शास्त्रीय संगीत सुगम संगीतको मुख्य आधार भए पनि शास्त्रीय संगीतमा संलग्न हुनेहरुको संख्या अत्यन्त न्यून छ। यसका लागि लामो समयको साधना आवश्यकता पर्छ।
हाम्रो मुलुकमा पनि शास्त्रीय संगीतलाई आफ्नो पेसा बनाउनेहरुको संख्या धेरै कम छ। त्यसमा पनि तबला बादनमा संलग्न हुनेहरुको थोरै छन्। केही वर्षयता नेपालका मुर्धन्य तबलाबादक पण्डित होमनाथ उपाध्यायतथा रबिनलाल श्रेष्ठको निधनपछि अहिले अग्रणी तबलाबादकका रुपमा अच्युतराम भण्डारीको नाम लिने गरिन्छ।
उनले करिब ५ दशकदेखि लगातार तबला बजाउँदै आएका छन्। उनले तबला बादनमा स्नातकोत्तर अर्थात् संगीत प्रवीणतहसम्मको अध्ययन गरेका छन्। उनले त्रिभुवन विश्व विध्यालयमा करिब २ दशक तबला विषयमा अध्यापन गरेका थिए।
संगीत अध्ययनसम्बन्धी पाठ्यक्रममा निर्माणमा पनि उनको संलग्नता रहेको थियो। उनलाई अमेरिका, नर्वे, स्वीडेनलगायतका विश्व विद्यालयमा तबला बादनसम्बन्धी अध्यापन गरेको अनुभव छ। उनले संगीतसम्बन्धी २० वटा पुस्तक नेपाली तथा अंग्रेजी भाषामा प्रकाशित गरिसकेका छन्।
शास्त्रीय संगीतको लगातार साधनाबाट आफूले आध्यामिक आनन्द प्राप्त गर्ने गरेको वरिष्ट तबला बादक अच्युतराम भण्डारीको अनुभव रहेको छ। शास्त्रीय संगीतसम्बन्धी ज्ञान हासिल गरेर क्रमिकरुपमा अभ्यास गर्ने गरिएमा त्यस्ता व्यक्तिलाई अवसर नै अवसर भएको उनी स्पष्ट पार्छन्।
नेपालन्युजको स्टुडियोमा रेकर्ड गरिएको वरिष्ट तबलाबादक अच्युतराम भण्डारीसँगको कुराकानीका साथै तबलाबादनको भिडियो रेकर्डिङ: