पुस्ता वित्दा चौरी पालन पनि विस्थापित बन्दै


सोलुखुम्बुको ३,७०० मिटरको ङउरमा चर्दे पामु चौरी र उनको वाछो तोले। यो पामु र गोरुको प्रजननबाट जन्मिएको हो। तोले कम्जोर प्रकृतिको हुने भएकाले बाँच्ने सम्भावना हुँदैन।

चार वटा गोठ राखेर दुई सयभन्दा बढी चौरी पालन गर्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका–१ गेप्चुका आङदावा शेर्पाको परिवारमा अहिले एउटा गोठमा ५० वटा चौरी पनि छैन। उनका बाबु वङछु शेर्पाले चार वटाभन्दा बढी गोठ राखेर पिकेडाँडा आसपासमा चौरी पालेका थिए। तर अहिले नातीको पुस्तामा आइपुग्दा चौरीपालन लगभग अन्तिमजस्तै बनेको छ।

वङछुका नाती पेम्वा शेर्पा चौरी पालनलाई चाहेर पनि निरन्तरता दिन नसकेको बताउँछन्। पेम्वा हालः दुई हजार ३ सय मिटर उचाइमा अवस्थित गेप्चु गाउँमा बस्दै आएका छन्। बाजे वङछुले ४ हजार मिटरको पिके र ङउर क्षेत्रमा चौरीपालन गर्दै आएका थिए। अहिले त्यस क्षेत्रमा घाँसे मैदानको अभावले साता दिनमै गोठ सार्नुपर्ने बाध्यता छ। यी बाध्यताले गर्दा वङछुका नाती पेम्वा चौरी पालन व्यवसायलाई निरन्तरता नदिने सोचमा पुगेका छन्।

चौरीले खाने पोसिलो घाँस मासिँदै गएको, जसका कारण चौरी दुब्लाउने, रोग लाग्ने गरेको उनीहरुको भनाइ छ। हिउँ नपर्दा पानीका मुहान सुकेर चौरीहरुले पानी खान नपाएको र विभिन्न रोग लागेर मर्ने गरेको व्यवसायी नुरु बताउँछन्।
पेम्बा शेर्पा
पेम्बा शेर्पा

'चाहेर पनि चौरी पालन सम्भव छैन। चौरीलाई किलोथलोमा बाँधेर डाले घाँस दिन मिल्दैन, जंगलमै चरणका लागि छाडा छोड्नुपर्छ। तर जंगलमा घाँस नै छैन,' उनी भन्छन्।

पेम्वा सानै छदा त्यो पिके डाँडामा ६ महिनासम्म सेताम्मे हिउँ पर्ने गरेको सम्झिन्छन्। तर अहिले एक महिना पनि हिउँ देख्न नपाएको उनले सुनाए। 

'डाँडाहरु सुख्खा भएका छन्। घाँसे मैदानमा विषालु झार र चिमलका पोथ्राहरु पलाएका छन्। दुई महिनासम्म एउटै खर्कले काम दिन्थ्यो, तर अहिले एक साता पनि टिक्दैन,' उनले भने। उनले पालेका ५० वटा चौरीको विकल्प खोजिरहेको बताए। 

पेम्वाजस्तै समस्या नुरु शेर्पालाई पनि छ। सोलुखुम्बु महाकुलुङ गाउँपालिका–५ नुर्कुमका चौरी पालेका उनले व्यवसायिकरुपमा अघि बढाउन निकै समस्या भएको बताए। 'बाबुबाजेले जीवन जिउने पेसालाई चौरी पाल्ने गर्थे, तर हालः चरण अभावले समस्या हुदाँ व्यवायिकरुपमा अघि बढ्न गाह्रो छ,' उनी भन्छन्, 'हिमाली क्षेत्रमा चरण क्षेत्रको अभाव छ, चौरी तल झर्न सक्दैन। त्यसैले पुस्तासँगै चौरी पनि विस्थापित हुँदैछ। 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सन् २०१९ मा नेपालसहित आठ देश समेटिएको हिन्दकुस हिमालय क्षेत्रबारे सार्वजनिक गरेको तथ्याङ्कअनुसार जलवायु परिर्वतनसँगै पृथ्वीको तापमान १.५ डिग्रीले बढ्दै गइरहेको छ। जसका कारण वर्षेनि हिमनदीको सतह ४० सेन्टिमिटरले घटिरहेको छ। यो तापमान वृद्धिले ३६ प्रतिशत हिउँ पग्लिँदै गएको र २ प्रतिशत तापक्रम वृद्धि भए ५० प्रतिशत हिउँ पग्लिने तथ्यांकमा उल्लेख छ। 

यसको पहिलो प्रभाव हिमाली क्षेत्रका जनजीवनसँगै याक, नक र चौरी पालनमा परेको पाइएको छ। खर्कका लागि हिउँद र बर्खामा दुई महिना चरण गर्न चौरीलाई ढुक्क हुने, तर घाँस पर्याप्त नहुदाँ एक सातामा खर्च (गोठ) सार्नुपर्ने बाध्यता छ। 

तापक्रम वृद्धि भएकाले उच्च क्षेत्रको मैदानहरुमा घाँस मासिएर अन्य काम नलाग्ने झार पलाउने गरेको स्थानीय चौरीपालकहरु बताउँछन्। दुई महिनासम्म खर्क राख्न पुग्ने ४५ सय मिटरको पिके क्षेत्रमा हालः गुराँस प्रजाति चिमल (स्थानीय भाषामा कल्म) उम्रिएर घाँस पूरै नास भएको छ। 

मौसममा आएको परिर्वतनकै कारण चरण क्षेत्रमा विषालु वनस्पति फैलिनु, चितुवा र व्वासोले अत्यधिक क्षति पुर्‍याउनु, अन्य पेसाजस्तो तत्काल धेरै आम्दानी गर्न नसक्नु, प्रतिस्पर्धात्मक र व्यवसायिकरुपमा चौरीपालन गर्न नसक्नु नै मुख्य समस्या देखिएको पशु विकास अधिकृत बासुदेव नाथको बुझाइ छ। 

चौरीले खाने पोसिलो घाँस मासिँदै गएको, जसका कारण चौरी दुब्लाउने, रोग लाग्ने गरेको उनीहरुको भनाइ छ। हिउँ नपर्दा पानीका मुहान सुकेर चौरीहरुले पानी खान नपाएको र विभिन्न रोग लागेर मर्ने गरेको व्यवसायी नुरु बताउँछन्। 

'घाँस नभएपछि किसानलाई तल्लो क्षेत्रमा चौरी झर्नुपर्ने बाध्यता छ, चौरी दुई हजार आसपासमा झरेपछि विभिन्न रोग लाग्ने, खुइलिने र दुध पर्याप्त नदिने र मर्ने गरेका छन्,' उनले भने। 

चौरी अभावले पेम्वाकै गाउँमा विसं. २०१८ सालमा स्थापना गरिएको डेरी बन्द हुने क्रममा पुगेको छ। दुग्ध विकास संस्थानले दुध संकलन गर्दै आए पनि पर्याप्त दुध संकलन नहुँदा नियमित गर्न नसकेको उनीहरुको भनाइ छ।

चौरी व्यवसायमात्र नभएर हिमाली क्षेत्रको जनजीवनसँग प्रत्यक्षरुपमा जोडिएकाले यसको संरक्षणमा राज्यले पहल थाल्नुपर्ने कृषि तथा पशुपन्छी मन्त्रालयअनर्गत रहेको राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले बताए। 

कार्यालयले सामान्य राहतको प्याकेज किसानलाई दिएर म्याग्दी, पाँचथर र संखुवासभामा काम सुरु गरेको तर यो नै पर्याप्त नभएको उनी बताउँछन्। 'जलवायु परिर्वतनको असरले चौरी व्यवसायमात्र नभएर आम हिमाली क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। त्यसैले वैकल्पिक व्यवस्थासहित चौरी पालनलाई व्यवसायिक बनाउन जरुरी छ,' उनी भन्छन्। 

ताप्लेजुङ फक्ताङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पाको पुर्ख्यौली पेसा चौरी पालन थियो। चार पुस्तादेखि चौरी पालन गर्दै आएका उनले चरणको अभाव झेल्न नसकेर होटल व्यवसाय सुरु गरेका छन्। सोलुखुम्बु र डोल्पाका किसानले भने चौरी पालन व्यवसायी संघ नै गठन गरेर चौरी संरक्षणमा जुटेका छन्। डोल्पा चौरी पालन व्यवसायी समूहका अध्यक्ष शक्तप्रसाद रोकायले लोप हुँदै गएको चौरीको संरक्षणमा एकजुट हुन समूह गठन गरेर अघि बढेको बताए।

'जीविकोपार्जनसँग जोडिएको चौरी पालन व्यवसाय पुस्तान्तरणसँगै लोप हुन थालेको छ। यो व्यवसायको शैली अब परिर्वतन गर्नुपर्छ। जीविकोपार्जन भन्दा पनि व्यवसायिक बनाएर अघि बढ्नुपर्छ। यसमा राज्यले पनि राहत र अनुदानका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ,' सोलुखुम्बु महाकुलुङ गाउँपालिका–५ नुर्कुमका चौरी व्यवसायी नुरु शेर्पाको माग छ। 

चौरी हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार भएको र दूध, नौनी, घीउ, चिज, छुर्पी, रौँ, छाला र रगतबाट आम्दानी हुनेगरेको शेर्पाको भनाइ छ। दुधबाट स्थानीय स्तरमा खिर, कुराउने, सेरगम, सोमर बनाएर बिक्री गर्ने गरिन्छ। 

चौरी संरक्षणमा सरकारको कदम

बागमती प्रदेश सरकारले साझेदारीमा चौरी प्रजनन् तथा स्रोत केन्द्र विकास कार्यक्रम कार्यन्वयन कार्यविधि, २०७६ बनाएर काम सुरु गरेको छ। अन्य प्रदेश सरकार र स्थानीय तहले भने याक, नक र चौरीका लागि कुनैखाले कार्यक्रम ल्याएको पाइँदैन। 

पशु सेवा विभागको तथ्याङ्कअनुसार नेपालमा आर्थिक वर्ष २०७५-०७६ मा ३० वटा जिल्लामा चौरी पालन गर्ने गरेको पाइएको छ। यीमध्ये याक, नक र चौरी गाईको संख्या ६९ हजार ५८८छ । विभागको तथ्याङ्कअनुसार १० वर्षको अवधिमा ९७ प्रतिशतले चौरी पालन घट्ने क्रममा रहेको छ। 

तथ्याङ्क हेर्दा २०६२ देखि २०७२ सालमा रसुवामा ९७ दार्चुलामा ३६,रामेछापमा ३१, मनाङमा २७, मुगुमा ७.७३ र सोलुखुम्बुमा ६ प्रतिशतले कमी भएको भेटिएको हो। यसको मुख्य कारण जलवायु परिवर्तन र प्राकृतिक कारण मुख्य रहेको विभागले जनाएको छ। हिउँ चितुवा, व्वाँसो, भालु, बाघलगायतका वन्यजन्तुले याक, चौरी मार्ने अर्को कारण भएको व्यवसायीहरु बताउँछन्। 

राज्यको तर्फबाट उचित राहतको व्यवस्था नहुनु, पशु विमाको पर्याप्त व्यवस्था नल्याउनुले चौरी व्यवसाय दिनानुदिन लोप बन्दै गएको छ। एउटा याक, चौरी मरे एक लाख बढी क्षति हुने, तर विमा ८ हजारमात्र दिने गरेको व्यवसायीहरुको भनाइ छ। 

पशु विकास अधिकृत बासुदेव नाथ भन्छन्, 'याक, नक र चौरी आफैँमा लोपन्मुख चौपाय भएकाले लोप हुने खतरा अझै टरेको छैन। यसका लागि स्थानीय, प्रदेश सरकारले समेत प्रभावकारी कार्यक्रम ल्याउन जरुरी छ।' 

मौसममा आएको परिर्वतनकै कारण चरण क्षेत्रमा विषालु वनस्पति फैलिनु, चितुवा र व्वासोले अत्यधिक क्षति पुर्‍याउनु, अन्य पेसाजस्तो तत्काल धेरै आम्दानी गर्न नसक्नु, प्रतिस्पर्धात्मक र व्यवसायिकरुपमा चौरीपालन गर्न नसक्नु नै मुख्य समस्या देखिएको पशु विकास अधिकृत बासुदेव नाथको बुझाइ छ। 

यो सुधारका लागि खर्क सुधार, पिउने पानीको व्यवस्था, बाटो, नश्ल, तालिम र प्रविधिमा जोड दिनुपर्ने उनले बताए। हिउँ पर्न छाडेपछि पानीको मुहान सुकेको र चर्दाचर्दै अन्यत्र पुग्दा पानी पिउन नपाएर चौरीमा रोग लाग्ने र मर्ने समस्या हुने गरेको छ। 

प्रकृतिक विपद् (भूकम्प), बाढी पहिरो, घाँसे मैदानमा विषालु झार पलाएको चरण क्षेत्रको अभाव, रोग संक्रमण, बाहिरी नश्लको बढी प्रयोग हुनु र सांस्कृतिक चलन र पेसामा परिर्वतन हुदाँ चौरी लोप हुन थालेको उनले बताए।

रहरलेमात्र चौरी पालन गर्न नसकिने भएकाले यसको अनुवसिक स्रोत (स्थानीय जात)को संरक्षण र विस्तारमा स्थानीय सरकारले महत्व दिनुपर्ने व्यवसायीहरुको माग छ। युवाहरुलाई आकर्षण गराउने, घुम्ती गोठ र चरणको व्यवस्थापन, स्थानीयतहले विद्यालय पाठ्यक्रममै चौरीलाई समावेश गराई सचेत गराउनुपर्ने, परम्परागत पेसा नभएर व्यवसायको रुपमा विस्तार गर्न प्रोत्साहन गर्नुपर्ने, नश्ल, गोठ, आहारा र चरणको व्यवस्थापन गर्नुपर्ने, चौरी व्यवसायीलाई प्राविधिक ज्ञान र थप अनुदानको सुविधा नदिए चौरी लोप हुने पक्का छ। राज्यले गाई, गोरु, बाख्राको तुलानामा चौरी पालन व्यवसायलाई कम प्राथमिकता दिएको पाइन्छ।

सरकारले विसं. २००९ सालमै विश्व खाद्य कार्यक्रम र स्वीस सरकारको सहयोगमा चीज कारखाना निर्माण गरिएको पाइए पनि यसलाई विस्तार गर्न सकेको छैन। सरकारले २०१४ सालमा रामेछापको थोदुङ, २०१८ सालमा सोलुखुम्बुको पिके, २०२२ सालमा रामेछापको चोर्दुङ, २०२६ सालमा रसुवाको गोसाइकुण्ड, २०२८ सालमा रामेछापको क्यामा, २०३० सालमा सिन्धुपाल्चोकको क्याङसिङ, २०३१ सालमा सोलुखुम्बुको टाकसिन्धु र २०३४ सालमा रसुवाको गतलाङमा नक चीज कारखाना निर्माण भएका थिए। तर यो मासिने क्रममा पुगेको छ। 

दुध, छुर्पी र घिउ बिक्री गर्नुभन्दा चीज बढी बिक्री हुने भन्दै चीज कारखानामा लगानी बढेको थियो। तर सरकारले दुग्ध विकास संस्थानलाई जिम्मा दिएपछि यी कारखानाहरु नाममा मात्र सीमित भएका छन्। विभागको तथ्याङ्कअनुसार २०४३ सालमा १ लाख १३ हजार ५०० किलोग्राम चीज उत्पादन भए पनि हालः ४० हजार किलोग्राम मात्र उत्पादन हुने गरेको छ।

चौरीपालनमा सरकारको प्रभावहीन काम 

१. उत्तरी भेग चरण विकास आयोजना 

२. चीज कारखाना

३. स्याङबोचे चौरी विकास फार्म (याक अनुवांशिक श्रोत केन्द्र)

४. रामेछापको खिम्ती र डोल्पाको दुनैको सरकारी फार्म

५. हिमाली आयोजनाले स्थापना गरेको याक चीज उद्याग

६. खर्च सुधार तथा गोठ व्यवस्थापन

७. बृहत्तर चौरी विकास समिति

के हो त याक, नक र चौरी ?

याक र औँले गाईको मेलबाट जन्मिए उराङ चौरी बन्छ, यो २ हजार मिटरसम्म रहन सक्छ। याक र नक मेलबाट जन्मिएको डिम्जो चौरी बन्छ, यो दुई हजार ५ सय मिटरसम्म रहन सक्छ। 

याकको वैज्ञानिक नाम Bos Grunniens हो। याक भाले र नक पोथी हो। नक र पहाडी साढे वा याक र पहाडी गाईबीचको प्रजननबाट जन्मिएकालाई चौरी गाई भनिन्छ। चौरी गाई क्रस प्रजाति हो, याक र गाईबाट जन्मिएको उराङ, नक र गोरु बाट जन्मिएको डिम्जु चौरी भनिन्छ। 

उराङ र डिम्जु दुधको लागि मात्र उपयोग गर्ने गरिन्छ। याकको चीज भन्ने प्रचलन छ तर याकको दुध आउँदैन, वास्तविक नक चीज हो। भाले प्रजाति जोप्के हो, त्यो भारी बोक्नमात्र प्रयोग हुन्छ। यो नपुङ्सक हुने भएकाले सन्तान उत्पादन गर्दैन। याक र नक क्रस हुदाँ याक नक नै जन्मिन्छ। याक र नक तीन हजार मिटरमाथि मात्र रहन सक्छ भने २५ सय मिटरदेखि ३ हजार मिटरसम्म चौरी रहन्छ। 

याक र औँले गाईको मेलबाट जन्मिए उराङ चौरी बन्छ, यो २ हजार मिटरसम्म रहन सक्छ। याक र नक मेलबाट जन्मिएको डिम्जो चौरी बन्छ, यो दुई हजार ५ सय मिटरसम्म रहन सक्छ। 

चौरी र गोरु प्रजनन गराए पामु र चौरी र याक प्रजनन् गराए तोल्मु चौरी जन्मिन्छ। यी दुवै चौरी गाईभन्दा कमजोर हुन्छ। हाइ पचाउन नसक्ने, दुध पातलो आउने र शारीरीकरुपमा कम्जोर पनि हुन्छ। चौरी र गोरु प्रजनन हुदाँ जन्मिएको पामुमा गोरु क्रस हुदाँ पाकेम जन्मिन्छ र पाकेमको भाले जाति केहीमा प्रयोग नहुने हुदाँ बाछोमै मार्ने चलन छ। 

पाकेम र गोरु प्रजनन गराए ताकेम जन्मिन्छ। ताकेम र गोरु प्रजनन गराए पूर्ण गाई जन्मिने तर ताकेम भालेमा प्रजनन क्षमता ५० प्रतिशतमात्र सम्भावना हुने हुन्छ। तोल्मु र याक प्रजनन गराए गुर्मु जन्मिन्छ, गुर्मु र याक प्रजनन गराए युर्मु जन्मिन्छ, युर्मु र याक प्रजनन गराए याक र नक नै जन्मिन्छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes