ट तीसको दशकमा रेडियो नेपालका हाकिम थिए। स्थापित साहित्यकारसमेत रहेका उनलाई आफ्नो छोराले पाश्चात्य शैलीमा गीत गाएको मन पर्दैनथ्यो। तर के गर्नु त्यतिबेला नेपालको एकमात्र रेडियोमा अलगधारको गायकका रुपमा ओमविक्रमको लोकप्रियता बढदै गयो।

फरमायसी कार्यक्रममा उनको गीत श्रोताहरुको रोजाइको गीत बन्दै गयो। वरिष्ठ साहित्यकार दौलतविक्रम ओमविक्रमका बुबा भनेर चिन्नेहरु बढदै गए। शारीरिकरुपमा सुन्दर तथा फेसनेवल ब्यक्तित्व उनको विशेषता थियो।

पप गायकका रुपमा परिचय बनाएका उनले गाएका 'म मौनतामा अल्झिरहेको एउटा जीवन, बदनाम नभइ जाउँ तिम्रो मुस्कानमा, सुनचाँदीभन्दा महँगो यो ज्यानलाई साँचेर राखुँ की कसो'जस्ता कयौं गीतलाई मानिसहरुले मन पराए।

विभिन्न सांगीतिक कार्यक्रममा उनले पुरस्कार पाएका थिए। उनको रेकर्डिङ संख्या पनि बढदै गयो। त्यतिबेला रत्न रेकर्डिङ संस्थानद्वारा उनले डिस्क रेकर्डसमेत गर्ने मौका पाएका थिए। ओमविक्रम विष्टले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गायकका रुपमा जागिरसमेत पाए।

उनले भर्खरै नेपाली चलचित्रको निर्माण सुरुवातको अवस्थामा 'के घर के डेरा' नामक चलचित्रमा 'को हो त्यो जसले मलाई मोहनी लगायो' गीतसमेत गाउने अवसर पाए। ओमविक्रम विष्टले युवा जगतमा यति अविस्मरणीय छाप छोडेकी गायक धिरज राईले त उनको वृत्तचित्र नै बनाए। नेपाली कलाकारले कलाकारको वृत्तचित्र यसअघि बनाएको उदाहरण थिएन।

मानिसको जीवनमा उतारचढाव आउनु नियति नै हो। ओमविक्रमले जीवनमा आफूले मन पराएर भित्र्याएकी धर्मपत्नीको वियोग सहनु पर्‍यो। उनी केही वर्षदेखि अमेरिकामा आफ्नी छोरीको परिवारसँग बस्न थाले।

अचानक उनको दुईवटै मृगौलाले काम गर्न छोड्यो र प्रत्यारोपणसमेत गर्ने अवस्था आइलाग्यो। जीवनभरि संगीतको सेवा गरेका श्रष्टालाई कुनै सरकारी सहयोग प्राप्त भएन। यस्तो अवस्थामा नेपाली कलाकारहरुले उनलाई सघाए।

सांगीतिक कार्यक्रम गरेर उठेको रकम उनलाई हस्तान्तरण गरेर नेपाली कलाकारहरुले उदाहरणीय कार्य गरेका थिए। त्यतिबेला रकम हस्तान्तरण समारोहमा उनले आफूले हालसम्म कहिल्यै कसैसँग कुनै सहयोग नलिएको भनि भावुक बनेका थिए।

अहिले ओमविक्रमको अवस्था ठीक छ। उनी सामान्यरुपमै आफ्नो जीवनयापन गरिरहेका छन्। आगामी दिन सांगीतिक जीवनमा सक्रिय हुने उनको लक्ष्य छ। ६६ वर्षको उमेरमा पनि उनको संगीतप्रतिको लगाव ज्यादै लोभलाग्दो देखिन्छ।

उनलाई मन पराउने तथा उनको गायन शैलीलाई पछ्याउने नेपाली सांगीतिक प्रेमीहरुको संख्या धेरै छ। नेपाली सांगीतिक क्षेत्रका उज्ज्वल तारा ओमविक्रम विष्टबाट भविष्यमा थप सिर्जनाको अपेक्षा गरिएको छ। 

यो पनि पढ्नुहोस्

ट्युसन पढाएर गुजारा गर्छन् शास्त्रीय संगीतकारहरु : प्रभुराज ढकाल [भिडियो]

यो पनि पढ्नुहोस्

'धेरै गाह्रो छ संगीतमा लागेर परिवार पाल्न' [भिडियोसहित]


राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes