कान्छी उपमेयरको अनुभव : कामले नै काम सिकाउने रहेछ, माथिल्लो तह हाँक्ने हिम्मत छ


नेपालन्युज
बिहीबार , २१ आश्विन , २०७८

बेली गिरी

एक दशक अघिसम्म हामीलाई महिलाले पनि मेयर-उपमेयर चलाउँछन् भन्दा पत्याइहाल्न कठिन थियो। किनकि महिलाहरुले प्रशासनमा बसेर काम गरेका उदाहरण हामीमाझ कमै थिए। महिला, त्यसमा पनि पिछडिएको थारू समुदायबाट शिवकुमारी थारूले कपिलबस्तुको शिवराज नगरपालिकाको उपमेयर जित्दा सबैतिर समाचारका शीर्षक बने– कान्छी उपमेयर शिवकुमारी थारू। आज उनको उमेरमा ४ वर्षमात्रै थपिएको छ, अनुभव भने कति हो कति।

गएको शनिबार कोटेश्वरमा भेटिएकी उनै कान्छी उपमेयर शिवकुमारी थारूसँग छोटो समय कुरा गर्न समय मिल्यो।

मैले विगत सम्झाउँदै सोधेँ– तपाईं त निमाविको शिक्षक हुनुहुन्थ्यो। त्यो पनि भरखर्र २३ वर्षको। जनताले भोट दिएर एकैचोटी उपमेयर बनाइदिए, कसरी सम्हाल्नुभयो भयो पद?

उपमेयर जित्दा फूलमाला लगाइदिन आएका मान्छेहरुले मप्रति गरेको विश्वास देखेर म पनि सक्छु भन्ने हिम्मत आएको थियो।

उनको यो आत्मविश्वासी जवाफले कामप्रतिको लगाव देखाउँथ्यो। ‘नभए त त्योभन्दा अघि न मैले मेयरको नाम सुनेको थिएँ, न मलाई त्यो पदमा बसेर के काम गरिन्छ भन्ने नै थाहा थियो,’ यति भनेर उनी मन्द मुस्कानसाथ चिउँडोमा हात लगाएर अडिइरहिन्।

काम सुरु गर्दा कसरी जाने, कता जाने भन्नेमा पनि अलमल थियो। अहिले उनलाई बीच बाटोमा आइपुगेको महसुस हुन्छ।

बीच बाटोमा पुगेको उनको भनाईपछि मैले हाँस्दै प्रश्न गरेँ– ‘कहाँ पुग्नलाई बीच बाटो?’ आँखा जुधाएर उनले भनिन्– ‘गाउँ, नगरमात्र हैन, कहिले त हामीसँग प्रदेशकै मुद्दा पनि आइपुग्छन्। तराईको जिल्ला हो। धेरै त अपराधका, घेरेलु हिंसाका मुद्दा हेर्नुपर्छ। अब म गाउँ नगरको मान्छे मात्रै रहिनँ नि।’ उनको शब्द चयन र दृढ भावले उनलाई साँच्चै कामले सिकाएको छ भन्ने देखाउँथ्यो। 

उनले आफ्नो कार्यसम्पादनको एउटा पाटो सुनाइन्– ‘मुद्दामा मध्यस्तकर्ता बन्नु त हामी उपमेयरको काम नै भयो। त्यसमा पनि गाँउ विकासका कामदेखि उत्प्रेरणामूलक काममा पनि पुग्ने भएर समाजका सबै पाटालाई राम्ररी बुझ्ने मौका पाकए छु। यो अभ्यासमा मैले जति सिकेँ, त्यो निकै महत्वपूर्ण रहन गयो।

उनले निधार खुम्च्याउँदै भनिन्– ‘सक्दिनँ भन्ने कुराचाहिँ मनबाट झिकेर फ्याँक्नुपर्छ। मलाई पनि पहिला पहिला एकदमै गाह्रो भयो। विवादहरु छेउमा बसेर सुनिरहन्थेँ। अनि पछि न्याय दिनुपर्छ भन्ने बुझेर हरेक काम आफैँले गर्नथालेँ।’

‘नसक्ने भन्ने कुरा हुँदैन। सक्दिन भन्ने कुरा चाहिँ मनबाट झिकेर फ्याँक्नुपर्छ। मलाई पनि पहिला पहिला एकदमै गारो भयो। विवादहरु छेउमा बसेर सुनिरहन्थेँ। अनि पछि न्याय दिन मनमा न्याय भए पुग्छ भन्ने बुझेर हरेक काम आफैँले गर्नथालेँ।’

उनलाई आफ्नो कुशलता र स्तर बढेको अनुभूति भएको छ। उनले आफैँबाट सिकेका कुरा सुनाइन्– ‘हिजो साँझ बिहानको तरकारी के पकाउने भन्ने निर्णय गर्न पनि सकस हुन्थ्यो। आज त अरुलाई न्याय दिने र समाजको विकास गर्ने विषयमा निर्णय दिने काम आफैँ गर्नुपर्छ। कामले नै सबै सिकाउने रहेछ। बीएड पास गरेरमात्रै कहाँ सिकिन्छ र प्रशासन र न्याय? कहाँ सिकिन्छ पब्लिक रिलेसन म्यानेजमेन्ट? मैले त काम गरेर त्योभन्दा बढी सिकेँ।’ धेरै घामपानी झेलेको राजनीतिज्ञले जस्तै लाग्थ्यो उनको अनुभव।

भर्खर उपमेयर पदमा जितेको बेला फोनमा पनि धकाएर बोल्ने उनी अहिले प्रखर वक्ताजस्तो धाराप्रवाह बोल्छिन्। यसले उनको कामको रफ्तार कति छ भन्ने पनि झल्किन्छ। उनी थप्छिन्– ‘काम गर्नलाई हौसला पनि चाहिन्छ। मलाई हौसला दिनेहरु धेरै हुनुहुन्थ्यो। त्यसले पनि मलाई काम गर्न सजिलो भयो। कसरी ऊर्जाशील भएर जनताका काम गर्न सकिन्छ भन्नेमा लागेँ।’

यसरी बोल्दा उनको थारू लवज आइहाल्थ्यो। ‘काम गर्नुपर्ने हरेकलाई कहिले पनि मैले म ठूलो भएको व्यवहार गरिनँ। बरु कुर्सी छोडेर साथमै बसेँ। आफैँ पुगेर हुन्छ कि काम छोडेर हुन्छ सन्तुष्ट बनाएर पठाएँ,’ उनले भनिन्, ‘मेरो ठाउँमा जानुभयो भने मेरो बारेमा सोध्नुहोला।’

उनले मतिर हेरेर भनिन्– ‘सबैले मेरो कामको प्रशंसा गरेर नै फर्कनु हुन्छ। मसँग काममा जोडिनेहरु मलाई आशिर्वाद दिएर जानुहुन्छ।’

मैले सोधेँ- त्यसोभए मान्छेले तपाईँ कान्छी उपमेयर भन्ने नै भुलेहोला। उनले हाँस्दै भनिन्– मलाई कान्छी उपमेयर हैन, कर्मशील उपमेयर भनेर चिनुन भन्ने लाग्छ। कामले नै काम सिकाउने रहेछ भन्ने जानेँ। एउटा काम गर्‍यो त्यसले अर्को कुरा सिकाउँछ। अर्को काम गर्‍यो, त्यसले अर्कै कुरा सिकाउँछ। काम सिकेरै यहाँसम्म आइपुगे। अब त जिल्ला होइन केन्द्रकै काम दिए पनि सक्छुजस्तो लाग्छ।’ सम्वाद गर्दैगर्दा आफ्नो कुरामा उनले गौरव गरेको देखिन्थ्यो।

शिवकुमारी एमालेको विधान महाधिवेसनमा भाग लिन काठमाडौं आएकी रहिछन्। घरिघरि उनी फोन उठाएर आफू महाधिवेशनमा भएकाले भेट्न नसकिने र अर्कोपटक काठमाडौं आउँदा भेट्ने जवाफ पनि फर्काउँदै थिइन्।

यसरी दिनभरि अफिसको काम, कहिले काठमाडौं, कहिले जिल्ला त कहिले विदेशमा हुने सम्मेलनमा भाग लिन पुग्नुपर्ने हुनाले परिवारमा भूमिका पनि फरक हुने उनको बुझाइ छ। उनी भन्छिन्– ‘घरमा को बिरामी छ पुग्न पनि भ्याइन्न। अहिले म न भान्सामा छिर्न भ्याउँछु, न मलाई तैँले गर्ने काम हो भनेर घरमा काम अह्राउनु हुन्छ। मेरो भूमिका नै फरक भयो। अहिले घर पनि माइतीझैँ लाग्छ। बिहान सबेरै निस्कियो, राति फर्कियो। अब घरको काम गर्छु भन्दा पनि फुर्सद पाउँदिनँ।’ सामाजिक कामबाट सन्तुष्टि मिलेको उनीसँगको संवाद आफैँले बताइरहेको थियो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal