कोरोनाकालमा खेलकुद, यसरी भइरहेका छन प्रतियोगिता


कोरोनाको संङ्क्रमणले विकराल रुप लिईरहेको बेलामा पनि नेपालमा खेलकुद सम्बन्धि गतिविधि जारी रहेको छ। अहिले दशरथ रंगशालामा हरेक दिन बेलुकी साढे ५ बजेदेखि सुपरलिग फुटबल प्रतियोगिताका खेलहरु संचालन भैरहेका छन। दर्शकहरुको उपस्थिति विना संचालन भैरहेको सो प्रतियोगिताका बेला सहभागी २ वटा टिमका खेलाडीहरुका साथै सिमित अफिसियलहरुको मात्र उपस्थिति रहने गरेको छ। यसैगरी सिमित पत्रकारहरुलाई मात्र त्यँहा समाचार संकलनकालागि प्रवेश पत्र उपलब्ध गराईएको छ। एउटा संचारमाध्यमका लागि एकजना खेल पत्रकार तथा एकजना फोटो पत्रकारले रंगशाला भित्र जाने अवसर पाईरहेका छन। नेपालमा व्यवसायिक फुटबलको विकासका लागि यो सुपरलिग फुटबल प्रतियोगिताको आयोजना कोशे ढुङ्गा मानिएको छ। विभिन्न व्यापारिक प्रतिष्टानहरुकातर्फबाट प्रत्यक्ष रुपमा खेलाडीहरुका लागि लगानी गरिएको छ। नेपाली फुटबल खेलाडीहरुलाई अक्सनको माध्यमबाट बिभिन्न टिमले आफनो टोलीसंग आबध्द गराउने अवसर पाएका छन। बेरोजगारी प्रमुख समस्या रहेको हाम्रो मुलुकमा खेलाडीहरुलाई व्यवसायिक रुपमा खेलाउने अभ्यासको प्रारम्भ हुनु नेपाली फुटबलको लागि सुखद पक्ष हो। बिगतमा नेपाली फुटबल क्लबहरुले पनि नेपाली खेलाडीलाई मासिक रुपमा तलब दिने अभ्यास सुरु गरेका थिए। तर प्रतियोगिताको निरन्तरता, सिमित रुपमा मात्र व्यापारिक घरानाको त्यसमा संलग्नता टडकारो समस्या बनेको थियो। अहिले बिगतको तुलनामा धेरै ब्यापारिक प्रतिष्ठानको फुटबलमा अभिरुचि हुनु नेपाली फुटबलको विकासको लागि सकारात्मक कुरा भएको मान्न सकिन्छ।

जापानको टोकियोमा आगामी जुलाईमा हुने ओलम्पिकमा भाग लिने नेपाली खेलाडीहरु पनि अहिले निषेधाज्ञामा पनि प्रशिक्षण लिईरहेका छन। करांते प्रशिक्षक दिपक श्रेष्ठले हात्तीबनस्थित आफ्नो निवासबाट सातदोबाटोसम्म आएर ओलम्पिकको लागि कराँते प्रशिक्षण दिईरहेका छन। ओलम्पिकमा सहभागी हुने अनु अधिकारी र नविन रसाईलीपनि आफ्नो घरबाटै प्रशिक्षण लिन आउँछन। उनिहरुलाई नेपाल ओलम्पिक कमिटीको पहलमा युवातथा खेलकुद मन्त्रालयले सबारी पास उपलब्ध गराईएको छ। उनिहरुलाई हाल १५ दिने पास उपलब्ध गराईएकोले तालिम निरन्तर हुन सकेको प्रशिक्षक दिपक श्रेष्ठले जानकारी दिए। कराँते बाहेक नेपालले आगामी ओलम्पिकमा भाग लिने लक्ष्य गरिएको ताईक्वाण्डो र सुटिङ्ग खेलको प्रशिक्षण पनि सातदोबाटोमै भैरहेको छ। जुडो खेलको प्रशिक्षण भने दशरथ स्पोर्टस कम्लेक्सस्थित जुडो हलमानै भैरहेको छ।


 ओलम्पिकमा भाग लिने जुडो खेलाडीले किर्गिस्तानमा भएको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने अवसर पाएका थिए। यसैगरी शसस्त्र प्रहरी क्लबसंग आबध्द म्याराथुन धावक गोपीचन्द्र पार्कीले पनि आफैं हिसावले प्रशिक्षण लिईरहेका छन। आर्चरी र भारोत्तोलन खेलको प्रशिक्षण भने पोखरामा जारी रहेको छ।

टोकियो ओलम्पिकमा नेपालको स्विमिङ खेलमा पनि सहभागिता रहने छ। गत सन २०१६ मा रियोदिजेनिरियोमा सबैभन्दा कम उमेरकि सहभागीका रुपमा भाग लिएकि गौरिका सिंहले यसपाली टोकियोमा पनि भाग लिदैंछिन। उनि अहिले लण्डनमा व्यक्तिगत हिसाबले प्रशिक्षण गरिरहेकि छिन। स्विमिङमा एलिस श्रेष्ठको पनि सहभागिता रहने भएको छ।

नेपालले सन १९६४ मा पहिलो पटक टोकियो ओलम्पिकदेखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो। सन १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिक बाहेक नेपालले हालसम्म कुनै ओलम्पिकमा सहभागिता छुटाएको छैन। सन १९७२ मा जर्मनीको म्युनिखमा ईजराईली खेलाडीहरुलाई गोली हानेर हत्या गरिदाँ नेपाली धावक जितबहादुर केसी साथी बनेका थिए। नेपाली धावकले विगतमा ओलम्पिकमा जुत्ता नलगाएर दौडमा सहभागी भएको तस्बिर विश्वकै खेलकुदका चर्चित तस्बिरहरुमा पर्न सफल भएको थियो। नेपालका म्याराथुन धावक बैकुण्ठ मानन्धरले त चार चार वर्षमा आयोजना हुने ओलम्पिकमा ४ पटक दौडन भ्याएर बेग्लै पहिचान बनाएका थिए। 

ओलम्पिकमा यसरि सन १९६४ देखि नेपालको सहभागिता भएता पनि बिगतमा म्याराथुन दौड र स्विमिङमा अनिवार्य रुपमा सहभागी मुलुकले भाग लिनै पर्ने आधारमा खेल्ने अवसर पाएको थियो। यसैगरी वाईल्ड कार्डको आधारबाट पनि अन्य कतिपय खेलका खेलाडीहरुले ओलम्पिक जस्तो महत्वपूर्ण प्रतियोगितामा खेल्ने मौका पाएका थिए। नेपाली ताईक्वाण्डो खेलाडी संगिना बैध्य सन २००४ मा ग्रिसको राजधानी एथेन्समा भएको ओलम्पिकमा तथा अर्का ताईक्वाण्डो खेलाडी दिपक विष्ट सन २००८ मा चीनको राजधानी बेईजिङमा आयोजित ओलम्पिकमा छनौट प्रतियोगिता जितेरै खेल्ने अवसर पाएका थिए। 

नेपालबाट ओलम्पिकमा यति धेरै वर्ष सहभागिता भएपनि नेपालले हालसम्म एउटा पनि पदक पाउन सकेको छैन। सन १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको ओलम्पिकमा नेपाली ताईक्वाण्डो खेलाडी बिधान लामाले काँस्य पदक पाएका थिए। तर त्यतिखेर सो खेल प्रदर्शन खेलका रुपमा मात्र राखिएकोले आधाकारिक पदक तालिकामा बिधानको पदकलाई उल्लेख गरिएको थिएन।


राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes