विश्वकै उत्कृष्ट ब्याडमिन्टन खेलाडी बने 'प्रिन्स'


नेपालन्युज
सोमबार , ०५ माघ , २०७७

दार्चुला खलङ्गाका एक जना स्थानीय ब्यापारीको खेलकुद मोह ज्यादै लोभ लाग्दो थियो। आफ्नो ब्यवसायमा ब्यस्त रहँदा पनि उनी जे खेल खेल्न पनि अघि सर्थे। नारायण दाहाल नामका ती ब्यापारी भलिबल कोर्टमा स्थापित हुनुका साथै ब्याडमिन्टनको राष्ट्रिय स्तरको प्रतियोगितासम्म खेलिसकेका थिए।

उनका ३ जना छोरी र १ जना छोरामध्ये छोराको झुकाव पनि बाबुकै खेलतर्फ हुनगयो। छ-सात वर्षको उमेरमै ब्याडमिन्टन खेलमा प्रवेश गरे पनि उनले छोटो अवधिमै आफ्नो बेग्लै पहिचान बनाउन सफल भए। उनको ब्याडमिन्टन खेलप्रतिको लगाव देखेर उनलाई ब्याडमिन्टन सिकाइने स्कुल खोज्न अभिभावकहरु बाध्य भए।

यसै सिलसिलामा उनलाई काभ्रेपलान्चोकको सांगास्थित प्रहरी स्कुलमा भर्ना गरियो। उनी अहिले १० कक्षामा पढिरहेका छन्। यसपाली एसईई परीक्षाका लागि तयारी गर्दैछन्। तर, उनको ब्याडमिन्टन खेलमा प्रगति भने विश्वस्तरमै पुगिसकेको छ। उनी विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको विश्वभरका ब्याडमिन्टन खेलाडीहरुको स्तरसम्बन्धी पछिल्लो बरियताक्रममा तेस्रो स्थानमा पुग्न सफल भइसकेका छन्। विश्वमा जुनियर मेन्स सिंगल्सतर्फ छलाङ मार्ने नेपाली खेलाडी हुन् प्रिन्स दहाल।

नेपालमा ब्याडमिन्टन खेलको इतिहास लामो छ। नेपालमा राणाकालदेखि नै भित्रिएको यो खेलका विश्वस्तरीय प्रतियोगिताहरुमा समेत नेपालको सहभागिता भइसकेको छ। तर बरियता क्रममा अन्य नेपालीहरुको तुलनामा हालसम्मकै अग्रस्थानमा पुग्न प्रिन्स सफल भएका छन्। 

विश्व ब्याडमिण्टन महासंघले प्रकाशित गरेको विश्वभरका ब्याडमिण्टन खेलाडीहरुको स्तरसम्बन्धी पछिल्लो बरियताक्रममा तेस्रो स्थानमा पुग्न सफल भैसकेका छन। विश्वमा जुनियर मेन्स सिंङ्गल्सतर्फ छलाङ मार्ने नेपाली खेलाडी हुन प्रिन्स दहाल।

विश्व ब्याडमिन्टन महासंघले विश्वका सिनियर र १९ वर्षमुनिका खेलाडीहरुको बरियता क्रम हरेक हप्ता निर्धारण गर्ने गर्छ। गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेटसमा दुबई इन्टरनेशनल सिरिज जितेपछि उनको बरियता क्रममा उल्लेखनीय सुधार हुँदै गएको हो। केही समयअघि सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनलमा उनी विश्व वरियताको तेस्रो स्थानका भारतीय खेलाडी मिराव लुवाङसँग फाइनलमा हारेका थिए। दुई साताअघि ३२औं स्थानमा रहेका प्रिन्स गत हप्ता १४‌औं स्थानमा उक्लिएका थिए। त्यसपछि ११ स्थान माथि उक्लेर तेस्रो स्थानमा पुग्न सफल भएका हुन्।

प्रिन्सका पछिल्ला सफलता 

कोरोनाको प्रकोपका कारण कयौं महिना अन्य खेलाडीजस्तै सुस्ताउन बाध्य प्रिन्सलाई अहिले भने प्रतियोगिता खेल्न भ्याइ नभ्याइ छ। गत मसिंरमा उनले सिन्धुपाल्चोकमा तेस्रो चौतारा साँगाचोक गढी मेयर कपमा १ लाख ११ हजार नगदसहित ट्रफी जितेका थिए। नेपालका राष्ट्रिय खेलाडीको सहभागिता रहेको सो प्रतियोगितामा नेपालको पहिलो बरियताका सेनाका रन्तजित तामाङलाई पराजित गर्न सक्नु उनको थप सफलता थियो। उनले हालै सिरहाको गोलबजारमा आयोजित १०औं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि रत्नजितलाई सेमी फाइनलमै हराएका थिए।

सुदूर पश्चिम प्रदेशका उनी उक्त प्रतियोगिताको मेन्स सिंगल्सको उपाधि विजेता बनि ५० हजार रुपैयाँ पुरस्कार जितेका थिए। यो प्रतियोगिता जितेर काठमाडौं फर्किने क्रममा जनकपुरको जानकी मन्दिरमा दर्शन गर्न गएको अवस्थामा फोनमा सम्पर्क भएका उनले अब माघ २१ गतेदेखि चितवनमा आयोजना हुने प्रतियोगिता खेल्न जाने आफ्नो लक्ष्य सुनाए। कोरोनाका कारण कयौं अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित गरिएकोमा उनी दुःख ब्यक्त गर्दै थिए।

नेपालमा लकडाउन सुरु हुनुअघि उनले योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिजमा लगातार दुई खेल जितेका थिए। त्यतिबेला उनी नेदरल्याण्ड्समा डच जुनियर इन्टरनेशनल खेलेर जर्मनी पुगेका थिए। त्यतिबेला उनी विश्व बरियता क्रममा शीर्ष दशमा पुग्न सफल भएका थिए।

ब्याडमिन्टन एसियाले प्रिन्सलाई एसियाकै उत्कृष्ट जुनियर खेलाडी उल्लेख गरी सामाग्री प्रकाशित गरेको छ। नेपालको छबिलाई जाज्वल्यमान बनाउन सानै उमेरमा पनि प्रिन्सले गरेको प्रयास प्रशंसनीय मानिएको छ।

आगामी दिनमा उनबाट अझ धेरै अपेक्षा गर्न सकिने अवस्था सिर्जना गर्नका लागि नेपाली खेलकुद क्षेत्रका जिम्मेवार निकाय नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ब्याडमिन्टन संघजस्ता संस्थाको सक्रियताको आवश्यकता देखिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal