चार हजार ७ सय मिटर उचाइको थुक्ला पास सगरमाथा आधारशिविर पुग्ने अन्तिम विन्दु हो। यहाँबाट ३६० डिग्रीमा हिमाल अवलोकन गर्न सकिन्छ।
हिमालैहिमाल देखिने थुक्ला क्षेत्रमा आरोहणका क्रममा मृत्यु भएका आरोहीको सम्झनामा पार्क निर्माण गरिएको छ। विभिन्न समयमा मृत्यु भएका आरोहीका परिवार र आफन्तले मृतकको सपना पूरा होस् भन्ने कामना गर्दै स्तम्भसहितको तस्बिर र परिचय राखेका छन्।
उक्त पार्कमा विश्वभरका करिब दुई सयभन्दा बढी आरोहीको सम्झनामा स्तम्भ निर्माण गरिएको छ। पुमोरी हिमालको काखैमा अवस्थित थुक्लाको आरोही पार्कमा सगरमाथा आधारशिविर पुग्ने जो कोही पनि केही समय रमाउने गर्छन्। सँगै आरोहणमा हिँडेका अरोहीको स्मृतिमा राखिएका स्तम्भ (मनी) हेर्दै साथीलाई सम्झने गरेको आरोही लाक्पा शेर्पा बताउँछन्। थुक्लाबाट खुम्बु क्षेत्रका अधिकांश हिमाल अवलोकन गर्न सकिन्छ।
सगरमाथा आधारशिविरसम्म पुग्ने आरोहीसमेत थुक्ला पास गर्नसाथ आरोही स्मृति पार्कमा अल्मलिने गर्छन्। पार्कमा १६ घण्टामा सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही बाबुछिरी शेर्पा, स्विजरल्यान्डका आरोही वली स्टिक, चर्चित अमेरिकी आरोही स्टक फिसर रफहललगायत रहेका छन्। अधिकांश आरोही मौसम खराबी र आरोहणक्रममा हिमपहिरोमा परी मृत्यु भएका रहेका छन्।
नुवाकोटको ककनीमा पनि सरकारले नेपाल पर्वतारोहण सङ्घलाई आरोही स्मृति पार्क बनाउन दिएको छ। आरोहीको इतिहासलाई जीवन्त राख्न पनि पार्कले सहयोग गर्ने भन्दै थप व्यवस्थित बनाउन राज्यले पहल थाल्नुपर्ने सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाको माग छ।