दशरथ रंगशालामा ९३ जनाको एकै चिहान भएकाे त्याे दिन...


नेपालन्युज
आईतवार , ०१ चैत्र , २०७७
फोटो सौजन्यः सामाजिक सञ्जाल

२०४० को दशकमा नेपालमा फुटबल खेलप्रति मानिसहरुको लगाब बढिसकेको थियो। नेपालको एकमात्र प्रमुख रंगशाला मानिएको दशरथ रंगशालामा भएका प्रत्येक फुटबल म्याचमा दर्शकहरुको भिड लाग्ने गर्दथ्यो। त्यतिखेर बरोबर छिमेकी मुलुकका बिभिन्न क्लब नेपालमा खेल्न आउने गर्दथे। यसैगरी लिग फुटबलमा आफूले समर्थन गरेका क्लबलाई जिताउन टोल टोलनै आउने चलन थियो।

२०४४ साल फागुन २९ गते शनिवार दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज कप फुटवल प्रतियोगिताको फाईनल खेल थियो। खेल तत्कालिन जनकपुर चुरोट कारखाना तथा बंगलादेशको मुक्ति जोधा क्लबबीच हुदैं थियो। त्यतिखेर नेपालमा संचार माध्यमहरुको संख्या निक्कै कम थियो। खेलको रिपोर्टिङका लागि रंगशाला जाने पत्रकारहरुको संख्या पनि कमै हुन्थ्यो। 

शनिवारको दिन प्राय अन्य ईभेण्ट कम हुने हुनाले त्यसदिन यो पङ्तिकार क्यामरापर्सन सिध्दार्थ शाक्य र ध्वनि नियन्त्रक रोशनजंग थापाको साथ खेलको निर्धारित समय अगाडिनै रंगशाला पुगेको थियो। त्यतिखेर नेपाल टेलिभिजनले युम्याटिक नामक फर्माटको क्यामरा संचालन गर्ने गर्दथ्यो जुन क्यामरा दशौं किलो भारी हुन्थ्यो। यसैगरी बिसौं किलो बजन रहेको डेकपनि साथै फिल्डमा लैजानु पर्दथ्यो। क्यामरापर्सनले फोकस मिलाई खिच्न तयार भएपछि डेकभित्र रहेको ठूलो आकारको क्यासेटमा रेकर्ड गर्ने गरिन्थ्यो।

यो पनि पढ्नुहोस्

धनाढ्यले खेल्ने गल्फको पहुँच सर्वसाधारणसम्म पुग्दै

उक्तदिनको खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरुभै सुचारु रुपले संचालन भैरहेको थियो। अचानक खेल सुरु भएको १९ औं मिनेटमा रंगशालाको उत्तरी प्याराफिटबाट आकाशमा कालो भुमरी देखिएपछि हावा हुरी आयो र रुखहरु समेत ढल्न थाले । त्यसपछि रंगशालामा हल्का वर्षा हुन थाल्यो। त्यतिखेर मानिसहरु हुरी र पानीबाट बच्न पूर्वी प्याराफिटतर्फ रहेको ढोकातर्फ लागेका थिए। तर त्यहाँ रहेका अन्य ढोकामा ताल्चा मारिएकोले बिपत्ति निम्तिन पुग्यो। रंगशालामा त्यस समयमा एउटा ढोकामात्र खुल्ला भएकोले बाहिर निस्कन खोज्नेहरु बीचनै तछाँडमछाँड बढ्यो। यसैक्रममा हुलले किचिएर ९३ जनाको दुखद निधन हुन गएको थियो।

त्यस समयमा हामी पश्चिम पट्टि रहेको भिआईपी प्याराफिटमा बसेका थियौं। त्यतापट्टिपनि छतले पानी रोकेपनि हावाहुरीका कारण मानिसहरु भर्याङ ओर्लेर तल जान खोजेका थिए। तर मैदानतर्फ निस्कने ढोकाबन्द गरिएकोले हामी सिंढीमै अडकिएका थियौं । त्यता धेरै भने मानिस नभएकोले कुनै घटना हुन पाएन। 

यो पनि पढ्नुहोस्

एक वर्षपछि दशरथ रंगशालामा खेल शुरु

हामी फुटवल म्याचको समाचार छाँयाकन गर्न गएकाहरु त्यँहा भएको नरसंहारको समाचार खिच्न बाध्य भयौं। मानिसहरुको भागदौड, मरेकाहरुको बिभत्स शब, घाईते भएकाहरुलाई अन्य दर्शकहरुले बोकेरै दौडाएर वीर अस्पताल लगेको जस्ता कारुणीय दृष्य आदि हामीले क्यामरामा कैद गरेका थियौं।

फुटबल म्याचको पुरस्कार वितरणका लागि तत्कालिन राज सभा स्थायी समितिका सभापति अनिरुद्र प्रसाद सिंह आएका थिए। आक्रोशित दर्शकहरुले उनको गाडीमा पनि तोडफोड गर्यो। त्यतिखेर रंगशाला हातामा पार्किङ गरिएका प्राय सबै गाडी तोडफोड गरिएको थियो। ति सबै दृष्य छाँयाकनगरी हामी वीर अस्पतालपनि गयौं। त्यहाँ लहरै शव राखिएको, शबहरु निलो भएका, कतिपय शबको टाउको माटोनै माटोले हिलाम्मे भएको देखेर हामी ज्यादै दुखित भएका थियौं।

वास्तवमा रंगशाला घटना सम्बन्धि समाचार त्यतिखेर विश्वकै प्रमुख घटना बनेको थियो। तर हाम्रो त्यतिखेरको प्राविधिक क्षमताले गर्दा तत्काल नेपाल टेलिभिजनमा प्रसारण गर्न सकिएन। त्यसबखत राती मात्र समाचार र कार्यक्रमहरु प्रसारण हुने गर्दथ्यो। अहिले जस्तो फ्ल्यास अथवा ब्रेकिङन्युज हाल्न सकिने प्रविधि पनि थिएन। राती सम्म पर्खेर रंगशाला घटनाको समाचार प्रसारण गरेर मात्र म घर फर्केको थिएँ। 

यो पनि पढ्नुहोस्

पहिलो एशियाली खेलकुदमा दौडने नेपालीको मूर्ति स्थापना गरिने

दशरथ रंगशालामा भएको घटना त्यो वर्ष विश्वकै प्रमुख घटनाहरुमा उल्लेख गरिएको थियो। अहिले पनि विश्वका रंगशालाहरुमा भएका प्रमुख घटनाहरुमा नेपालको घटना पनि पर्दछ। अझ उल्लेख्य कुरा त त्यतिखेरका सम्बन्धित पदाधिकारीहरुले रंगशाला घटनालाई आफ्नो जिम्मेवारीसंग जोडेर नैतिकताको रुपमा पदबाट राजिनामा दिएका थिए। त्यसबखत तत्कालिन शिक्षा मन्त्री केशरबहादुर विष्ट र तत्कालिन अखिल नेपाल फुटबल संघका अध्यक्ष कमल थापाले राजिनामा दिएका थिए। तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव शरदचन्द्र शाह सहितको परिषदको बोर्डका पदाधिकारीहरुलाई भने तत्कालिन सरकारले पदमुक्त गरेको थियो।

यो पनि पढ्नुहोस्

स्पोर्ट्स अवार्डको तयारी पूरा, भोलि हुँदैछ १० विधामा अवार्ड वितरण

त्यसपछि हामी मृतकहरुको परिवारले रंगशालामा गरेको वैदिक विधि सम्बन्धि पनि समाचार बनाएका थियौं। तत्कालिन अखिल नेपाल फुटबल संघले त्रिभुवन च्यालेन्ज कपको रोकिएको त्यो फाईनल खेल पछि गर्ने घोषणा गरेको थियो तर कहिल्यै आयोजना भएन। अब त त्यो प्रतियोगितानै आयोजना गर्न छोडिसकिएको छ।


राजु सिलवाल

राजु सिलवाल


सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal