काठमाडौंको टुटिखेलस्थित खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ। आज बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो।
त्यसअघि अभियन्ताहरुले खुलामञ्चलाई खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए। खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । तर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै सरकारको आलोचना भएको थियो ।
‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरवार हाइस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए।