पर्यटक आउने सहज ब्यवस्था मिलाउन होटल व्यवसायीले राखे यस्ता सर्त


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्। कोरोना महामारीको जोखिम कम भइरहेकाले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन्।

होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्र्याउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए।

उनले पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने, विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसालगायतका कुराहरुलाई कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरुको माग रहेको बताए।

‘हामी सर्भिस इण्डस्ट्री हौं, हामीले देश तथा विदेशबाट आउने पर्यटकहरुका लागि हामीले उहाँहरुले खोजेजस्तो सेवा दिन सकेनौं भने हामीकहाँ आइरहने ग्राहकहरु हराउँछन्, जसले जति खर्च गर्नुहुन्छ, त्यो अनुसारको सेवा हामीले दिनैपर्छ, त्यसलै हामीले एकदमै कम्पिटिटिभ भएर काम गर्नुपर्छ, अहिले सबै मात्रामा कामदारहरु पनि आइरहनुभएको छैन, ठूला होटलहरुको पनि लगानी बढेर गएको देखिन्छ, बिजनेश छैन, एक,दुईवटा बिजनेश हुँदा पनि उसले घटाघट गर्ने अवस्था जस्तो देखिएको छ, अहिले सस्तोमा गरेर भएपनि केही टिक्न सकिन्छ की भन्ने हिसावले पनि मान्छे हेरिरहेका छन्, यो विषम परिस्थिति हो, हामीले बजार बढ्ने कामहरु गर्नुपर्‍यो, सरकारले घोषणा गरेको कुरा पर्यटकलाई १० दिनको पर्यटन कागज भनेको छ, यसको कार्यविधि बनेको छैन, यो बनाएर तत्काल निर्णय गर्नुपर्यो,' प्रथम उपाध्यक्ष शाहले भने, 'त्यस्तै विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा भनेको छ, यसको पनि कार्यविधि अहिलेसम्म बनेको छैन, अक्टोबर, नोभेम्बरमा नेपाल आउन चाहने पर्यटकहरु आधाले क्यान्सिल गरिसके, किनभने हामीसँग आजको दिनसम्म अन अराइभल भिसा छैन, भिसा सहज बनाउने अवस्था छैन, धेरै मानिसहरु आउन खोज्नुभएको थियो, माउन्टेन ट्रेकिङको लागि नेपाल प्रख्यात भएकोले आउन चाहेका थिए, अहिले भ्याक्सिन लगाएका मानिसहरु हाम्रोमा आउने र हाम्रो कर्मचारी पनि भ्याक्सिन लगाइसकेको हुनाले आत्मविश्वास बढेको छ, यसलाई मध्यनजर गरेर सरकारले सक्दो चाँडो अन अराइभल भिसा, क्वारेन्टाइनका कुराहरु हटाउने, भारत र चीनका सीमानाकाहरु खोलिदिनुपर्यो, अरु सबै देशले खोलिसके, हामी धेरै पछि परेका छौँ, सरकारले तत्काल यसमा निर्णय गरोस्, सीसीएमसीमा पनि हामीले यी कुरा राखिसकेका छौँ, सीसीएमसीले पनि भनिसकेको भनिएको छ, हामी सरकारको निर्णयको पर्खाइमा छौं।’

होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर बिस्तारै कम भइरहेकाले अब पर्यटन क्षेत्र पनि बिस्तारै खुल्दै जाने बताए। उनले नेपालको सौन्दर्यताको चर्चा धेरै भएकोले अब पर्यटकहरु आउने कुरामा आशावादी रहेको बताए।

होटल पबेराका सञ्चालक राधेश्याम थापाले भने, ‘यो बिजनेश भनेको लगानी गर्ने बित्तिकै तुरुन्तै फाइदा हुने बिजनेश त पक्कै पनि होइन, समयले यसलाई असर गरेको छ, बिस्तारै केही होला भन्ने आश छ, नेपाल एकदमै सुन्दर मुलुक छ, कि पर्यटकले पनि स्विट्जरल्याण्ड बिर्साउने देश भन्ने गरेका छन्, बिस्तारै सबै खुल्ला भएपछि राम्रो हुनेमा आशावादी छु।’

त्यस्तै रमदा इन्कोरकी मार्केटिङ म्यानेजर प्रज्ञा खनालले कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रले अब गति लिने बताइन्। उनले नेपालमा आउने अधिकांश पर्यटक भारत र चीनका भएकोले भारत चीनका पर्यटकहरुका लागि सहजता प्रदान गर्नुपर्ने बताए।

‘हामी अन्य होटलहरु भन्दा फरक छौँ, पर्यटकहरुलाई रिसाएर होइन, जुन बेला आएपनि काम गर्दै रमाइलो गर्ने व्यवस्थापकीय हामीसँग छ, हाम्रो देशमा धेरै आउने पर्यटकहरु भनेको चीन र भारतका हुन्, साथै भारतमा रमदाका ५२ वटा भन्दा धेरै होटेल्स छन्, त्यसैले भारतीय पर्यटकहरुलाई रमदा फेमिली इन्भारमेण्टजस्तो लाग्छ,' उनले भनिन्।

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौँ पर्यटन व्यवसायीहरुको जनजीवनमा परिरहेको शंकट टर्ने भन्दै म्यानेजर खनालले पर्यटकहरुका लागि नयाँपन, नयाँ स्वाद दिलाउन आवश्यक रहेको बताइन्। कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाधरुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने व्यवसायीहरुको माग छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal