विप्लव नेता ‘प्रकाण्ड’ लाई भेट्न झापा पुगे इश्वर पोखरेल र मणि थापा


नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग सरकारले वार्ताको गृहकार्य थालेको छ। विप्लवसँग वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सक्रियता देखाएका छन्। 

वार्ता गर्नका लागि सरकार र विप्लव समूहले अनौपचारिकरुपमा विभिन्न नेता सक्रिय रहेको खुलेको छ। पछिल्लो पटक विप्लव समूहको केन्द्रीय सचिवालय बैठकले मूलधारको राजनीतिमा फर्किनसक्ने एजेण्डामाथि छलफल भएको थियो। त्यस बैठकले सरकारसँग वार्ता गर्ने निर्णयसमेत गरेको थियो। प्रधानमन्त्रीको पछिल्लो कदमलाई विप्लव समूहले सकारात्मकरुपमा लिएको बुझिएपछि प्रधानमन्त्री ओली आफैँले विप्लवसँग वार्ता गर्ने मनस्थिति बनाएका थिए। प्रधानमन्त्री ओलीले आफ्ना विश्वासिला नेता तथा मन्त्रीलाई समेत विप्लवसँग वार्ताको वातावरण मिलाउन भनेका थिए। 

विप्लवले पनि पार्टी प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को संयोजकत्वमा वार्ता टोली बनाएका थिए। त्यसमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन)लगायत सदस्य थिए। 

समूह र सरकारको वार्ताको अनौपचारिक तयारी गर्दैगर्दा पार्टीका प्रभावशाली नेता पक्राउ परेपछि भने विप्लव वार्ताका लागि हच्केको स्रोत बताउँछ। पुस २९ गते वार्ताको अनौपचारिक तयारीका लागि वार्ता टोलीका सदस्य धर्मेन्द्र बास्तोला ललितपुरको दक्षिणी बाटो हुँदै काठमाडौं आउने तरखरमा थिए। उनीसँग वार्ता टोलीका विभिन्न सदस्यहरु अन्य छुट्टै ठाउँमा वार्ताकै अनौपचारिक तयारीका लागि सत्तारुढ पार्टीका नेताहरुसँग भेट गर्दै थिए। 

सोही दिन पार्टी प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) झापा पुग्न लागेका थिए। त्यहाँ प्रधानमन्त्री ओलीले आफ्ना विश्वासिला उपप्रधानमई ईश्वर पोख्रेल र खानेपानी मन्त्री मणि थापालाई पठाएका थिए। 

झापामा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधनसँगै त्यसदिन विप्लवका नेता प्रकाण्डलाई भेटेर आउन प्रधानमन्त्री ओलीले भनेका थिए। ‘उहाँहरु दिनभरिजसो कार्यक्रममा व्यस्त हुनुहुँदो रहेछ। साँझ भेट्ने कुरा भयो। उता ललितपुरमा आफ्नो प्रभावशाली नेता पक्रेको खबर पाएपछि हामी फर्कियौं,’ विप्लव समूहका एक उच्च नेताले नेपालन्युजलाई बताए। 

खानेपानी मन्त्री थापा र प्रकाण्डबीच राम्रो सम्बन्ध रहेकाले प्रधानमन्त्री ओलीले प्रकाण्डसँग कुरा गर्न थापालाई पाखरेलसँगै पठाएका थिए। ललितपुरमा नेता पक्राउ परेपछि प्रकाण्डसँग भेट हुने कुरै भएन। मन्त्री थापा त्यसदिन साँझ काठमाडौं फर्किए भने उपप्रधानमन्त्री पोखरेल झापासहित अन्य जिल्लाको कार्यक्रममा सहभागी हुनतिर लागे। त्यसपछि सरकार र विप्लव पक्षबीचको वार्ता गर्ने वातावरण मत्थर भएको छ। 

उता विप्लवले आफ्ना नेता कार्यकर्ता पक्रेको भन्दै नेपाल बन्दसम्मको कार्यक्रम घोषणा गरेका छन्। ललितपुर प्रहरीले त्यसदिन पक्राउ गरेका धर्मेन्द्र बास्तोलासहित व्युरो सदस्य विशाल भन्ने टिकाराम रखाल मगर र विवेक कुमाललाई ६ दिनको म्याद थपेर अनुसन्धान गरिरहेकोछ । धर्मेन्द्रलाई ललितपुरस्थित एनसेल मुख्यालयमा भएको बम विष्फोट काण्डको अभियोगमा म्याद थप भएको छ भने अन्य दुईलाई भने पक्राउबाट उम्काएको कसुरमा म्याद थप भएको ललितपुर प्रहरीले जनाएको छ। तर पक्राउ गर्न गएका प्रहरी टोलीका अनुसार पार्टी प्रवक्ता प्रकाण्ड, उपत्यका व्युरो इञ्चार्ज चिरन पुन र अखिल क्रान्तिकारीका महासचिव प्रेमबहादुर शाहीलाई पक्राउबाट उम्काएको आरोप लगाएका छन्। यद्यपि उनीहरु त्यहाँ नभएको स्रोतले बतायो।

प्रधानमन्त्री ओली आफूलाई व्यवास्ता गर्दै विप्लवसँग वार्ता गर्न खोजेपछि गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका वार्ता टोलीका नेताहरुलाई छानीछानी पक्राउन सक्रिय भएको समेत विप्लवका उच्च नेता वृत्तमा कुरा चल्ने गरेको छ। 

गृहमन्त्री थापा पछिल्लो समय विप्लवको गतिविधिलाई नियन्त्रण गर्न कुनै पनि सम्झौता नगर्ने भन्दै आक्रामक शैलीमा प्रस्तुत हुँदै आएका छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes