उमेरले ६० कटेका सक्रिय संगीतकार शम्भुजित बास्कोटा


नेपालन्युज
सोमबार , ०२ चैत्र , २०७७

नेपाली सांगीतिक क्षेत्रका सफल व्यक्तित्व शभ्भुजित बास्कोटा आज ६४ वर्ष पुगेका छन्। नेपाली संगीतमा उनको सक्रियताता झन् बढदो छ। एक सफल संगीतकारका रुपमा परिचित शभ्भुजीतले संख्यात्मकरुपमा सयौं चलचित्रहरुमा संगीत दिएका छन्।

उनीले संगीत भरेका धेरै गीतहरु लोकप्रिय छन्। त्यसबाहेक सरकारले विभिन्न महत्वपूर्ण कार्यकारी पदमा पत्याउनु उनको अर्को सफलता मान्न सकिन्छ।

शम्भुजीतको जन्म काठमाडौंको पानीपोखरीमा भएको हो। सानैदेखि सांगीतिक क्षेत्रमा रुचि राख्ने उनले घर छेउकै भानुभक्त मेमोरियल स्कुल र नक्सालको नेपाल बाल संगठन बालमन्दिरबाट कला क्षेत्रमा प्रवेश गरेका थिए।

उनी बाल मन्दिरमा अभिनय सिक्थे। सानै उमेरमा तत्कालीन राजारानीहरु उपस्थित कार्यक्रममा उनलाई आफ्नो प्रतिभा देखाउने मौका मिल्थ्यो। त्यसपछि उनको प्रवेश रेडियो नेपालमा भयो। उनले रेडियो नेपालमा एकै पटकमा स्वर परीक्षा उत्तीर्णसमेत गरे। त्यहाँ उनले आफ्नै रचना र संगीतको गीत रेकर्ड गराए-

यो कान्छी छोडेर जान्छे मजस्तो सोझालाई

जिन्दगीभर रुनुपर्ला सम्झेर फेरि मलाई

तत्कालीन अवस्थामा रेडियो नेपालमा श्रोताहरुले मन पराउने गीत बजाइने फर्माइसी गीतको कार्यक्रममा कयौं समयसम्म धेरै बज्ने गीतहरुमध्ये माथि उल्लेखित गीत पनि पर्थ्यो।

२०३३ सालमा दीपक खरेल, प्रकाश श्रेष्ठ र अभिनेता भुवन केसी एकैपटक रेडियो नेपालको गायकको स्वर परीक्षामा उत्तीर्ण भएका थिए। तीनै जनालाई गीति क्षेत्रमा लोकप्रिय बनाउन शम्भुजीतको संगीतले महत्वपूर्ण भूमिका खेलेको थियो।

शम्भुजीतको रचना र संगीतमा रेकर्ड भएको 'तिम्रो त्यो हंसिलो मुहारको झझल्को जब आउँदा, तिम्रो तस्बिरले चित्त बुझाउँदा' गीतले दीपक खरेललाई लोकप्रियताको शिखरमा पुर्‍याएको थियो।

'पूर्णिमाको रात पनि औंशीझैँ लाग्न थाल्यो

मेरो भाग्य तिम्रो सिन्दुर कुन पापीले रंगाइहाल्यो'

शम्भुजीतको कम्पोजमा धेरै गीत गाएपछि दीपक खरेल अब्बल गायकका रुपमा स्थापित हुँदै गएका थिए। त्यस्तै प्रकाश श्रेष्ठलाई प्रख्यात बनाउन पनि शम्भुजीतको ठूलो भूमिका छ।

'सफल तिम्रो जिन्दगीलाई यो दुखीको बधाइ छ

परिवर्तन भयौं के कारण तिमी यही नै मेरो सोधाइ छ'

त्यतिबेला अभिनयमा नछिरेका भुवन केसीले पनि शभ्भुजितकै कम्पोजको गीत गाएर चर्चित हुने मौका पाएका थिए।

'परे म दोधारैमा, जेठी छोडुँ घरबार जान्छ कान्छी छोडुँ माया लाग्छ'

३० को दशकको अन्यतिर शम्भुजीतको लोकप्रियता बढदै गयो। कलाकारहरुमा शभ्भुजीतको संगीतमा गीत गाएमा हिट होइन्छ भन्ने विश्वास बनेको थियो। उनको संगीतमा थुप्रै अन्य कलाकारहरु लोकप्रिय भए। दीपेन्द्र थापा, किरण कपाली, नागेन्द्र श्रेष्ठ, मिलन चंखु, अमर तण्डुकार, देविका बन्दना आदि गायक गायिकाहरु चर्चित हुनुमा शम्भुजीतको भूमिका रहेको थियो। उनले स्वर सम्राट स्वर्गीय नारायण गोपालसँग पनि सहकार्य गरेका थिए। कुनै दिन स्वर्गीय नारायण गोपाल र शम्भुजितको दिनदिनै समेत भेट हुन्थ्यो। उनीहरु निक्कै नजिक थिए।

पर्खी बसे आउला भनि

मेरो उठने पालो

कुर्दा कुर्दै जिन्दगी नै

भै गएछ कालो...

शम्भुजितले स्वर्गीय नारायण गोपाललाई अन्य गीत पनि गाउन लगाउने अवसर पाएका थिए।

'तिमीले भनेका, सारा देव छोएर, म किरिया खान, कहाँ सक्छु र'

शम्भुजितले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकका रुपमा अवकास पाएका थिए। उनी प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहँदा विभिन्न मुलुकमा साँस्कृतिक कार्यक्रममा सहभागी भएका थिए। त्यतिबेला हरेक वर्ष आयोजना गर्ने गरिएको गाइजात्रा महोत्सवमा शभ्मुजितले वर्षेनिजसो प्यारोडी गीत प्रस्तुत गर्थे, जुन दर्शकहरुले अत्यन्त मन पराउँथे।

२०४२ सालमा नेपाल टेलिभिजनको प्रसारण प्रारम्भ भएपछि शम्भुजितले विभिन्न कार्यक्रमहरुको निर्माण गरेका थिए। नेपालको पहिलो म्युजिक भिडियोको निर्देशक उनी थिए। त्यतिबेला रेडियो नेपालमा रेकर्ड गरिएका गीतमा दृश्य छाँयाकन गरिन्थ्यो। शम्भुजीतले सञ्चालन गरेको संगीत संगम कार्यक्रममा त्यस्ता गीत प्रसारण हुने गर्थ्यो।

उनले नेपाल टेलिभिजनमा प्रतिभाको डबली तथा सिर्जनाको आधा घण्टा कार्यक्रम निर्माण गरेका थिए। पछि उनी नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धकसमेत भए। उनकै कार्यकालमा घन्टापिच्छे प्रसारण गरिने समाचारका साथै फ्लास न्युजको प्रसारण सुरु भएको थियो।

नेपालमा चलचित्र निर्माणको क्रम बढ्दै गएपछि शम्भिजीतलाई भ्याइ नभ्याइ हुन थाल्यो। उनले करिब तीन सय चलचित्रमा संगीत दिएका छन्। उनको संगीतमा भारतका सुप्रसिद्ध गायक गायिकाहरुले समेत गीत रेकर्ड गराएका छन्।

शम्भुजितलाई विभिन्न समयको सरकारले सरकारी नियुक्तिका लागि पनि पत्याएको पाइन्छ। उनले नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धकबाहेक नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिका रुपमा पनि कार्यकाल पूरा गरिसकेका छन्।

६० वर्ष काटिसक्दा पनि शम्भुजित शारीरिकरुपमा फुर्तिलो देखिन्छन् भने सांगीतिक सिर्जनामा पनि सक्रिय भइरहेका छन्। नेपालको सांगीतिक क्षेत्रको गरिमा अझ अभिवृद्धि गर्न शभ्भुजितको सक्रियाताले उचित भूमिका खेल्ने कुरामा आशावादी हुन सकिन्छ।


राजु सिलवाल

राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal