प्रथम नेपाली ओलम्पियनको लण्डन ओलम्पिकको रोचक यात्रा


नेपालन्युज
आईतवार , १० श्रावण , २०७८

सन् २०११ मा एकदिन बीबीसी नेपाली सेवामा नेपालका पहिलो ओलम्पियन भुपेन्द्र सिलवालले ओलम्पिकमा दौडेको ५० वर्ष पुगेको सम्बन्धि समाचार प्रसार भएपछि तत्कालीन बीबीसी नेपाली सेवाका सम्पादक सुमन खरेलको मनमा ओलम्पिकमा खाली खुट्टा दौडेका भुपेन्द्र सिलवाललाई सन् २०१२ को लण्डन ओलम्पिकमा आमन्त्रण गर्ने विचार फुर्यो। 

उनले यो योजना त्यतिबेला एनआरएन युकेका अध्यक्ष कूल आचार्यलाई सुनाए। आचार्यसमेत सहमत भएपछि व्यक्तिगत तवरबाटै आतेजाते हवाई टिकटको ब्यवस्था गरियो भने लण्डनमा खान बस्नका लागि त्यहाँ रहेका नेपालीहरुको घरमा मिलाइयो। 

उनले आफ्नो जीवनको अन्तिम अन्तरवार्ता लण्डनस्थित बीबीसीको बुस हाउसमा दिएका थिए। उनी नेपाल फर्किँदा लण्डन आफू खाल्डोमा भएको तर तपाईँहरुले सगरमाथाको चुचुरोमा पुर्‍याइदिएको भनि खुसी भएको वरिष्ठ पत्रकार सुमन खरेल स्मरण गर्छन्।

नेपालमा गर्नुपर्ने आवश्यक प्रकृया मिलाउन त्यतिबेला नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्षसमेत रहेका निरन्जन राजवंशीलाई जिम्मा दिइएको थियो। 

निरन्जन पहिले लण्डन ओलम्पिकमा जाने प्रस्ताव लिएर भुपेन्द्र सिलवालको ललितपुरको बिशँखु नारायण महादेव डाँडास्थित घरमा गएका थिए। 

५० वर्षअघि सन् १९६४ मा जापान ओलम्पिकमा दौडेका उनीसँग पासपोर्ट थिएन। पासपोर्ट बनाइसकेपछि भिसाको प्रक्रिया सुरु गरियो। त्यतिखेर बेलायतको भिसा भारतको नयाँ दिल्लीबाट दिइन्थ्यो। बेलायतको भिसा पाइन्छ कि पाइन्न भनि अन्यौल भइरहेको अवस्थामा नेपालस्थित बेलायती दूतावासले यदि दिल्लीबाट भिसा नआए आफूहरुले बनाइदिने आश्वासन दिएर बयोवृद्ध भुपेन्द्रलाई ढुक्क बनाइदिएको थियो। 

त्यतिबेला बेलायतको भिसा दिने अफिस नक्सालमा थियो। निरन्जनले भिसा लाग्यो कि लागेन भनि पासपोर्ट खोलेर हेर्दा एक्कासी पासपोर्ट ४ तल्लाबाट तल खसेको तर भिसा लागेकोले खुसी भएको उनले बताए। 

उनी नेपाली खेलकुद पत्रकारहरु साथ बेलायत गएका थिए। लण्डन विमान स्थलमा स्वागतदेखि लिएर उनलाई विभिन्न ठाँउमा लैजान बेलायतमा बस्ने नेपालीहरु सक्रिय भएका थिए। लण्डन ओलम्पिकको उद्‍घाटन समारोहका दिन भुपेन्द्रका लागि एउटा प्रवेश पास प्राप्त भएको थियो। तर उनी एक्लै जानसक्ने अवस्था थिएन। उनलाई सञ्चारकर्मी सुमन खरेल र एनआरएन युकेका अध्यक्ष कूल आचार्यले रेलमा चढाएर ओलम्पिक रंगशालातर्फ लगेका थिए। तर भीड अत्यधिक भएकाले समस्या परेको थियो। 

त्यसैगरी साथमा गएकाहरुसँग टिकट नभएपछि भित्र जान पाउने अवस्था रहेन। त्यत्तिकैमा त्यहाँ भेटिएको हेल्पडेस्कामा नेपालबाट पहिलो ओलम्पियन ओलम्पिक हेर्न आएको भनि जानकारी गराउँदा उनीहरु खुसी भएर सहयोग गर्न राजी भए। अघि ठमठम हिँडेर आएको भुपेन्द्रलाई हिँडन नसकेको जस्तो गर्न कुरा सिकाउँदा उनलाई ह्विलचियरमा राखेर खेल स्थल लगिएको थियो। उनलाई लिएर गएकाहरु भने कुरेर बसिरहेका थिए। मध्यरातमा भुपेन्द्र उद्‍घाटन समारोह हेरेर दंग पर्दै फर्किए। उनलाई २८ वर्षको उमेरमा ओलम्पिकमा दौडेको याद ७८ वर्षमा पुनः फर्काइदियो लण्डन ओलम्पिकले, त्यतिबेला उनी यति खुसी देखिन्थे कि उनले आफूलाई तीर्थ ल्याइदिएको भन्दै धन्यवाद दिँदै रोएका थिए। 

आफू विगतमा खाली खुट्टा दौडेकाले उनको त्यतिबेला ध्यान सबैको जुत्तामा गएको भनी उनले हँसाएका थिए। 

बयोवृद्ध सिलवालकै करिब १ महिनाको बेलायत भ्रमण अति व्यस्त र अविष्मरणीय हुन गयो। दिनहुँजस्तो हुने गरेका सम्मान कार्यक्रमले उनलाई निक्कै उत्साहित बनाएको थियो। उनले बेलायतमा आयोजना भएको यति कप फुटबल प्रतियोगिताको पुरस्कारसमेत वितरण गरेका थिए। 

विभिन्न डिनर कार्यक्रमको आयोजना गरी संकलन गरेर उनलाई नेपाल फर्कने बेलामा करिब ५ लाख रुपैयाँ नगद पनि प्रदान गरिएको थियो भने विभिन्न व्यक्तिले उनलाई व्यक्तिगत तवरबाट उपहारहरुसमेत दिएका थिए। 

उनले आफ्नो जीवनको अन्तिम अन्तरवार्ता लण्डनस्थित बीबीसीको बुस हाउसमा दिएका थिए। उनी नेपाल फर्किँदा लण्डन आफू खाल्डोमा भएको तर तपाईँहरुले सगरमाथाको चुचुरोमा पुर्‍याइदिएको भनि खुसी भएको वरिष्ठ पत्रकार सुमन खरेल स्मरण गर्छन्। 

यसरी प्रफुल्लित भएर लण्डन ओलम्पिकबाट फर्केको करिब १ महिनामामै उनको दुःखद निधन भएको थियो। पेटको ट्यूमरको ब्यथाबाट पहिलो नेपाली ओलम्पियन भुपेन्द्र सिलवालको गत २०६९ असोज ४ गते दुःखद निधन भएको थियो। यसरी लण्डन ओलम्पिकमा सहभागी भएर तीर्थ यात्रामा गएको सुखद अनुभूति गर्दै उनको प्राण पखेरू उडेको थियो।  

नेपालबाट हरेक ओलम्पिकमा ठूलो खेल टोली सहभागी हुने गर्छ। विशेषगरी राजनीतिक पहुँचका आधारमा मानिसहरुलाई समावेश गर्ने गरिएको पाइन्छ। सरकारी खर्चमा अनावश्यक मानिसहरु समेतले नेपालको प्रतिनिधित्व गर्नु पक्कै राम्रो होइन।

तर विगतमा खेल क्षेत्रमा जीवन विताएका हस्तीहरुलाई लैजाने गरिएको पाइन्न। खेलकुदमै समर्पित हस्तीहरुलाई खेलको कुम्भ मेला मानिएको ओलम्पिकजस्ता अवसरमा जाने मौका प्रदान गरिएमा त्यस्ता व्यक्तिलाई राज्यबाट कदर भएर सबैभन्दा ठूलो पुरस्कारबाट पुरस्कृत हुन गएको अनुभूति हुन जानेछ। 


राजु सिलवाल

राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal