जनप्रतिनिधिको खिचातानीमा हसन्दह बजार


नेपालन्युज
बिहीबार , ३१ असार , २०७८

वर्खासँगै पानी र हिलाम्मे हुने मोरङको हसन्दह बजारको स्वरुप फेरिने भयो भनेर दंग परे स्थानीय र खुद्रा व्यापारीहरु। तर, स्थानीयको सपना र व्यापारीको आशा यसै विलाए। 

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा ५ र ६ मा पर्ने सानो हाट हसन्दह बजरको निमार्ण कार्य यति बेला सबैको बहसको विषय बनेको छ। फेरिँदै गरेको हसन्दह बजारको स्वरुप यतिबेला बन्द भएको छ। 

हाट बजार गर्न निकै सकस हुने देखेर स्थानीय युवा मनोज धिमालको अध्यक्षतामा गत फागुन २३ गते वडा सदस्य बमबहादुर खत्रीको अध्यक्षतामा ९ सदस्यीय बजार व्यवस्थापन समिति गठन भयो। 

बजार पुनःनिमार्णका लागि भन्दै बजार व्यवस्थापन समितिले बजारमा भएका पुराना टहराहरु भत्काए। त्यसपछि विवाद सुरु भयो। नगरपालिकाले वडा कार्यलयको प्रङगणमा १० टिपर गिटी झारिदिएको छ। उक्त गिटी हटाउन वडा कार्यालय ५ र ६ ले एक हप्ताभित्र हटाउन भनि सूचना जारी गरेको छ। 

यता बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज धिमालले बजार व्यवस्थापनमा जनप्रतिनिधिले अवरोध गरेको बताए। 'जनप्रतिनिधिहरुले बजार सुधारका लागि अहिलेसम्म सिन्को भाँचेका छैनन्। हामीले केही महिनामै नगरपालिकासँग समन्वय गर्दा हाम्रो कामलाई अवरोध गरियो,' उनले भने। उनले नगरपालिकाले निकासा गरिदिएको ७० हजार रुपैयाँ पनि वडाध्यक्षहरुले सिफारिस नगर्दा रोकिएको आरोप लगाए।

यही विवादका कारण बजार व्यावस्थापन समितिका अध्यक्षबाहेक अन्य सबैले राजीनामा दिएका छन्। 'वडाध्यक्षको दाबाबले हामी राजीनामा दिन बाध्य भयौं,' समितिका एक सदस्यले भने। 

यता वडाध्यक्षहरुले भने आफूहरुसँग समन्वय नै नगरी बजारका संरचनाहरु भत्काइएको आरोप लगाए। 'बजार व्यवस्थापन समितिले हामीसँग सल्लाह नै नगरी संरचनाहरु भत्कायो। कसैको आडमा उनीहरुले आफूलाई मनलाग्दी गर्न पाउँछन्?,' वडा ५ का अध्यक्ष जोग बहादुर धिमालले भने। उनले वडाको प्रांगनमा राखिएको गिटीबारे पनि आफूहरुलाई कुनै जानकारी नभएको बताए। 'जो पायो त्यहीले वडा कार्यालयमा गिटी राख्न त भएन नि?,' वडा ६ का अध्यक्ष जय बहादुर तामाङ भन्छन्। 

यता नगरपालिकाकी उपप्रमुख यमुना विष्टले वडाध्यक्षहरुको सल्लाहअनुसार नै गिटी झारेको दाबी गरिन्। 'मैले वडाअध्यक्षहरुसँग सल्लाह गरेरै गिटी झारिदिएकी हुँ। तर त्यहाँ त राजनीति भएछ,' उनले भनिन्। विकास निर्माणको काममा कोही बाधक बने म आफैँ बजारको विकासमा लाग्ने उनले बताइन्।

जनप्रतिनिधिहरुको राजनीतिक खिचातानीले बजारका व्यपारीहरु भने मारमा परेका छन्। 'अब राम्रो टहरामा बसेर आफूले घरमा फलाएका सागसब्जी बेच्न पाइयो भनेर मख्ख परेको थिएँ। तर ठूला मान्छेहरुको राजनीतिले हाम्रो आर्थिक आय गर्ने ठाउँ उनीहरुको सिंगुरी खेल्ने ठाउँ भएको छ,' एक खुद्रा व्यापारीले गुनासो पोखे। 

बजारको विषयमा भइरहेको विवादलाई छिट्टै टुंग्याउनपर्ने स्थानीयहरुले माग गरेका छन्। बजारलाई राम्रो बनाउने कुरामा जसले अग्रसरता लिए पनि सबैले साथ दिनुपर्ने स्थानीयहरुको भनाइ छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal