इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ। सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। वेस्टन म्याकेनीको नाममा एक गोल रह्यो। खेलको ३८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २-० को अग्रता बनायो। रोनाल्डोले दुबै गोल हेड मार्फत गरेका थिए।
यस गोलसँगै रोनाल्डो सिरी 'ए' को यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन्।
खेलको ६६औं मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए। जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ। युभेन्ट्सले २२ खेलमा ४५ अंक जोडेको छ।