सन्दर्भ : ओलम्पिक

आखाँ फुट्दा पनि एशियाली च्याम्पियनसिपमा पदक जितेका नेपाली बक्सर


नेपालन्युज
मंगलवार , ०५ श्रावण , २०७८

सन् १९८० मा तत्कालीन रुसको राजधानी मस्कोमा आयोजित ओलम्पिकमानेपाली बक्सर उमेश मास्केले लाइटवाल्टर तौल समूहमा हंगेरीका खेलाडीसँग खेलेका थिए। त्यतिखेर नेपालबाट बक्सिङमा ५ जनासहित ठूलो खेल टोली मस्को गएको थियो।

तीन-तीन मिनेटको ३ राउण्ड खेल हुने बक्सिङमा बीचमा एक-एक मिनेटचाहिँ बिश्राम दिइने नियम रहेको छ। पहिलो २ राउण्ड आफू टिके पनि अन्तिम राउण्डमा १ मिनेटअघि बिपक्षी खेलाडीको आक्रमण बढेकाले रेफ्रीले खेल बीचैमा रोकी बिपक्षीलाई विजयी घोषणा गरेको पूर्व बक्सर मास्केले बताए।

त्यतिखेर बिपक्षीले आफूलाई गरेको आक्रमण ह्यामरले हानेजस्तो आफ्नो प्रहार भने कपासले हिर्काएजस्तो अनुभव भएको उनले स्मरण गरे। उनले सन् १९८० मा मस्को ओलम्पिकमा नेपाली खेलाडीले रिङमा पिसाब फेरेको भनि फैलिएको चर्चा यथार्थ नभएको पनि बताए।

उनले दोस्रो पटक पनि ओलम्पिकमा खेल्ने मौका पाएका थिए। सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा भएको उनको भिडन्त नर्वेका बक्सरसँग भएको थियो। युरोपेली च्याम्पियन भइसकेका बक्सरसँग उनले तिनै राउण्ड खेलेका थिए। अघिल्लो ओलम्पिकको तुलनामा उनले राम्रो खेल प्रदर्शन गरेका थिए। नेपाली खेलाडीका लागि त्यतिखेर ३ राउण्ड टिक्न सक्नु भनेकै ठूलो उपलब्धि मान्न सकिन्थ्यो।

आँखामा कडा प्रहार भएर केही देख्न नसक्ने भएपछि बक्सर मास्के होटलको कोठामा फर्केर रोएका थिए। अब आफूलाई कसैले विवाहसमेत गर्दैनन् होला भनि उनलाई चिन्ता लागेको थियो।

खेल्दा आँखै फुट्यो

मस्को ओलम्पिकमा खेलेपछि बक्सर उमेश मास्केले सन १९८० मै भारतको मुम्बईमा आयोजित १०औँ एशियन च्याम्पियनसिपमा खेल्ने मौका पाएका थिए। सेमी फाइनलमा उनको भिडन्त दक्षिण कोरियाका बक्सरसँग भएको थियो। उनले ९ मिनेटसम्म टिकेर खेलेका थिए। तर कोरिया बक्सरले उनको दाँया आँखामा यस्तो कडा प्रहार गरे कि उनको आँखाबाट रगत नै बग्न गयो। 

उनको दृष्ट्रि नै कमजोर हुन गएको थियो। उनलाई आँखाको उपचार गर्न ६ महिना लागेको थियो। यसरी आँखामा कडा प्रहार भएर केही देख्न नसक्ने भएपछि बक्सर मास्के होटलको कोठामा फर्केर रोएका थिए। अब आफूलाई कसैले विवाहसमेत गर्दैनन् होला भनि उनलाई चिन्ता लागेको थियो।

मुम्बईमै भेटिएका एक जना जापानी प्रशिक्षकले उनलाई जापानमै लगेर उपचार गराउने प्रस्तावसमेत गरेका थिए। पछि उनको उपचार नेपालमै भयो। यसरी उक्त प्रतियोगिताबाट आँखामा गहिरो चोट लिएर फर्केपछि घरमा बुबा आमाले पनि चिन्ता गरी अब बक्सिङलाई अघि नबढाउन आग्रह समेत गरेका थिए। तर चोट निको हुँदै गएपछि बक्सिङको मोह उनले कसरि त्याग्न सक्थे र?

कठिन प्रशिक्षण

एसियन च्याम्पियनसिप खेल्नुअघि बक्सर उमेश मास्केले थाइल्याण्डको राजधानी बैंककमा साढे ४ महिना प्रशिक्षण लिने मौका पाएका थिए। प्रशिक्षण निक्कै कडा थियो। बैंककजस्तो गर्मी हुने ठाँउमा लुगामाथि लुगा थोपरेर मानिस बोकेर कयौं माइल हिँडनु पर्थ्यो। त्यसको खास लक्ष्य उमेशको तौल घटाउनका लागि थियो।

७२ केजी तौल भएका उनलाई कठिन तालिम पछि ५२ केजीमा झारेर ब्याण्टम वेट तौल समूहमा खेलाउन तयार बनाइएको थियो। त्यतिखेर नेपाली खेलाडीहरुको बन्द प्रशिक्षण स्थल बैंककमा तत्कालीन युवराज दिपेन्द्रका साथै अधिराजकुमार ज्ञानेन्द्र र धिरेन्द्र गई बक्सिङमा कम तौल समूहमा नेपालको सम्भावना हुनसक्ने भनि सुझाव दिएको उमेश संस्मरण गर्छन्।

बक्सिङको पहिलो एशियाली पदक

बक्सिङमा एशियालीस्तरको पहिलो पदक पाउने खेलाडी उमेश मास्के थिए। उनले मुम्बईमा एशियन च्याम्पियनसिपमा काँस्य पदक पाएका थिए। नेपालले एशियाली स्तरको पदक पाएको त्यो दोस्रो पटक थियो।

एशियन ट्र्याकएण्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले पहिलो काँस्य पदक नेपालमा भित्र्याएका थिए। काँस्य पदक जितेर स्वदेश फर्कदा तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले त्रिमुवन विमानस्थलमै आफूलाई अँगालो हालेर १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरेको उनि सम्झन्छन्।

त्यसपछि उमेशले नेपालका लागि बक्सिङको तर्फबाट पहिलो एशियन च्याम्पियनसिपको मेडल जित्न सफलता पाएका थिए। पछि पहिलो दक्षिण एशियाली खेलकुदमा काँस्य पदक पाएपछि बक्सर उमेश खेलबाट पलायन हुन प्रयास गर्दै थिए। तर, शाहले उनलाई नेपाल बक्सिङ संघको सदस्यमा मनोनित गरी अर्को सरप्राइज पुरस्कार दिएको उमेश स्मरण गर्छन्। 

जुनियर खेलाडीदेखि बक्सिङ संघको नेतृत्व

१२ वर्षको उमेरमा जुनियर खेलाडीका रुपमा बक्सिङमा प्रवेश गरेका उमेश नेपालको राष्ट्रिय खेलाडी हुँदै अन्तर्राष्ट्रिय तहसम्म पुगे। २०२८ सालमा नेपालको राष्ट्रिय च्याम्पियन भएका उनी नेपालमा कहिल्यै पराजित भएनन्। सक्रिय खेल जीवनपछि उनी नेपाल बक्सिङ संघमा सदस्य हुँदै ४ वर्ष कोषाध्यक्ष तथा ६ वर्ष अध्यक्ष भएका थिए।

उनी नेपाल ओलम्पिक कमिटीको सदस्य पनि भएका थिए। त्यसैगरी नेपालबाट ओलम्पिकमा भाग लिएका खेलाडीहरुको संस्था नेपाल ओलम्पियन क्लबका पनि उनी अध्यक्ष रहेका छन्।


राजु सिलवाल

राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal