बहुदल पुनःस्थापनाको दिन

चैत २६ गतेको त्यो रात...


२०४६ साल चैत्र २६ गते राती नेपाल टेलिभिजनको समाचार कक्षमा तत्कालिन राजदरवारको प्रेस हेर्ने विभाग संवाद सचिवालयबाट समाचार छांयाकनका लागि टोली पठाईदिन खवर आयो। यसरि समाचार कक्षमा दरवारबाट टेलिफोन आउनु नियमित प्रकृयानै थियो।

ठिक २ दिन अघि चैत्र २४ गते पनि समाचार संकलन टोली राजदरवारमा गएको थियो। त्यतिखेर तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री घोषणा गरिएपछि प्रधानमन्त्री चन्दको सपथ ग्रहण खिच्न दरवार जाँदा अनौठो दृष्य देखिएको थियो। सपथ ग्रहण समारोह सम्पन्न भैसकेपछि तत्कालिन राजा वीरेन्द्रले नारायणहिटी राजदरवारको कौशीबाट दरवारमार्गस्थित महेन्द्र शालिकस्थलमा भएको राजतन्त्र विरोधी आन्दोलन हेरेका थिए। स्वर्गीय राजा वीरेन्द्र आफैंले नेपाल टेलिभिजन टोलीलाई राम्ररी फर्कन सुझाव दिएका थिए।

चैत्र २६ गते राती पत्रकार विजयकुमार पाण्डे र क्यामरापर्सन ध्रुव बस्नेत दरवारमा गएका थिए। उनिहरु फर्केर आउनासाथ हतारमा त्यो भिडियोलाई नेपाल टेलिभिजनबाट प्रसारण गरियो। भिडियोमा तत्कालिन राजा वीरेन्द्रसंग २०४६ सालका जन आन्दोलनका कमाण्डर गणेशमान सिंह, नेपाली काङ्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाका साथै बाममोर्चाकातर्फबाट साहना प्रधान र राधाकृष्ण मैनाली थिए। सबै पुरुष नेता राष्ट्रिय पोशाकमा तथा एक मात्र महिला नेतृ साडीमा दरवारमा गएकि थिईन। राजासंगको वार्तालापपछि ति सबैले पहिलो पटक नेपाल टेलिभिजनलाई प्रतिकृया दिएका थिए।  प्रतिकृयाकोक्रममा नेपालमा ३० वर्ष लामो दलविहिन पन्चायती व्यवस्थाको अन्त्यका साथै बहुदलीय व्यवस्थाको पुनर्स्थापना गर्ने सहमति भएको नेताहरुले बताएका थिए। त्यो फुटेज नेपाल टेलिभिजनबाट प्रसारण हुनासाथ कर्फ्यूमा रहेको काठमाडौं उपत्यकामा एकाएक खुसियालीको माहौल श्रृजना भयो र मानिसहरु सडकमा समेत आएर खुसियाली मनाउन थाले। तर कर्फ्यु नहटाईएकोले तत्कालिन शाही नेपाली सेना सडकमै थियो। यसरि बहुदलीय व्यवस्थाको पुनर्स्थापना भैसकेपछि पनि सुरक्षा निकायहरुमा सूचना नपुगिसकेको कारणले भेंडासिं टोलमा जेपी स्कूलमा पढने एकजना अबोध बालकले ज्यान गुमाउनु परेको थियो। 

नेपाली काङ्ग्रेसको महाअधिवेशन २०४६ सालको माघ ५ गतेदेखि ७ गतेसम्म काठमाडौंको क्षेत्रपाटी चाक्सिवारी स्थित सर्वोच्च नेता गणेशमान सिंहको घरमा सम्पन्न भएपछि नेपालमा पंचायत व्यवस्था विरोधी आन्दोलन शशक्त हुदैं गएको थियो। चाक्सीवारीमा नेपालका बहुदलप्रति प्रतिबध्द सबैदलका नेताले त्यसैबखत पन्चायत छिट्टै ढल्ने उदघोष गरेका थिए। भारतीय नेताहरुले समेत आन्दोलनको समर्थन गरेका थिए। सम्मेलनमा अतिथिका रुपमा आएका भारतका भुतपुर्व प्रधानमन्त्री चन्द्रशेखर त्यखिखेर होटल शेराटनमा बसेका थिए। उनलाई तत्काल भारत फर्कन पन्चायत समर्थकहरुको टोली ज्ञापनपत्र दिन जाँदा हालका नेपाली काङ्ग्रेसका एकजना नेता पनि पुगेको यो पङ्तिकारले देखेको थियो। 

२०४६ साल माघ २ गते नेतृ सहाना प्रधानको अध्यक्षतामा गठन भएको संयुक्त बाम मोर्चाले पनि पन्चायत विरोधी आन्दोलन चर्काउँदै लगेको थियो। नेपाली काग्रेंसले २०४६ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिनदेखि आन्दोलन गर्ने घोषणा गरेको थियो। त्यसैदिन तत्कालिन श्री ५ को सरकारले सम्पूर्ण कर्मचारीलाई अनिवार्य रुपमा टुंडिखेलमा उपस्थित हुन उर्दी थियो। त्यतिखेर राजा वीरेन्द्र भने पोखरामा क्षेत्रीय भ्रमणमा रहेका थिए।

२०४६ साल माघ २ गते नेतृ सहाना प्रधानको अध्यक्षतामा गठन भएको संयुक्त बाम मोर्चाले पनि पन्चायत विरोधी आन्दोलन चर्काउँदै लगेको थियो। नेपाली काग्रेंसले २०४६ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिनदेखि आन्दोलन गर्ने घोषणा गरेको थियो। त्यसैदिन तत्कालिन श्री ५ को सरकारले सम्पूर्ण कर्मचारीलाई अनिवार्य रुपमा टुंडिखेलमा उपस्थित हुन उर्दी थियो। त्यतिखेर राजा वीरेन्द्र भने पोखरामा क्षेत्रीय भ्रमणमा रहेका थिए। उनि त्यसैदिन हेलिकप्टरबाट आई त्रिभुवन विमानस्थलको नव निर्मित भवनको उदघाटन गरी पुन पोखरा फर्केका थिए। पन्चहरुका साथै सरकारी कर्मचारीहरुको जुलुसको कार्यक्रमपनि थियो। उनिहरु नयाँसडक पुग्दा आन्दोलनकारीहरुको आक्रमणमा परे। यस्तो आक्रमण बिभिन गल्लीमा समेत भएपछि जुलुस भागाभाग भएको थियो। नेपाली राष्ट्रिय पोशाक लगाउनै पर्ने अवस्थामा उनिहरुलाई आन्दोलनकारीबाट बच्न धेरै मुस्किल भएको थियो।

यसपछि दिनहुँ जस्तो सडक आन्दोलन भैरह्यो। पहिले प्रहरीद्वारा सुरक्षा व्यवस्था मिलाउन प्रयत्न गरियो आन्दोलनले विस्तृत रुपमा लिदैं गएपछि दिनहुँजसो कर्फ्यू हुन थाल्यो र शाही नेपाली सेनानै सडकमा उत्रनु परेको थियो। त्यतिखेर बत्ती निभाउने आन्दोलन भएको थियो। सबैका घरमा चारैतिर बत्ती निभाएर अन्धकार भएपछि आन्दोलनकारीहरुलाई रातीपनि आन्दोलन गर्न सहज भएको थियो। तत्कालिन सुरक्षा प्रमुखको मोटरमा समेत आन्दोलनकारीहरुले बत्ती निभाउन लगाएको अवस्था थियो। 

यसरि आन्दोलन बढदै गएपछि विभिन्न जिल्लाहरुमा समेत आन्दोलन विस्तार हुदैं गयो र चैत्र २४ गते तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ पदबाट राजिनामा दिन बाध्य भएका थिए। प्रधानमन्त्री परिवर्तन भएपछि पनि आन्दोलन मत्थर नभएपछि राजा घुंडा टेक्न बाध्य भएका थिए। आफ्नो बाबुले लागु गरेको दलविहिन पन्चायती व्यवस्था टिकाउन उनि असमर्थ भएका थिए। 

२०४६ साल चैत्र २७ गते बिहान सेना सडकबाट ब्यारेकतर्फ फर्केपछि सर्वसाधारण सडकमा आएका थिए। दिनभर जसो विजयी जुलुस निस्किएको थियो। अपरान्ह खुल्लामन्चमा आयोजित आमसभामा हजारौं सर्वसाधारणहरु नेताहरुको मन्तव्य सुन्न उपस्थित थिए। हिजोसम्म सरकारी सन्चारमाध्यममा पंचायती व्यवस्था टिकाउने मिसनमा प्रयोग गरिएका हामी दिनभर सडकको जुलुस र टुँडिखेलको भाषणमा समाचार संकलन गर्न गएका थियौं। त्यतिखेर भिडियो क्यामरा बोकेर यस्ता कार्यक्रममा प्राय नेपाल टेलिभिजनमा पत्रकार मात्र उपस्थित हुने गर्दथे। हामीलाई पनि जुलुसमा आउनेहरु रातो अबिर लगाईदिई राताम्मे बनाई दिएका थिए। तर कतिले दुर्ब्यबहार समेत गर्न खोजे भने कोहीले सिआईडी सम्म भन्न भ्याए। बहुदल त हामीलाई पनि आएको थियो साथै त्यो दिनको महत्वपूर्ण समाचार कसरि छुटाउँथ्यौं होला रु कतिले पछि सम्मपनि हामीसंग राम्रो व्यवहार गर्दनथे। 

 दिनभर जसो विजयी जुलुस निस्किएको थियो। अपरान्ह खुल्लामन्चमा आयोजित आमसभामा हजारौं सर्वसाधारणहरु नेताहरुको मन्तव्य सुन्न उपस्थित थिए। हिजोसम्म सरकारी सन्चारमाध्यममा पंचायती व्यवस्था टिकाउने मिसनमा प्रयोग गरिएका हामी दिनभर सडकको जुलुस र टुँडिखेलको भाषणमा समाचार संकलन गर्न गएका थियौं।

बिगतमा आजको दिनलाई धुमधामसाथ मनाउने गरिएपनि अब यो दिनको महत्व विस्तारै घटदै गईरहेको महसुस गरिएको छ। देशमा आमूल परिवर्तन ल्याउनका लागि आजको दिनले के गर्यो यति छिट्टै बिर्सने बेला भएको छैन। मुलुकमा २ सय ४० वर्ष लामो राजतन्त्रको स्थापनका साथै संघीयता स्थापनामा चैत्र २६ गतेले अहं भूमिका खेलेको कुरालाई नकार्न सकिंदैन। २०४६ सालको जन आन्दोलनका कमाण्डर गणेशमान सिंहले राजाको आग्रहलाई समेत नकारेर प्रधानमन्त्री बन्न ईन्कार गरेको प्रसङ्ग नेपाली राजनैतिक ईतिहासमा उदारताको उत्कृष्ट नमुनाको रुपमा लिन सकिन्छ। 

नेपालमा ३० वर्ष लामो दलविहिन पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएको आजको महत्वपूर्ण दिनलाई भुल्न नदिन विशेषगरी सरकारतथा राजनैतिक पार्टीहरुले यथोचित महत्वतथा प्राथमिकता दिनु पर्ने कुरामा सहमत हुन सकिन्छ।


राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes