बुढ्यौलीमा पनि सक्रिय कलाकार मदनकृष्ण


नेपालका वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ पछिल्लो पटक माइती नेपालकी संस्थापिका अनुराधा कोइरालाले आफूले गाएको फूलबुट्टे सारी गीत बजाएर मञ्चमा नृत्य प्रस्तुत गरेको देखेर दङ्ग परे।

यो गीत निकै लोकप्रिय भयो । ५० लाखभन्दा बढी दर्शकहरुले युट्युबमार्फत् हेरिसकेका छन् । झन् अफ्रिकी गायिका बियोन्सीले समेत यही गीत रेकर्ड गराएपछि यो गीतको चर्चा चुलीमा पुगेको पाइएको छ।


पछिल्लो पटक होली पूर्णिमाका दिनमा मिथिला नाट्य परिषद जनकपुरको रजत जयन्तीको उपलक्ष्यमा महामूर्ख सम्मेलनमा उनलाई २०७७ सालको 'महामूर्ख' सम्मान प्रदान गरिएको थियो। हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ ७२ वर्षमा प्रवेश गरेको अवस्थामा पनि सक्रिय छन्। उनी २००७ साल वैशाख ७ गते काठमाडौंको जितपुरफेदीमा जन्मेका हुन्। उनी गायन तथा हाँस्य दुबै क्षेत्रमा अहिले पनि सक्रिय छन्।

२०३० को दशकमा काठमाडौं उपत्यकामा डबलीहरुमा सांस्कृतिक कार्यक्रमहरु खुबै हुन्थे। विशेष गरी नेवारी भाषामा हुने गरेका त्यस्ता कार्यक्रममा मदन कृष्ण बिनाका कार्यक्रम खल्लो हुन्थ्यो। प्राय आयोजकहरुले मदन कृष्णलाई कार्यक्रमको अन्तिममा राख्ने गर्थे। विशेष गरी हाँस्य व्यङ्ग्यमा आधारित नेवारी गीत लिएर मदनकृष्ण यस्ता मञ्चमा दर्शकहरुको मन जित्ने गर्थे। यसैक्रमममा मदनकृष्णले सयौं नेवारी गीत रेकर्ड गरेका छन्। नेवार समुदायमा उनलाई झिगु मदनकृष्ण अर्थात् हाम्रो मदनकृष्ण भनेर आत्मियता दर्शाइने गरिएको छ। मदनकृष्णले रंगमञ्चका साथै रेडियो नेपालमा समेत कयौं गीत रेकर्ड गरेका थिए।

स्वर्गीय ज्ञानबहादुर श्रेष्ठको संगीतको पसलबाट म बेचिसकेको मान्छे बोलको मदनकृष्णको गीत रेडियो नेपालमा फर्मायसी कार्यक्रममा खुबै बज्थ्यो।

खोला वारी खोला पारी र पानी सुक्यो बागमतीमा आगो लाग्यो बनमा, यो मायाको मौनताले पोल्न थाल्यो मनमा बोलका दुई गीत मदनकृष्ण स्वयंले लेखेका थिए। जसको संगीतकार शक्ति बल्लभ हुन्। उनले दुबै गीत एक दुई दिन बिराएर रेकर्ड गरेका थिए।

'खोला वारी खोला पारी'चाहिँ नेपाल टेलिभिजनका रोशन प्रताप राणाजीले भिजुअलाइज गरिदिएका कारण सबैको ध्यानमा पुग्न सफल भएको मदनकृष्ण बताउँछन। तर, भिजुअलाइज गर्न ध्यान नदिएकाले 'पानी सुक्यो बागमतीमा' गीतचाहिँ कसैको ध्यानमा त के कसैको कानमा सम्म पनि नपुगेको उनको अनुभव रहेको छ।

२०३३ सालदेखि नेपाल तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले गाईजात्रा महोत्सवको आयोजना गर्न सुरु गरेको थियो। त्यतिखेर मदनकृष्ण एक्लै प्रहसन लिएर सहभागी हुने गर्थे। नेपाल राष्ट्र बैंकको रजत जयन्तीकोवअबसरमा २०३६ सालमा आयोजित कार्यक्रमका लागि त्यँहाका हाकिम तथा गायक कलाकार स्वर्गीय रुबि जोशीले उनी तथा हाँस्य कलाकार हरिबंश आचार्यलाई संयुक्त प्रहसन प्रस्तुत गर्न सुझाव दिएपछि बेंङ्केटेश्वर नामक प्रहसनबाट सुरु भएको मह जोडीको यात्रा आजसम्म पनि जारी रहेको छ।

यो जोडी रंगमञ्च, टेलिचलचित्र, ठूलो पर्दाका सिनेमाका साथै विज्ञापनमा समेत स्थापितरुपमा जमे। यसैगरी गायनमा पनि महजोडीको सक्रियता रहिरहेको छ। साथै सामाजिक सेवामा निरन्तर संलग्नताका साथै मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनमा पनि महजोडीले आफ्नो भूमिका निभाउँदै आएका छन्।

चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरको पर्दा महजोडीलेनै राखिदिएका हुन्। पन्चायती व्यवस्थामै गोली प्रहारबाट घाईते भएका तत्कालिन साप्ताहिक मन्चका प्रधान सम्पादक पदम ठकुराठीको उपचारका निम्ति उनीहरूले १० हजार रूपैयाँ सहयोग दिएका थिए। जुन रकम त्यतिखेर निक्कै ठूलो मानिन्थ्यो। २०४६ र २०६२/६३ सालको जनआन्दोलनमा घाइते भएकाहरुको उपचारका लागि उनीहरुको अगुवाइमा कोषनै खडा गरिएको थियो।

प्रेम विवाहद्वारा बाँधिएकी पत्नी यशोदा सुवेदीको गत २०७४ साल चैत १९ गते क्यान्सरको रोगबाट दुखद निधन भएपछि बिक्षिप्त बनेका मदनकृष्णले समयक्रम सँगै आफूलाई सम्हाले।

छोरा यमन अभिनय र गायनद्वारा बाबुको कामलाई सघाइरहेका छन्। उनको छोरी सरनापनि राम्रो गीत गाउँछिन। बुढ्यौली अवस्थामापनि उनको कलाप्रतिको लगावतथा बढदो लोकप्रियता साँच्चिक्कै प्रशंशा गर्न योग्य मानिएको छ। वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई ७२ वर्षमा प्रवेशको अवसरमा सुस्वास्थ्य तथा अझ सफलताको कामना।


राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes