हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव


प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत शनिबार राति लुटेरा समूहको गोली प्रहारबाट मृत्यु भएका सिरहाको लहान नगरपालिका–२२ निवासी ४५ वर्षीय सुन चाँदी व्यवसायी प्रदीप विश्वकर्माको परिवारजनलाई आज भेटेर उनले लुटेरा समूहलाई कानूनी दायरामा ल्याउने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, “घटना असाध्यै हृदयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने छ ।” घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ परिसकेका र कतियप व्यक्ति छिट्टै पक्राउ पर्ने उनको दाबी थियो ।

मृतक परिवारलाई प्रदेश सरकारले छिट्टै क्षतिपूर्ति उपलब्ध गराउने बताउनुहुँदै मन्त्री यादवले हरेक नागरिकको सुरक्षाका लागि सरकार र सुरक्षा निकाय कटिबद्ध रहेको उल्लेख गरे । सो क्रममा मृतक विश्वकर्माको परिवारजनले तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

“परिवारमा दाजु एक्लै कमाउने हुनुहुन्थ्यो”, मृतक प्रदीपका भाइ सञ्जीवले भने, “अपराधीले सम्पत्ति लुटेर दाजुको हत्या गरेपछि उहाँका तीन छोराछोरी टुहुरो भएका छन्, उनीहरूको पालनलालन कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।” त्यसैले सरकारको यसतर्फ ध्यान पुगोस् उनको दुखेसो थियो ।

सिरहाको लहान नगरपालिका–२२ गढियाचोकमा अमृता ज्वेलर्स सञ्चालन गर्दै आएका विश्वकर्माको घरको ढोका फुटाएर लुटेरा समूहले सुन चाँदीका गरगहना तथा नगदसहित करिब २५ लाख मूल्य बराबरको सम्पत्ति लुटपाट गरी गोली हानी हत्या गरेका थिए । लुटपाटका क्रममा लुटेरा समूहले व्यवसायी विश्वकर्माकी श्रीमती अमृतालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 

यसैबीच आजै कानूनमन्त्री यादवले गत सोमबार साँझ लुटपाट भएको लहान नगरपालिका–७ निवासी राजेश शारडाको घरमा पुगेर घटनाबारे जानकारी लिएका छन् । लुटेरा समूहले शारडाको घरको सदस्यलाई बन्धक बनाएर कारसहित सुन चाँदीका गहना लुटेर लगेका थिए । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes