वर्तमान अवस्थामा विश्वमै पर्यटकीय गतिबिधि ठप्प रहेको समयमा विभिन्न मुलुकका पर्यटकहरुले नेपाललाई उपयुक्त गन्तव्य ठानेको स्पष्ट भएको छ। नेपालमा विशेषगरी हिमाल आरोहणका लागि आउनेहरुको संख्या यसपाली बढने देखिएको छ। नेपालका हिमालहरुमा यस वर्षको वसन्त ऋतुमा आरोहीहरुको चाप बढदै गईरहेको छ।
नेपालमा हिमाल आरोहणका लागि अनुमति लिने विभिन्न मुलुकका टोलीको संख्या बढिरहेको पर्यटन विभागले जनाएको छ। हालसम्ममा ३७ वटा टोलीले विभिन्न हिमाल चढन अनुमति लिईसकेका छन। जसमा २ सय २९ जना पुरुष र ७४ जना महिला गरी ३ सय ३ जना सदस्य छन।
नेपालमा रहेका विभिन्न हिमालहरुमा सबैभन्दा बढी चाप सगरमाथामा रहेको छ। हालसम्म विभिन्न देशका १८ वटा टोलीले सगरमाथा आरोहणको अनुमति पाएका छन। जसमा १ सय ३१ जना पुरुष र ३६ जना महिला छन। सगरमाथा जाने ४ वटा टोलीमा कुनै महिला सदस्य छैनन भने २ वटा टोलीमा महिला मात्र सदस्य छन। एउटा टोलीमा १ जना र अर्को टोलीमा २ जना मात्र महिला सदस्य रहेको पर्यटन बिभागले जनाएको छ। यसैगरी ल्होत्से हिमालमा ५, अन्नपूर्ण हिमालमा ४, धौलागिरी हिमालमा ३, नुप्से हिमालमा ३, मनास्लु २, पुमोरी २ तथा टुकुचे हिमालमा एउटा टोलीले आरोहणको प्रयास गर्दछ।
नेपाल सरकारले हालसम्म हिमाल आरोहणको अनुमति दिए बापद २३ करोड ६३ लाख १ हजार ६ सय ९९ रुपैंया राजस्व संकलन गरिसकेको छ।
यसरि नेपाल आउने पर्यटकहरुलाई यथासक्य सुबिधा दिएर उनिहरुको आरोहण सफल बनाउन नेपाल सरकारका साथै सम्बन्धित व्यवसायीहरुले प्राथमिकता दिनु पर्ने देखिएको छ। विश्वनै विषम परिस्थितिका बेला विभिन्न मुलुकका आरोहीहरुले गर्ने हिमाल आरोहण सफल भएमा त्यसको सकारात्मक सन्देश विश्वमै फैलिन जाने तथा त्यसको प्रभाव आगामी दिनमा नेपाली पर्यटन क्षेत्रमा पर्न जाने कुरामा विश्वस्त हुन सकिन्छ।