बुढ्यौलीमा जोखिम मोलेर वाइल्ड लाइफ फोटोग्राफीका लागि जंगल चाहर्दै चुङ्बा


नेपालन्युज
शनिबार , २६ असार , २०७८

नेपाल सरकारले निजामति कर्मचारीको अवकासको उमेर ५८ वर्ष तोकेको छ। ५८ वर्ष पुगेपछि सरकारी कर्मचारीहरु अवकास भई सरकारले उपलब्ध गराउने पेन्सनबाट बाँकी जीवन विताउने गरेका छन्। तर एक जना नेपालीले भने सरकारले सेवाबाट अवकास दिने उमेरमा नयाँ काम सिकेर आफूलाई उदाहरणीय व्यक्तित्वको रुपमा प्रस्तुत गरेका छन्।

सोलुखुम्बुको चौरीखर्कमा २०१७ सालमा जन्मेका चुङ्वा शेर्पाले जीवनमा अनेकौं काम गरी ५८ वर्ष पुगेपछि बन्यजन्तुसम्बन्धी फोटोग्राफी सुरु गरेका छन्। अहिले उनको काम नै नेपालका विभिन्न निकुन्जमा गएर कयौं दिन बिताएर जनावर र चरा चुरुङ्गीहरुको फोटो खिच्नु हो। व्यक्तिगतरुपमा कयौं लाख रुपैँया लगानी गरी फोटोग्राफीसम्बन्धी उपकरणहरु जोड्दै उनले अनलाइन कक्षामार्फत् यस्तो फोटोग्राफीमा आफ्नो ज्ञान बढाउँदै लगेका हुन्।

चुङ्वा गत ३ वर्षको अवधिमा फोटो खिच्नका लागि नै चितवन राष्ट्रिय निकुन्जमा २७ चिटी पुगिसकेका छन्। नेपालका अन्य राष्ट्रिय निकुन्जका साथै आरक्षहरुमा समेत बरोबर गएर दुर्लभ बन्य जन्तुहरुको फोटो खिच्न सफल भएका चुङवाले यसरी फोटो खिच्नेक्रममा जंगल तथा हिमाल तथा पहाडका विकट स्थानहरुमा कयौं रात बिताएका छन्।

चुङ्वाको उद्देश्य पैसा कमाउनु होइन। उनले त्यस्ता फोटो जोसुकैलाई निशुल्क उपलब्ध गराउने गरेका छन्।

विश्वबाट लोप हुन लागेको बाघ, हिम चितुवा, कस्तुरी, मृग, घोरललगायत विभिन्न जनावरका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराहरु आफ्नो फ्रेममा पार्न सफल भएका छन्। यसरी फोटो खिच्न जाँदा उनले जोखिम मोल्दै आएका छन्। कयौं पटक बाघसँग जम्का भेट भएको छ। जंगली हात्तीको अगाडि पर्दा पनि उनी बाँच्न सफल भएका छन्।

३ वर्षको अवधिमै चुङवाले आफूलाई अब्बल बन्यजन्तु फोटोग्राफरको परिचय बनाउन सफल भएका छन्। बन्यजन्तु संरक्षणसम्बन्धी आधिकरिक निकायले उनलाई पत्याइसकेको छ। राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण विभाग तथा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रकाशित गर्ने गरेको वार्षिका क्यालेण्डरमा उनको फोटो पनि प्रकाशित हुँदै आएका छन्।

त्यसैगरी कयौं अनुसन्धानकर्ताहरुले उनीसँग बन्यजन्तु र चराका फोटो अनुसन्धानका प्रयोजनका लागि माग्ने गरेका छन्। तर चुङ्वाको उद्देश्य पैसा कमाउनु होइन। उनले त्यस्ता फोटो जोसुकैलाई निशुल्क उपलब्ध गराउने गरेका छन्। उनले जंगलमा फोटो खिच्न खरिद गरेको ल्याण्डरोभर गाडीलाई बन्यजन्तु विभागले नेपालका जुनसुकै राष्ट्रिय निकुन्ज र आरक्षभित्र लान अनुमति पत्र प्रदान गरेर सघाएको छ।

चुङ्वा आफूले जानेको कुरा नयाँ पुस्तालाई निशुल्क सिकाउन चाहन्छन्। उनले चितवन तथा बर्दियामा कयौंलाई आफ्नो अनुभव सिकाइसकेका छन्। उनी छोटो अवधिमै धेरै उपलब्धि हासिल गर्ने लक्ष्यमा छन्।

२०१७ सालमा सोलुखुम्बुको चौरीखर्कमा जन्मेका चुङवा शेर्पा २०४६ सालमा नेपालमा बहुदलीय व्यवस्थाको पुनर्थापना हुँदा तत्कालीन चौरीखर्क गाँउ पञ्चायतका अन्तिम प्रधानपञ्च थिए। उनले पर्यटन व्यवसायीका रुपमा लामो समय काम गरे।

उनी यति एयरलाइन्सको लुक्लाको स्टेशन मेनेजरका रुपमा पनि कार्यरत थिए। विभिन्न एयरलाइन्सको समेत अनुभव बटुलेका उनको हालः लुक्लामा होटल सञ्चालित छ। उनका एक छोरा चिकित्सक, एक छोरा होटल व्यवसायीका साथै छोरी यति एयरलाइन्सकी क्याप्टेन पाइलट छिन्।

छोरीले आफूलाई मन लाग्ने काम गर्न सुझाएकाले जंगल जंगल चहार्न सजिलो भएको चुङ्वा बताउँछन्। बन्यजन्तु फोटोग्राफर चुङवा शेर्पासँग हामीले नेपालन्युजको स्टुडियोमा कुराकानी गरेका छौं।

हेर्नुस् भिडियो:- 


राजु सिलवाल

राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal