स्वर सम्राट नारायणगोपालका प्रिय गीतकार


नेपालन्युज
शुक्रबार , १८ असार , २०७८

मलाई नसोध कहाँ दुख्छ घाउ

म जे छु ठिकै छु बिथोल्न नआऊ

मेरो जिन्दगीमा सधैं यो उदासी

सकेकै छु जिउन कहीले नहाँसी

मेरो चाहना हो तिमी हाँसे पुग्छ

मेरो घाऊ तिमी नहाँसे पो दुख्छ

तेसैले म भन्छु तिमी , मुस्कुराऊ

मलाई नसोध कहाँ दुख्छ घाँउ

कतै बिरानीमा हराए भने म

कतै बेहोसिमा कराए भने म

मेरो प्राप्ती त्यही यती ठाने पुग्छ

मेरो घाऊ तिमी नहाँसे पो दुख्छ

अध्याँरोमै छोड दियो , नजलाऊ

मलाई नसोध कहाँ दुख्छ घाँउ

शब्दः हरिभक्त कटुवाल

स्वर, संगीतः नारायण गोपाल


स्वर सम्राट नारायण गोपाल मुडी गायक थिए। उनलाई गीत गाउन दिने गीतकारहरुको लामै लहर हुन्थ्यो। तर उनलाई जुन पायो त्यही गीतको शब्दले छुदैंनथ्यो। उनलाई गीत मन परिसकेपछि फेरि उनले त्यो गीत रेकर्ड गर्न ढिलो गर्दैनथे। यसैक्रममा असामका कवि हरिभकत कटुवालको गीत नारायणगोपाललाई यति धेरै मन पर्योकि उनले त्यसको संगीत समेत आफैंले दिएका थिए। यसैगरी नारायण गोपालले कटुवालको अन्य गीत समेत गाएका थिए। पछिल्लो गीतमा भने अम्बर गुरुङले संगीत दिएका थिए। 


पोखिएर घामको झुल्का भरि संघारमा

तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है ।

सयपत्री फूलसितै फक्रिएर आँगनमा

बतासको भाका टिपी बोलूँ–बोलूँ लाग्छ है ॥

कति(कति आँखाहरु बाटो छेक्न आँउछन्,

परेलीमा बास माग्न कति आँखा धाँउछन् ।

यति धेरै मानिसका यति धेरै आँखाहरू,

मलाई भने तिम्रै आँखा रोजूँ(रोजूँ लाग्छ है।

उँडू(उँडू लाग्छ किन, प्वाँख कहिले पलायो,

मनको सङ्लो तलाउको पानी कसले चलायो ।

आफैंलाई थाहा छैन कसलाई थाहा होला

यसैले त तिमीलाई सोधूँ–सोधूँ लाग्छ है।


गीतकार कटुवालका गीतहरु अन्य गायक गायिकाले पनि गाएका थिए।

२०३६ साल जेठ १० गते तत्कालिन राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरेका थिए। त्यतिखेर लागु भैरहेको पंचायती व्यवस्थामा सुधार गर्ने वा बहुदलीय व्यवस्था लागु गर्ने भनि नेपाली जनतालाई रोज्न अवसर दिईएको थियो। यसरि जनमत संग्रह घोषणा भैसकेपछि काठमाडौंको नयाँ सडक पिपलबोटमा कविता भवानी घिमिरेको नेतृत्वमा सडक कविता क्रान्ति सुरु गरिएको थियो। सडक कविता क्रान्तिकाक्रममा विभिन्न कविहरु हरेक साँझपख बिभिन्न टोलमा जान्थे र कविता बाचन गर्दथे। यो कविताबाचनको क्रम काठमाडौं उपत्यका हुँदै तनँहु र पोखरासम्म गरिएको थियो। यसरि कविता सुनिसकेपछि सर्वसाधारणहरुले आफ्नो गच्छेले भ्याएसम्मको चन्दा पनि दिने गरेका थिए। त्यो सडक कविता क्रान्तिको कविता बाचनका क्रममा एकजना कविको कविता प्राय अन्तिम तिर राखिने गरिन्थ्यो। फेरि ती कविले श्रोताहरुको फर्माईसमा एकभन्दा बढी कविता नसुनाई धरनै पाउँदैनथे। ती कविनै हरिभक्त कटुवाल थिए।

हरिभक्त कटुवाल भारतको असाममा जन्मेता पनि नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान गरेका थिए। उनले विभिन्न गीतका साथै कयौं कविताहरु रचना गरेका थिए। उनको कविता पुस्तकका रुपमा पनि प्रकाशित भएका छन। उनको कविता संग्रह यो जिन्दगी खै के जिन्दगी रत्नपुस्तक भण्डारले कयौं संस्करण प्रकाशित गरिसकेको छ। उनका नाटक लगायतका कृति पनि प्रकाशित छन। 


अत्यधिक मदिरा सेवनका कारण ४५ वर्षको कलिलो उमेरमै 

२०३७ सालमा उनको निधन भएको थियो। तर आज पनि उनका श्रृजना उत्तिक्कै लोकप्रिय रहेको पाईन्छ। 


यो जीवन

कतै, जुवाडेले कौडी खेलाउँदै हेरेको एउटा छुक जस्तो

कतै, भर्खर वसन्तले छोडेर गएको उदास रूख जस्तो

यस्तो लागिरहेछ आफैलाई यो जीवन

अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेक बुक जस्तो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal