नेपालले सन् १९६४ मा जापानमा आयोजित गृष्मकालीन ओलम्पिक प्रतियोगितादेखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो। नेपाल मेक्सिकोबाहेक सबै ओलम्पिकमा सहभागी हुँदै आएको छ। गतवर्ष कोरोना भाइरसको संक्रमणका कारण जापानमा पूर्व निर्धारित ओलम्पिक हुन सकेन। उक्त प्रतियोगिता यसवर्ष जुन महिनामा आयोजना हुँदैछ।
अहिले पनि कोरोनाको प्रकोप नियन्त्रणमा आउन सकेको छैन, त्यसैले ओलम्पिक हुन्छ वा हुँदैन भन्ने दुविधा छँदैछ। तैपनि सहभागी मुलुकहरुले आ-आफ्नै हिसाबले तयारी जारी राखेका छन्।
नेपाल हालसम्म स्वीमिङ र एथेलिटिक्स खेलमा ओलम्पिकमा भाग लिने निश्चित भइसकेको छ। ओलम्पिकमा सहभागी मुलुकले यी दुई खेलमा अनिवार्यरुपमा भाग लिनुपर्छ।
एथलेटिक्सकमा गोपीकृष्ण पार्की तथा स्वीमिङमा गौरिका सिंह र एलिस श्रेष्ठले भाग लिने तय भइसकेको छ। यसबाहेक सुटिङ, कराँते, ताइक्वाण्डो, आर्चरी र भारोत्तोलनमा पनि नेपालले भाग लिँदैछ।
यी खेलमा वाइल्ड कार्ड उपलब्ध गराउन नेपालले आयोजकसँग पत्राचार गरिरहेको छ। वाइल्ड कार्ड प्राप्त भएमा नेपालको सहभागिता निश्चित हुन्छ। यसबाहेक कराँते तथा ताइक्वाण्डोजस्ता खेलमा छनौट चरण पार गरेर पनि ओलम्पिकमा भाग लिने ढोका खुल्छ।
नेपाली कराँते प्रशिक्षक दीपक श्रेष्ठ ओलम्पिकमा भाग लिने कराँते टोलीलाई प्रशिक्षण दिइरहेका छन्। आठौं र नवौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेतासमेत रहेका प्रशिक्षक श्रेष्ठ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पनि हुन्।
उनले नेपालको ओलम्पिकमा सहभागिताका लागि ब्यापकरुपमा तयारी हुनुपर्ने बताए। उनले हालसम्म ओलम्पिकमा नेपालको सहभागिता रहने खेलका संघहरुले समेत तयारी सुरु नगरेकामा असन्तोष प्रकट गरे।
नेपालले ओलम्पिकमा भाग लिएको ५ दशक भइसक्दा पनि हालसम्म एउटा पनि पदक पाउन सकेको छैन। सन् १९८८ मा दक्षिण कोरियाको सियोलमा सम्पन्न ओलम्पिकमा नेपाली ताइक्वाण्डो खेलाडी विधान लामाले कांस्य पदक पाएका थिए। तर त्यतिबेला सो खेल प्रदर्शन खेलकारुपमा राखिएको भन्दै आयोजकले आधिकारिक मान्यता दिएन। ओलम्पिकको तयारी र खेलाडीको वर्तमान अवस्थाबारे कराँते प्रशिक्षक दीपक श्रेष्ठसँग नेपालन्युजले कुराकानी गरेको छ। हेर्नुस् उनीसँग गरिएको भिडियो सम्बाद: