किन भयाे एक रातमै १२१.५ मिलिमिटर वर्षा? यस्तो छ कारण


नेपालन्युज
सोमबार , २१ भाद्र , २०७८
तस्बिर : न्युज कारखाना

आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीन/चार दिनदेखिको चर्काे घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको हो ।

राति साढे २ बजेदेखि ६ बजेसम्म मात्र १००.५ मिलिमिटर वर्षा मापन भएको छ, जुन अतिभारी वर्षा हो । काठमाडौंमा रातिदेखि बिहान ८ः४५ बजेसम्म मात्र १२१.५ मिलिमिटर वर्षा मापन भएको छ । ‘हामीले २४ घन्टाको वर्षा भने पनि राति पानी परेको हो,’ उनले भने ।

अर्यालका अनुसार मनसुनमा मनसुनी न्यून चापीय रेखा बन्दा छरपस्ट वर्षा हुन्छ । तर आइतबार राति चैत-वैशाखझै कालोबादल मडारिएर मेघगर्जनसहित पानी परेको हो, जुन मनसुनी चरित्र होइन । आइतबार राति एकै ठाउँमा केन्द्रित वर्षा भएको उनले बताए ।

बंगलाको खाडीमा विकसित न्यून चापीय क्षेत्र आइतबार साँझ मध्य र पूर्व नेपालबाट प्रवेश गरेको थियो । जलवाष्पयुक्त प्रणाली स्थानीय प्रणालीमा मिसिदा काठमाडौंमा ठूलो वर्षा भयो । 

काठमाडौंमा केही दिन यता चर्काे घामले तापक्रम पनि बढेको थियो । आइतबार मध्यरातिसम्म गर्मी नै थियो । - न्युज कारखाना


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal