‘युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउने उपयुक्त बेला आएको छ’


सन्तोष शाह लिडरसिप एकेडेमीका अध्यक्ष हुन्। लामो समयदेखि कृषि क्षेत्रमा अनुसन्धान गरिरहेका उनी हाल ग्रामीण युवा तथा कृषि परीक्षकका रुपमा काम गरिरहेका छन्।


नेपाली इमर्जिङ लिडर्स प्रोग्रामअन्तर्गत रहेर उनी हाल ग्रामीण युवा नेताहरुसँग सहकार्य गरी गाउँका किसानलाई कृषि परीक्षण तथा बजार प्रवद्र्धन कार्यमा सक्रिय छन्। शाहसँग नेपालको वर्तमान कृषि अवस्था, युवा पुस्ताको उपस्थितिलगायत विषयमा केन्द्रित रहेर नेपालन्युजकर्मी युवराज भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः


नेपालमा कृषि क्षेत्रको अहिलेको अवस्था कस्तो पाउनुहुन्छ?


नेपालमा सबै जमिन कृषियोग्य छ। अन्य कतिपय देशमा अन्तैबाट माटो ल्याएर खेती गर्नुपर्ने अवस्था हुन्छ। तर, नेपालमा जहाँ बस्ती छ, त्यहाँ खेती योग्य जमिन छ। गाउँघरमा जताततै हेर्ने हो भने पनि गरिबीको रेखामुनि हुनेसँग पनि थोरै जमिन छ। जमिनको मोल कम होला, तर खेतीयोग्य जमिन हुन्छ। नभएको खण्डमा पनि उनीहरुले अरु कसैको जमिनलाई अधिया गरिरहेका हुन्छन्। बढी जग्गा हुनेहरुले अरुलाई काम गर्न दिइरहेका हुन्छन्।


नेपालमा जमिन आफ्नै र उब्जाउ पनि छ। हामीसँग उत्तिकै मात्रामा जनशक्ति छ। सामान्यतः सबै ठाउँका मान्छेलाई नेपालमा उब्जाउ हुने अन्नबाली, तरकारी लगायत कसरी फलाउने भन्ने सिप पनि छ। यस्तो सिप विश्वका अन्य देशका मानिसमा सबैमा हुँदैन। नेपालमा धेरैसँग खेती गर्ने सिप हुनु भनेको नेपालीहरुको आफ्नो विशेषता पनि हो।


अर्को पाटो हेर्ने हो भने नेपालमा अहिले पनि आलु भारतबाट, लसुन चीनबाट, दाल क्यानडाबाट आयात भइरहेको छ। नेपालमा आफ्नै बजार र आफ्नै उत्पादन गर्ने क्षमता भए पनि महिनामा अर्बौ रुपैंयाँको सामग्री आयात गरिन्छ। आयात गरिएको सामग्रीको खपत काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज लगायतका ठूला सहरहरुमा भइरहेको छ। यी तथ्यलाई हेर्दा सोच्नुपर्ने कुरा हामी कहाँ चुकेका छौं? हामीसँग उत्पादन छ, बजार छ, सिप पनि छ। तर, पनि हामी चुकिरहेको कारण के हो भन्ने थाहा पाउन आवश्यक छ।


सबै कुरा भए पनि व्यवस्थापनको भने कमी छ। धादिङमा उत्पादन भएको सामान हामीले काठमाडौंमा ल्याउन सक्दैनौं। मुख्य समस्याको जड यही हो। हाम्रोमा सबै कुरा हुँदाहँदै पनि अहिलेको अवस्था आउनुमा कृषि क्षेत्रलाई व्यवस्थापन र उत्पादनलाई उचित मूल्याकंन गर्न नसक्नु नै हाम्रो कमजोरी हो।


नेपालमा व्यवस्थापनको कमजोरी भनिरहँदा उत्पादनको स्थिति चाहिँ कस्तो छ?


जति खेतीयोग्य जमिन छन्, तिनीहरुलाई जोड्ने हो भने हामीले निर्यात पनि गर्न सक्छौं। मेरो बाल्यकाल सर्लाहीमा बित्यो। बुबा किसान हुनुहुन्छ, जमिन पनि धेरै थियो। त्यति बेला हामीले सर्लाहीमा गरेको उत्पादन जनकपुरसम्म पनि पुर्याउँथ्यौं। कहिलेकाही उत्पादनलाई भारतको विहारसम्म पनि निर्यात गर्थ्याै‌।


पछि जनयुद्ध सुरु भएपछि कतिपय कुराहरु बदलिए। जनयुद्धपछि खेतीयोग्य जमिनसँगै कृषि क्षेत्र पनि केही मात्रामा डगमगायो। जमिन्दारले शासन गर्ने व्यवस्था हट्नुपथ्र्यो, त्यो हट्यो। तर सँगै देशकै कृषि उत्पादन नै घट्यो। त्यसलाई व्यवस्थापन गर्न आवश्यक देखिएको छ। अहिले कुनै पनि गाउँमा व्यक्तिले कृषि उत्पादनलाई आम्दानीको स्रोत वा आफ्नो करिअरको रुपमा लिन सक्दैन। कारण यो क्षेत्र सुनिश्चित रहेन। उत्पादन पनि कम छ, र व्यवस्थापन पनि कमजोर छ। त्यसैले पनि वर्तमान समयमा कृषि क्षेत्र निकै डगमगाएको छ।


अहिले कृषि क्षेत्रमा युवापुस्ताको उपस्थिति वा आकर्षण कस्तो देख्नु भएको छ?


एकातिर युवापुस्ताको ठूलो संख्या अहिले वैदेशिक रोजगारीमा छ। अर्कातिर देशमा भएका कृषियोग्य जमिन बाँझो छन्। यसरी हेर्दा कृषि क्षेत्रमा युवापुस्ताको उपस्थिति निकै कम छ।


पलायन भइरहेको युवापुस्तालाई नेपालकै कृषि क्षेत्रमा ल्याउन आवश्यक छ। यो विषयमा म आफैं पनि अनुसन्धान गरिरहेको छु। अनुसन्धानबाट प्राप्त गरेको निष्कर्षको आधारमा ‘प्लान’ कार्यान्वयनमा ल्याउँदैछु।


नेपालका विभिन्न क्षेत्रका किसानलाई काठमाडौं, पोखरा लगायतका सहरमा उत्पादन खपत हुने ठाउँमा जोड्न आवश्यक छ। उनीहरुले गरेको उत्पादनलाई खपत गर्न सक्नुपर्छ। यो अवस्थामा देशबाट पलायन हुने युवालाई रोक्न सकिन्छ। एकातिर उनीहरुलाई नै कृषि क्षेत्रमा आउन प्रेरित गर्न सकिन्छ भने एक ठाउँको उत्पादनलाई अर्को ठाउँमा खपत हुने गरी पुर्याउने काममा युवाले नेतृत्व लिन सक्छन्। वैदेशिक रोजगारीमा कमाउने रकम बीचमा बसेर उत्पादनलाई बजारसम्म पुर्याउन पनि पाउँछ भने अर्कातिर उत्पादन गर्नेले पनि पाउँछ। तर, उनीहरुको बीचमा ठूलो मार्जिन राख्न हुँदैन।


अहिलेको अवस्थामा त्यो भइरहेको छैन। एकातिर किसानले तुरुन्त पैसा पाउँदैनन्। सामान दिएको लामो समयसम्म पनि उसले पैसा पाउँदैन। यसो हुँदा फेरि उसले आफ्नो खेतबारीमा खेती गर्न सक्दैन। यो पाटोलाई समाधान गर्न पनि युवा पुस्तालाई कृषिमा तान्न आवश्यक छ। कृषकले पनि उचित मूल्यमा सामान पाउनुपर्छ। र, उत्पादन भएको ठाउँबाट बिक्री वितरण गर्ने ठाउँसम्म ल्याएपछि त्यसको उचित मूल्य पाउनुपर्छ।


उत्पादनलाई बढाउन युवा पुस्तालाई कृषिमा आकर्षण गर्नैपर्छ। विश्वभर पाइने प्रायः कृषि उत्पादनहरु नेपालमा पाइन्छन्। आवश्यक कदम चालेर युवालाई यो क्षेत्रमा तानेर गाउँगाउँमा नेतृत्व गर्ने, किसानको उत्पादनलाई बजारसम्म पुर्याउने जिम्मेवारीसँगै उनीहरुलाई उत्पादनमा खटाउने हो भने नेपालको उत्पादनलाई नेपाली बजारसँगै बाहिर निर्यात गर्न सकिन्छ।


के कारणले युवापुस्ताको उपस्थिति कृषि क्षेत्रमा कम भएको होला?


म मेरै गाउँको उदाहरण दिन चाहन्छु। अहिले सर्लाहीतिर युवापुस्ता कृषि क्षेत्रमा प्रवेश नै गर्न चाहँदैनन्। कारण, कृषिमा लाग्नु भनेको बेरोजगार हुनु सरह हो भन्ने सामाजिक मान्यताको विकास भएको छ। देशैभरको अवस्थालाई हेर्ने हो भने सर्लाहीकै जस्तो अवस्था छ। युवाहरु कृषि क्षेत्रमा उपस्थिति नै जनाउन चाहँदैनन्।


यो समस्यालाई समाधान गर्न कृषि क्षेत्रका अनुसन्धानकर्ता, प्राविधिक लगायतले केही दिन मात्रै भए पनि कृषि पेशा गरेर समाजमा देखाउन आवश्यक छ। यसले युवाहरुलाई कृषितर्फ लाग्न प्रोत्साहन मिल्छ। उदाहरणको लागि, म कुनै जिल्लामा जाँदा कसैले पेशा सोधेमा कृषक हुँ भन्छु, र सकेसम्म महिनामा केही दिन नै सही खेतमा गएर काम पनि गरिरहेको हुन्छु। बाहिरबाट नभने पनि मानिसहरु भित्रभित्रै हाँसिरहेका हुन्छन्। तर, मेरो कदमले कतै न कतै समाजमा रहेका युवापुस्तालाई प्रेरित गरिरहेको हुन्छ।


यसरी नै कृषिसँग सम्बन्धित निकायमा काम गरिरहेका व्यक्तिहरुले प्रशासनिक मात्रै नभएर प्रयोगात्मक क्षेत्रमा पनि लागिदिने हो भने समाजमा निर्माण भइरहेको मान्यतालाई चिर्न सकिन्छ। थोरै नै सही, तर केही दिन मात्रै खेतमा जाने, खेतीमा संलग्न हुने गरेमा पनि यसले समाज र त्यहाँका युवापुस्तामा प्रभाव पारिरहेको हुन्छ। युवाहरु कृषि क्षेत्रमा आउन नचाहने होइनन्। तर, समाजले उनीहरुलाई कृषि पेशामा आउन दिइरहेको छैन। तराईं क्षेत्रमा हेर्ने हो भने केही पढेलेखेका मान्छेले खेती गर्न खोजेमा आमा बुबाले नै दिदैंनन्। ‘तँलाई पढाएको लेखाएको यही खेतमा काम गर्नलाई हो?’ भन्ने किसिमको अवस्था छ।


अर्कातिर, कृषि पढेकाहरुलाई पनि त्यति सुविधा छैन। सरकारीस्तरबाटै पनि यसमा उचित काम भएको छैन। नेपालमा भएका कृषि विद्यालयहरुमा पढेकाहरु पनि कृषि मन्त्रालय लगायतका प्रशासनिक निकायमा मात्रै काम गरिरहेका छन्। तर, खेतमा जाने कोही पनि छैन भन्दा पनि हुन्छ। त्यसैले, खेतमा जाने मान्छेहरु भएमा यसले युवापुस्तासँगै समाजलाइ पनि प्रभाव पार्छ। र, भोलिका दिनमा कृषि क्षेत्रमा युवा पुस्ताको उपस्थिति पनि उत्साहजनक भएर आउनसक्ने देखिन्छ।


नेपालमा खेतीयोग्य जमिन पनि छ, उत्पादन हुने हो भने पुग्छ भन्ने कुरा पटकपटक सुनिन्छ। फेरि हरेक वर्ष कुनै न कुनै खाद्यवस्तुको अभाव नेपालमै हुन्छ, र आयात गर्नुपर्ने हुन्छ। किन यस्तो भइरहेको छ?


मुख्य समस्या बजारको माग अनुसार खेती गर्ने प्रकृति मिलेको छैन। उदाहरणका लागि, अमेरिकामा किसानहरु एउटा संघसँग जोडिएका हुन्छन्। संघले किसानलाई निश्चित मात्रामा कृषि सामग्री उत्पादन गर्ने जिम्मेवारी दिन्छ। तर, नेपालमा त्यस्तो छैन।


नेपाली कृषि क्षेत्रमा कसैले किबी रोपेको मात्रै छ भने सञ्चारमाध्यमले त्यसलाई ‘किबी खेती गरेर करोडपति भयो’ भन्ने प्रचार गर्छन्। खेती गरेर करोडपति हुनलाई ऊ अगाडिबाटै करोडपति हुनुपर्छ। करोड आम्दानी गर्न करोड नै लागानी हुनुपर्छ। भ्रामक रुपमा नै प्रवाह भएको समाचारले प्रभाव पार्छ। समाचारबाट प्रभावित भएर धेरैले त्यही किबीको खेती गर्न थाल्छन्, अनि एउटै सामग्रीको उत्पादन त्यसको बजारभन्दा ज्यादा हुन्छ। त्यसपछि त्यसको मूल्यमा निकै गिरावट आउँन थाल्छ।


यसरी नै अन्य सामग्रीको उत्पादनमा पनि व्यवस्थापन नहुँदा नेपालमा कुनै न कुनै खाद्यान्नको अभाव भइरहेको हुन्छ। अहिले म संलग्न संस्थामार्फत नै यो समस्यालाई समाधान गर्ने प्रयास गरिरहेका छौं। अहिले सर्लाहीका किसानलाई गोलभेंडाको खेती गर्न भनिरहँदा सप्तरीका किसानलाई यसको नभएर अन्य कुनै वस्तुको खेती गर्न सुझाइरहेका छौं।


मुडेमा आलु फल्छ। त्यहाँ आलु फल्छ भने त्यहाँ तलतिर आलु नभएर लसुन वा अन्य कुनै कृषि वस्तुको खेती गर्न सकिन्छ। माग अनुसारको वस्तुलाई खेती गर्न सकिन्छ। बजारको मागलाई जति खेती गर्दा पुग्छ, त्यति नै खेती गर्न सकिन्छ। बजारको माग अनुसारको खेती गर्ने हो भने खपत पनि हुन्छ र अभाव सिर्जना भएर आयात गर्नुपर्ने अवस्था पनि आउँदैन।


जुन वस्तुको माग छ, त्यसको उत्पादन गरेर व्यवस्थापन उचित रुपमा गर्न नसक्दा नेपालमा हरेक वर्ष खाद्य सामग्रीको अभाव भइरहेको हो। यसलाई समाधान गर्न माग अनुसारको कृषिवस्तुको उत्पादन र त्यसको व्यवस्थापन गर्न आवश्यक छ।


अन्त्यमा, राज्यको तर्फबाट कृषि क्षेत्रमा चालिरहेको कदमलाई कसरी हेर्नुहुन्छ?


कागजमा भएका कुरालाई हेर्ने हो भने थुप्रै कामहरु भएका छन्। तर, व्यवहारमा लागू भएको हेर्दा शून्य बराबर छ। बैंकको लोनदेखि अन्य कुरामा पनि कागजमा व्यवस्था छन्, तर, वास्तविकता फरक छ।


बैंकले कृषि क्षेत्रलाई ऋण दिनुका साटो फाइन तिर्न तयार हुन्छ। कारण बैंकसँग धितो राख्ने बातावरण छैन। बैंकले दुई–तीन लाख दिनको निम्ति पुरा गर्नुपर्ने प्रशासनिक काम गर्दा एक लाख हाराहारीको खर्च हुन्छ। त्यसैले पनि यस्तो व्यवस्थालाई बैंक तथा अन्य वित्तीय संस्थाहरुले कार्यान्वयन गरिरहेका छैनन्।


यस्तो अवस्थामा बैंकले पनि म संलग्न जस्तै नेपालमा भएका थुप्रै संस्थासँग सहकार्य गरेर अगाडि बढ्न सकिन्छ। नेपालमा थुप्रै संस्थाहरु छन्, कृषि क्षेत्रको लागि। कृषकको उद्धार गर्छु भन्ने संस्थाहरुलाई यसमा खटाउनुपर्छ। एउटा ब्ल्याङ्केट दिनु वा एउटा सिरक दिनु भनेको उद्धार गर्नु होइन। त्यसैले, यस्ता संस्थाले बैंक लगायतका सरकारले व्यवस्था गरेका कदम कार्यान्वयन हुने संस्थाहरुसँग सहकार्य गरेर काम गर्न आवश्यक छ।


बैंकमा गर्नुपर्ने कागजी काम किसानले गर्न सक्दैनन्। बैंकले पनि यसमा समय र खर्च ज्यादै हुने हुनाले सरकारी व्यवस्थालाई कार्यान्वयन गरिरहेका छैनन्। यस्तो अवस्थामा यी संघसंस्थाहरुले किसान र बैंकको पुल बनेर आवश्यक प्रशासनिक तथा कागजी काम मात्रै गरिदिने हो भने बैंकले पनि ऋण दिन सहज मान्थे, र कृषकले पनि ऋण पाउन सजिलो हुन्थ्यो। ऋण पाएपछि उनीहरुले लगानी गरेर उत्पादन बढाउन सक्छन्।


अर्कोतिर हेर्दा, अहिले होटल म्यानेजमेन्टका पढाइ हुने संस्थाहरु खुलिरहेका छन्। तर, कृषिलाई लिएर यस्ता संघसंस्थाको सञ्चालन भइरहेको छैन। सिटिईभिटीसँग कृषि पेशाको विषयमा व्यवस्था छ। केही परीक्षण पनि छन्। सरकारले सिटिईभिटीलाई यो काममा लगानी पनि गरेको छ। तर, सिटिईभिटीकै तर्फबाट कृषिका कार्यक्रमहरु धेरै भएका छैनन्। यस्ता अन्य निकाय पनि छन्। सरकारले ती निकायमा अवलोकन गर्न आवश्यक छ, र कृषि क्षेत्रमा छुट्याइएको बजेटलाई तालिम गरेको जस्तो गरेर फोटो खिच्ने कुरामा मात्रै खर्च भएको छ-छैन भन्ने हेर्न आवश्यक छ।


सँगै केही साल्ट ट्रेडिङजस्ता सरकारी संस्था जुन कृषि क्षेत्रसँग जोडिएका छन्, तिनीहरुलाई कृषकसँग जोड्न पनि आवश्यक छ।


सरकारसँग पर्याप्त मात्रामा भएका तयारी, योजना र नीतिलाई कागजमा मात्रै सीमित नगरी व्यवहारमा लागू गरेमा कृषि क्षेत्रको विकास पनि हुन्छ, र नेपाली बजारको उत्पादनसँगै निर्यात पनि गरी अर्थतन्त्र बलियो बनाउन सकिन्छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes