तालै तालको सहर हो पोखरा। र, पोखराको पहिचान हो फेवा ताल।
माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरि हिमालको प्रतिविम्बले यसको सौन्दर्य झनै बढाइदिन्छ।
हिमालको छाया र चिसो हावाको मजा लिँदै फेवा तालमा डुंगा खियाउनेहरूको ताँती नै लाग्छ।
तालको बीचमा रहेको तालबराही मन्दिरमा दर्शन गर्न डुंगा नचढी उपाय पनि छैन।
आन्तरिक होऊन् कि विदेशी, पहिलोचोटि पुगेका होऊन् कि अनगिन्ती, फेवाले मोहनी लगाइहाल्छ।
मनसुन बाहिरिएर मौसम पनि खुलेका बेला अहिले मुस्ताङ, मर्दी, अन्नपूर्ण पदयात्रा साथै ढोरपाटन जानेहरूका लागि पनि एक दिनको ‘स्टे’ पोखरा र फेवा आसपासको लेकसाइड नै भएको छ।