४ दशकदेखि हिमालको तस्बिर खिचेर नेपालको प्रचारमा क्रियाशील जगदिश तिवारी


नेपालको पश्चिमी जिल्ला तनहुँमा जन्मेको एकजना युवा १६, १७ वर्षको उमेरमा कुनै काम विशेषले काठमाडौं आईपुग्दछ। घुम्दै जाँदा पर्यटकीय स्थल ठमेलमा पुगेपछि उनको ध्यान एउटा पुस्तकमा पर्दछ। खल्तीमा २५ पैसा पनि नभएको ४ दशकअघिको त्यो समयमा १३ हजार रुपैंया मुल्य पर्ने पुस्तक किन्ने क्षमता हुने त प्रश्नै थिएन। तर उनले त्यो पुस्तक सरसर्ती सबै हेर्न भ्याउँछन। नेपालका सबै हिमालका तस्बिर प्रकाशित गरिएको सो पुस्तक जापानी नागरिक सिरोसिराहाताले तयार गरेका थिए। त्यो पुस्तक हेरेरै प्रभावित भएका जगदिश तिवारीले आफ्नो जीवननै प्राकृतिक सौन्दर्यकासाथै हिमालको फोटो खिच्ने काममा समर्पित गरे। 

उनले फोटोग्राफीकाक्रममा नेपालका ७७ वटै जिल्लाको भ्रमण गरेका छन। उनले नेपालको हिमाली क्षेत्रको तस्बिर खिच्नकालागि सयौं पटक बिकट हिमाली क्षेत्रहरुको भ्रमण गरेका छन। उनले हिमालको एउटै तस्बिर खिच्न त्यँहा कयौं घण्टा बिताएको तथा कयौं दिन धाएको सुन्दा अचम्म लाग्छ।

विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको फोटो खिच्नकालागि उपयुक्त मानिएकव पुमोरी हिमालको फेदमा पर्ने ५ हजार ५ सय ४५ मिटर उचाईमा रहेको कालापत्थर फोटोग्राफर तिवारीलाई उपयुक्त स्थान लाग्दछ जहाँ उनि करिब ३७ पटक पुगिसकेका छन। पुर्णिमाको रात सगरमाथा कस्तो देखिएला भनि फोटो खिच्नकालागि उनले त्यहाँ रात समेत विताएका थिए। उनले पच्चिस वर्ष अघि सगरमाथाको आधार शिविर नजिक पर्ने कालापत्थरको तस्बिर बडो मेहनतले खिचेका थिए जुन फोटो ७ लाख रुपैंयामा बिक्री भएको थियो।

उनि सगरमाथामा आधारशिविरमा ५ पटक पुगिसकेका छन। ५ हजार ३ सय मिटर उचाँईमा रहेको आधार शिविर फोटोग्राफी गर्नकालागि एङ्गलका दृष्ट्रिकोणले उपयुक्त नभएको फोटोग्राफर तिवारीले नेपाल न्युजलाई बताए। उनि सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल र अन्नपूर्ण आधारशिवरमा करिब १२ पटक पुगिसकेका छन।

कुनैपनि विदेश पर्यटकलाई नेपाल भ्रमणकालागि लोभ्याउन यहाँका मनमोहक तस्बिरहरुको प्रमुख भूमिका हुन्छ। तर यस्तो फोटो खिच्न त्यति सजिलो छैन। यसकालागि कठिन भुभागको यात्रा गर्नुका साथै जोखिम उठाउनु पर्ने हुन्छ। यस्ता फोटोग्राफीमा प्राय बिदेशीहरु संलग्न हुने गरेका छन। नेपाल भ्रमणकालागि आएका बखत उनिहरुले खिचेका हिमाल सम्बन्धि तस्बिर महत्वपूर्ण सम्पतिका रुपमा प्रयोग गर्ने गर्दछन। यस्ता विदेशी फोटोग्राफरहरुको होडमा नेपाली फोटोग्राफर तिवारीको बेग्लै पहिचान रहेको छ। बिदेशीलाई नेपाल आउनेगरी लोभ्याउने तस्बिर खिच्ने काममा फोटोग्राफर तिवारीले आफ्नो जीवनको ३८ वर्ष बिताएका छन। 

फोटोग्राफर तिवारीले आफूसंग क्यामरा नभएको अवस्थामा पनि अरुको क्यामरा मागेर पनि फोटोग्राफीप्रतिको स्नेहलाई निरन्तरता दिएका थिए। करिअरको प्रारम्भिक अवस्थामा नेपाली सेनामा आबध्द भएका उनले सेनामा रहेको अवस्थामा फोटोग्राफीको कामले उनलाई यो पेशाप्रति अझ आकर्षित बनाएको थियो। सेनामा जागिर छोडेपछि उनको गुजारा फोटोग्राफीबाटै सहज रुपमा भयो। उनि निरन्तर रुपमा स्वतत्त्र फोटोग्राफरका रुपमा क्रियाशील छन।


नेपाल भ्रमणमा आउने पर्यटकहरुले नेपालको ट्राभल म्यापको माध्यमबाट आफूले घुम्न जाने बिभिन्न स्थानका बारेमा जानकारी हासिल गर्ने गर्दछन। त्यस्तो ट्राभल म्यापमा छापिएका नेपाल सम्बन्धि अधिकांश फोटो फोटोग्राफर तिवारीले खिचेका हुन। उनले खिचेका नेपाल सम्बन्धि तस्बिरहरु क्यालेण्डर, पोष्टकार्ड र पोष्टरहरुमा प्रकाशित छन। यसैगरी नेपालीतथा विदेशी लेखकहरुले लेखेका बिभिन्न पुस्तकहरुमा उनले खिचेका तस्बिर छापिएका छन।

उनले नेपाल लगायत चीनको तिब्बत, जापान डेनमार्क जर्मनी फिलिपिन्स लगायतका देशमा भ्रमण गरी त्यहाँको जनजीवनको फोटो खिचेका छन। सन २ हजार ५ मा जापानको नागोयामा उनले खिचेको नेपाल सम्बन्धि विशाल फोटो प्रदर्शन गरिएको थियो।

उनको फोटोग्राफी सम्बन्धि पुस्तकपनि प्रकाशित भैसकेको छ। ‘पासिङ बाई नेपाल’ शिर्षकको सो पुस्तक ३ पटक पुन प्रकाशित भैसकेको छ। 

फोटोग्राफर तिवारीलाई भेटन बिभिन्न मुलुकका अनुसन्धानकर्ताहरु बेलाबखत आउने गर्दछन। उनले आफूले हासिल गरेका अनुभव नयाँ पुस्तासँगपनि बाँडने गरेका छन। जीवनमा अर्को उदेश्य केही नभएकोले फोटोग्राफी गरेरै जीवन बिताउने उनको योजना रहेको छ। मुलुकको पर्यटन प्रबर्ध्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएका यस्ता प्रतिभालाई उचित प्रोत्साहन गरी अझ क्रियाशील बनाउन सकिएमा मुलुककैलागि उपलब्धिमूलक हुने कुरामा सहमत हुन सकिन्छ।।


राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes