पानी दिवस

‘नेपालमा पानी नजोगिए भारत पनि सुक्छ’


हजारौं प्राणी प्रेमबिना बाँच्न सक्छन् तर, पानीबिना कोही पनि बाँच्दैन –डब्लु एच, अउडेन

पानीको एक थोपामै समुद्रका सारा रहस्य लुकेका हुन्छन् –खलिल जिब्रान

पानी र जीवनबारे केही लेखकरकविले प्रयोग गरेका यी प्रेमील ‘सिम्बोल’ हुन्। तर, हरेक सजिवका लागि पानी ‘सिम्बोल’ मात्रै होइन, प्राण हो। र, सँगै पानी कतिपय देशका लागि एउटा ‘रणनीतिक’ प्राकृतिक स्रोत पनि हो।


युनेस्कोले २००३ मा सार्वजनिक गरेको एउटा रिपोर्टमा आगामी २० वर्षभित्र सबैका लागि ३० प्रतिशत पानीको उपलब्धतामा कमी आउने प्रक्षेपण गरिएको छ।

बर्सेनी पानी संकटको चरम मार खेप्दै गएको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सारा भारतीयलाई ‘पानी संकटसँग जुध्न र पानी जोगाउन’ सार्वजनिक अपिल नै गरेका छन्।

रेडियो कार्यक्रम ‘मनकी बात’ मार्फत् मोदीले भने– ‘पानीका प्रत्येक थोपालाई जोगाएर राखौं।’

सम्बोधनमा उनले मुख्य तीन कुरा जनतालाई अपिल गरे ?

– सारा जनता पानी संरक्षणका लागि जागौं। बौद्धिक व्यक्तित्वहरूले आफूले हरेक कोणबाट जनतालाई पानी जोगाउने उपायबारे सचेत बनाऔँ।

– पानी संरक्षणका परम्परागत विधि र पद्धतिका बारेमा एक आपसमा ज्ञान बाँडौं।

– कोही व्यक्ति वा गैरसरकारी संस्थाले पानी संरक्षणका लागि काम गरिरहेका छन् भने सरकारसँग साझेदारी गरौँ। उनीहरूका बारेमा पनि प्रचारप्रसार र साझेदारी गरौं।

नेपाल–भारत ‘पानी’ साइनो

‘पानी र जवानी र पहाडमा अडिने चीज होइन’ पहिलोपटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई सम्बोधन गर्दै भनेका थिए।

पक्कै हो, नेपालको सारा पानी बगेर भारतीय भूमिमै जान्छ।

भारतको सबैभन्दा ठूलो ‘जलाधार’ गङ्गा नदी बेसिनमा भएको ७० प्रतिशत नेपाली नदीनालाबाटै बगेर पुगेको हो।

नेपालको सबैभन्दा ‘लामो’ मानिएको कर्णाली नदी, अन्ततः यही गंगामा गएर मिसिन्छ र, बंगाल खाडी हुँदै समुद्रमा।

र पनि, हरेक वर्ष भारतका जलभन्डारमा ८ प्रतिशतका दरले पानी रित्तिदैँ जान थालेको छ। 

नेपालको पानीमाथि भारतीय स्वार्थ ‘बिजुली’ मात्रै होइन।

नेपालको पानीसँग भारतीय जीवन पनि गाँसिएको छ। किनकि, ‘महासागर’सम्मको २ हजार ५ सय २५ किलोमिटर यात्रामध्ये २ हजार ७१ किलोमिटर भारतीय भूमिमै पर्छ। बाँकी बंगालदेशमा।

अनि यात्राको क्रममा उसले करिब दश लाख वर्गकिलोमिटर जमिन सिञ्चित गर्दै जान्छ।

गंगा भारतको एउटा मुख्य जलभण्डार पनि हो।

‘नेपालको पानी जोगाउने अभियानमा नेपाल मात्रै होइन, भारतको पनि दायित्व गाँसिएको छ’ जलाधार विज्ञ मधुकर उपाध्याय भन्छन् ‘नेपालका जलाधारमा पानी सकिनु भनेको भारतका जलाधार रित्तिनु पनि हो, हाम्रोमा पानी सकिए भारत पनि सुक्छ।’

के नेपालका ‘जलाधार’ रित्तिँदैछन् ?

पहिलो कुरा त, जलाधारहरूका बारेमा नेपालमा कुनै अध्ययन र अनुसन्धान भएकै छैन।

नेपालमा कस्ता छन्, जलाधार र जलभण्डार ?

अनि नेपालका मुख्य ‘जलभण्डार’ मा कति पानी छ ?

‘हामीकहाँ भएका त्यही ६ हजार चानचुन नदीनालालाई नै जलाधार भनिएको छ’ उपाध्याय भन्छन् ‘यसको उत्तर न नेपाल सरकारसँग छ, न कतै भेटिन्छ, हामीले न जलाधारलाई अध्ययन गरेका छौं न, जलभन्डारलाई सूचिकृत।’

उनका अनुसार सरकारसँग नेपालको जलस्रोतको अध्ययन अनुसन्धान गर्ने कुनै ठोस नीति र कार्यक्रम नै छैन।

‘त्यसैले पनि सरकारी तवरबाट हाम्रा जलभन्डार यति छन्, वा तिनमा पानी यत्ति छ भन्ने केही एकीन छैन’ उनी भन्छन् ‘गैरसरकारी तवरबाट भएका अध्ययन वा अनुसन्धान पनि विद्युतमै केन्द्रित छन्।’


नेपालको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘नेपालको वातावरणीय तथ्यांक २०१९’ का अनुसार चार वटा प्रमुख नदीलाई मुख्य नदी बेसीनका रुपमा राखिएको छ। हिँउ पग्लेर बार्‍है महिना बगिरहने यी नदीहरू कोसी, गण्डकी, कर्णाली र महाकाली हुन्।

यी मुख्य बेसीनमा पानी आउनका लागि ३ हजार ८ सय ८ वटा हिमनदी बगेका छन् भने तिनै बेसिन क्षेत्रमा आधारित १ हजार ४ सय ६६ हिमताल छन्।

त्यस्तै देशका आठ नदीलाई मुख्य जलाधारका रुपमा वर्गीकरण गरिएको छ। तीमध्ये तमोर, सुनकोसी, बागमती, त्रिशुली, कर्णाली, नागमति र, सप्तकोसी मुख्य हुन्।

‘यी मिलाएर हामीले भन्दै आएका ६ हजार जलाधारमा करिब २ खर्ब ३१ अर्ब घनमिटर पानी भएको अनुमान छ’ उपाध्याय भन्छन् ‘तर, हामी बिस्तारै पानी संकटतिर धकेलिँदैछौं। हाम्रा मुहान सुक्न थालेका छन्, हिउँ पग्लिन थालेको छ र, पानी चाँडै बग्न थालेको छ। यी सबका कारण पानी जमीनमा रहँदैन।’

उनका अनुसार दश वर्षअघिका यी नदीनालामा बग्ने पानी र अहिले बग्ने पानीको मात्रामा निकै अन्तर छ। ‘हामीले अनुमान गरेको देशभरको त्यो पानीको मात्रा विस्तारै घट्दैछ’ लामो समयसम्म बाग्मती जलाधार क्षेत्र तथा देशका विभिन्न स्थानमा पानीका मुहान अध्ययन गरेका उपाध्याय भन्छन् ‘नदीखोलाहरू सुक्दैछन्, मुहान हराउँदैछन्।’

पानी बचाइराख्न पोखरी नै चाहिन्छ

तथ्यांक विभागका अनुसार देशभर करिब ५ हजार ३ सय ५८ साना ठूला ताल, तलैया छन्। ती १०० देखि ५ हजार मिटरसम्मको उचाइमा छन्।

कुनै समय थियो, जब डाँडाहरूमा पोखरी हुन्थे। आज ती मासिएका छन्। पोखरीहरूमा जम्मा भएको पानी कुनै न कुनै रुपमा जमीनमुनि पुनर्भरण हुन्छ र, त्यसले अरु मूल पलाउन सजिलो हुन्छ।

‘तर, अब ती सबै मासिएका छन्, यदि हामीले अब चाँडै नै त्यस्ता कृत्रिम भए पनि पोखरी खन्न थालेनौं भने केही वर्षभित्रै पानीको हाहाकार हुनेछ’ उपाध्याय भन्छन् ‘यसबारे बेलैमा सोच्न जरुरी छ। हामीले धेरै ढिला गरिसकेका छौं।’

चैत ९, २०७७ मा नेपालन्युजमा प्रकाशित समाचार पुनः प्रकाशन गरिएका हौ ।

यो पनि पढ्नुहोस्

कहाँ हराए पानीका मुहान ?


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes