काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

शैली

संगीत– कम समयमै बढी पैसा कमाइने माध्यम

१२ पुष २०८२
बायाँबाट क्रमशः गायक गायिकाहरू प्रकाश दूतराज, शान्तिश्री परियार, रचना रिमाल, दुर्गेश थापा, समीक्षा अधिकारी, प्रकाश सपूत र अस्मिता अधिकारी
अ+
अ-

झापा, चन्द्रगढीमा हुर्किएकी रचना रिमाल माटोको गारो हालेको आफ्नो पुरानो घर हेर्दै सोच्थिन्छरछिमेकका सबै विदेश गएर पक्की घर बनाइरहेका छन्। म पनि विदेश गएर त्यस्तै घर बनाउँछु।

तर, रिमाललाई पक्की घर बनाउन विदेश जानै परेन। ‘फोटो फिरेममा’ गीतबाट चर्चा कमाएकी उनी संगीतमा लागेको चार वर्षमै पक्की घर बनाउन सफल भइन्। ‘सानैदेखि बाबा-ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन, तर सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ,’ सामाजिक सञ्जालमै खुसी साट्दै उनले लेखेकी थिइन्।

२०७४ सालमा सपुतसँगै पहिलो गीत ‘बोल माया’ रेकर्ड गराएकी उनले सात वर्षमै काठमाडौँको गोंगबुमा चार करोड रुपैयाँको घर किनिन्। उता, गाउँमा डेरामा बस्ने आमाबुबाका लागि समेत घर बनाइदिइन्। उनी भन्छिन्, “म त धुलोबाट उठेको मान्छे। यो सबै संगीतकै कमाइले हो।”

कक्षा १० मा हुँदा गीत रेकर्ड गरेर सांगीतिक यात्रा सुरु गरेकी गायिका रिमाल कम उमेरमा सफलता पाउने गायिकामध्येकी हुन्। नेपाल आइडलको सिजन ३ को अन्तिम आठसम्म पुगेकी उनका लागि यो रियालिटी सो धेरै श्रोतामाझ पुग्ने माध्यम बन्यो।

संगीतबाट चम्केर सिनेमामा अभिनयसमेत गर्न थालेका प्रकाश सपुतले त एक समय विदेश जान सेक्युरिटी गार्डको तालिम नै लिएका थिए। तर, उमेर कम भएका कारण अयोग्य ठहरिएपछि बाग्लुङका सपुतले दोहोरी साँझमा काम गर्न थाले। काम गर्दागर्दै गीत रेकर्ड गराउन थाले। २०७४ सालमा ‘बोल माया’ चलेपछि उनको दिन फेरियो। त्यसयता उनका ‘गलबन्दी’, ‘कुरा बुझ्न पर्छ’, ‘मेरो पनि हैन र यो देश?’ लगायत गीत जनजिब्रोमा झुन्डेका छन्। मजदुरी गर्न विदेश जाने तर्खरमा रहेका उनी अहिले गीत गाउँदै देशदेशावर डुलिरहेका छन्।

सांगितिक प्रस्तुतिका क्रममा प्रकाश सपूत

बोल माया सार्वजनिक भएको चार वर्ष नबित्दै सपुतले ४९ लाख रुपैयाँको गाडी किनेपछि सामाजिक सञ्जालमा लेखे, ‘यो गाडी नै मेरो पहिलो नयाँ सवारी साधन हो। गाडी देखाउनका लागि किनेको होइन। मजस्तै निम्न तहबाट उठेर पनि सफलता पाउन सकिन्छ भन्ने प्रेरणा मिलोस् भन्न चाहन्छु।’ त्यसबेला उनले भनेका थिए, ‘झन्डै नौ वर्षअघि करिअर बनाउने सपना बोकेर काठमाडौँ आएको थिएँ। बागलुङबाट नाइट बसको सिट नम्बर ११ मा बसेर काठमाडौँ आएको मलाई अझै याद छ। त्यो बेला मलाई सेलिब्रेटीहरूले मात्र राम्रो गाडी चढ्छन् भन्ने लाग्थ्यो। बाटोमा राम्रो अनि चिल्लो गाडी देख्दा पनि हेरिरहन्थेँ।’

अहिले सर्वाधिक रुचाइएकी गायिका शान्तिश्री परियारको आर्थिक अवस्था त रिमाल र सपुतको भन्दा पनि नाजुक थियो। रोल्पाको विकट गाउँको विपन्न परिवारमा जन्मेकी उनले गुजाराका लागि गिट्टी कुट्ने कामसमेत गर्नुपरेको थियो। गीत गाउने सपना बोकेरै काठमाडौँ आएकी उनको सुरुका केही वर्ष दोहोरीसाँझमै गाएर बित्यो।

२०७४ सालमा सपुतसँगै पहिलो गीत ‘बोल माया’ रेकर्ड गराएकी उनले सात वर्षमै काठमाडौँको गोंगबुमा चार करोड रुपैयाँको घर किनिन्। उता, गाउँमा डेरामा बस्ने आमाबुबाका लागि समेत घर बनाइदिइन्। उनी भन्छिन्, “म त धुलोबाट उठेको मान्छे। यो सबै संगीतकै कमाइले हो।”

सांगीतिक प्रस्तुति दिइरहेको शान्तिश्री परियार

रिमाल, सपुत र परियार संगीतमा लागेर नाम-दाम दुवै कमाउने नयाँ पुस्ताका प्रतिनिधि पात्र मात्रै हुन्। यो सूचीमा दुर्गेश थापा, अस्मिता अधिकारी, मेलिना राई, अर्जुन सापकोटा, प्रकाश दुतराज, महेश काफ्ले, एलिना चौहानको नाम अग्रपंक्तिमा आउँछ।

गायक अर्जुन सापकोटा ‘झलिको’ को सफलतापछि बजारमा आफ्नो माग बढेको बताउँछन्। भन्छन्, “गीत त पहिला पनि हिट थिए, तर झलिकोले सम्पत्ति जोडौँ भन्ने हिम्मत आएको छ।”

मेलामहोत्सवको व्यस्तता

संगीतमा लाग्नेहरूका लागि १ वैशाखदेखि नै मेला-महोत्सवको याम सुरु हुन्छ। नयाँ वर्षमा इन्डोर होस् वा सार्वजनिक स्थलमा हुने कन्सर्ट, चलेका संगीतकर्मीहरूकै माग हुन्छ। गायिका परियार भन्छिन्, “बर्खाको बेला एकदुई महिना मात्र हो, तिज लागेपछि बढेको व्यस्तता फागुन-चैतसम्मै चल्छ। मेलामहोत्सवले मजस्तै धेरै गायक-गायिकालाई व्यस्त बनाउँछ।”

‘दुस्मन हेरेकोहेर्‍यै’ गीत ग्लोबल ट्रेन्डिङमा परेर चर्चा कमाएका दुर्गेश थापाको व्यस्तता दोब्बर भएको छ। गत वर्ष उनी एकै दिन दुई फरक ठाउँ हेटौँडा र नुवाकोट, अनि स्याङ्जा र अर्घाखाँचीमा प्रस्तुति दिन हेलिकोप्टरमा गएको खबरले चर्चा पाएको थियो।

तीन हजारभन्दा बढी गीत गाइसकेकी शान्तिश्री स्टेज र रेकर्डिङ स्टुडियो दुवैमा व्यस्त गायिका हुन्। गत मंगलबार धनगढी महोत्सवबाट अबेर काठमाडौँ आइपुगेकी परियार विमानस्थलबाट लगेजसहित रेकर्डिङ स्टुडियो पुगिन्। आफ्नो व्यस्तताबारे फेसबुकमा जानकारी दिँदै उनले लेखिन्, ‘काठमाडौँ आएको बेलामा रेकर्डिङ पनि गरिहाल्नुपर्छ।’ बुधबार फेरि उनको अर्को स्टेटस आयो, ‘मीठा चार वटा गीतको रेकर्डिङ सम्पन्न गरियो।’

गायिका रिमाललाई पनि भ्याइनभ्याइ छ। पुस २ गते रुपन्देही तिलोत्तमा नगरपालिकामा प्रस्तुति दिएकी उनी ४ गते चिसापानी र ५ गते कास्कीको भदौरे पुगिन्। उनले पुसको तेस्रो सातासम्म पूर्वदेखि पश्चिमसम्मका विभिन्न सहरमा प्रस्तुति दिने तय भइसकेको छ।

रिमाल पुसको २० दिन त महोत्सवमै बित्ने बताउँछिन्। महोत्सवमा व्यस्त हुँदा रेकर्डिङको काम भने थुप्रिने गरेको छ। भन्छिन्, “एकै दिन आठ वटा गीतसमेत रेकर्ड गरेकी छु।”

गायिका रचना रिमाल

हरेक वर्ष दसैँतिहारपछि चिसो मौसम सुरु भएसँगै विभिन्न जिल्लामा व्यापार एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न मेलामहोत्सवको आयोजना गरिन्छ। संगीत यस्ता महोत्सवको मुख्य आकर्षण हो। सातदश दिन चल्ने यी महोत्सवमा चल्तीका कलाकारको प्रस्तुति होस् भन्ने आयोजक र दर्शकहरूको चाहना हुन्छ। यो रमझमले चैतसम्मै निरन्तरता पाउँछ।

यस वर्षको चिसोमा पनि देशैभर सांगीतिक माहोल तात्तिइसकेको छ। चल्तीका गायक-गायिकाको सामाजिक सञ्जाल अहिले यिनै मेला-महोत्सवका प्रस्तुतिहरूको तस्बिरले रंगिएको देखिन्छ।

‘दुस्मन हेरेकोहेर्‍यै’ गीत ग्लोबल ट्रेन्डिङमा परेर चर्चा कमाएका दुर्गेश थापाको व्यस्तता दोब्बर भएको छ। गत वर्ष उनी एकै दिन दुई फरक ठाउँ हेटौँडा र नुवाकोट, अनि स्याङ्जा र अर्घाखाँचीमा प्रस्तुति दिन हेलिकोप्टरमा गएको खबरले चर्चा पाएको थियो। यो वर्ष पनि उनको ‘क्रेज’ घटेको छैन। लुम्बिनी, सुदूरपश्चिमलगायत देशका विभिन्न सहरदेखि सिक्किमका नेपालीमाझ उनले आफ्ना गीत सुनाइसके। उनका ‘जाने भए जाम माया,’ ‘बिच्चबिच्चमा’ लगायत गीत चर्चित छन्।

सांगीतिक प्रस्तुतिमा झुमिरहेका प्रकाश दुतराज

संगीतदेखि सिनेमासम्म व्यस्त सपुतले फेसबुकमा १११९ पुससम्मको ‘प्रकाश सपुत मेला यात्रा २०८२’ को तालिका सार्वजनिक गरिसकेका छन्। यसक्रममा उनी १० फरक ठाउँका स्रोतामाझ पुग्नेछन्। भर्खरै उनले ताप्लेजुङको ५२ वर्ष पुरानो पुसे मेला र बिर्तामोड फुड फेस्टिभलमा प्रस्तुति दिएका थिए।

पछिल्लो समय श्रोताले रुचाएको ‘शिरमा शिरबन्दी’ की गायिका समीक्षा अधिकारी पनि स्टेज कार्यक्रम र रेकर्डिङमा व्यस्त हुने कलाकारमा पर्छिन्। ७११ पुसदेखि क्रमशः पोखरा, बुटवल, नेपालगन्ज, अत्तरिया, विराटनगरका श्रोतामाझ पुगिन्। उनका ‘बुझिनँ मैले’, ‘नबोली नबोली’, ‘दुस्मन हेरेकोहेर्‍यै’ लगायत गीत चर्चित छन्।

सांगीतिक प्रस्तुतिका क्रममा गायिका समीक्षा अधिकारी

दुई साताअघि सुदूरपश्चिम महोत्सवमा उपस्थिति जनाएकी गायिका अस्मिता अधिकारीले १८ पुसमा पाँचथरमा प्रस्तुति दिनेछिन्। ‘तिम्रो मायाले बाँधेर राख’, ‘अल्लि वर आऊ माया’, ‘साली मन पर्‍यो’ जस्ता हिट गीतकी गायिका अधिकारी यसैबीच काठमाडौँमा क्रिसमस र अंग्रेजी नयाँ वर्षका कार्यक्रमहरूमा पनि व्यस्त छिन्।

‘घर कता हो बैनीको’, ‘रिमै’ जस्ता गीत दिएका प्रकाश दुतराज पनि महोत्सवमा व्यस्त छन्। उनी यही मौसममा बुटवल, कपिलवस्तु, सुनवल, सुर्खेत, लमजुङ, भदौरेलगायत ठाउँका कार्यक्रममा सहभागी भइसकेका छन्।

सामाजिक सञ्जालमा हेर्दा अहिले धेरै गायक-गायिका विदेश यात्रा गरिरहेको या यात्राको सँघारमा रहेको भेटिन्छ। देशभित्र चर्चा कमाएका धेरै कलाकार युरोप, अमेरिका, जापान, दुबईलगायत देशमा आउजाउ गरिरहेका छन्।

पछिल्लो समय ‘झलिको’ गीतबाट चर्चा बटुलेका गायक अर्जुन सापकोटा अघिल्ला वर्षहरूभन्दा व्यस्त छन्। हालै बुटवल, धनगढी, दाङलगायत सहरमा प्रस्तुति दिइसकेका उनी बुधबार पोखराको लेखनाथ महोत्सवमा उपस्थित भए। त्यसपछि पर्वत, चितवन, अर्घाखाँची, बागलुङ, कोहलपुरलगायत ठाउँमा उनी २२ पुससम्मका लागि फुर्सद नै नभएको बताउँछन्। भन्छन्, “यो समयमा पहिला पनि भ्याइनभ्याइ हुन्थ्यो। तर, अहिले झलिको सुनाउन आइदिनुपर्‍यो भन्नेहरू एकदमै धेरै हुनुहुन्छ।”

देशका विभिन्न भेगमा आयोजना हुने कृषि, प्रविधि, पर्यटन, व्यापार एक्स्पोलगायत सांस्कृतिक मेलाहरूमा चल्तीका धेरै कलाकार एउटै मञ्चमा समेत देखिन्छन्। यस्ता मेला-महोत्सव स्थानीयस्तरमा पनि आम्दानी र प्रचारप्रसार गर्ने महत्त्वपूर्ण थलो हो। सांगीतिक प्रस्तुतिसँगै यहाँ खानेकुरा, कपडादेखि स्थानीय उत्पादनका चिजबिज प्रदर्शन र बिक्रीका लागि राखिन्छन्। कलाकारजस्तै यो बेला कार्यक्रम प्रस्तोताहरूसमेत व्यस्त हुन्छन्।

दुबईमा सांगीतिक प्रस्तुति दिइरहेकी गायिका मेलिना राई

गायक सापकोटा यी महोत्सवमा पाँचसात हजारदेखि ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने बताउँछन्। कार्यक्रममा दर्शकको उपस्थिति राम्रो भएको खण्डमा टिकटबाटै लाखौँ रुपैयाँ उठ्छ।

“धनगढीको महोत्सवमा ७० हजारभन्दा बढी मान्छे आएको आयोजकहरूले बताउनुभएको थियो। ४२ लाखको टिकट काटिएको थियो रे!’ गायिका परियार भन्छिन्।

कलाकार र आयोजकहरू यस्ता कार्यक्रममा गायक-गायिकालाई दिने रकमबारे खुलाउन चाहँदैनन्। अनौपचारिक कुराकानीका सन्दर्भमा भने कलाकारको माग हेरेर कम्तीमा ५० हजारदेखि डेढ लाखसम्म कमाउने देखिन्छ। हिउँदे मेला-महोत्सवहरूमा एक जना कलाकारले २० भन्दा बढी ठाउँमा प्रस्तुति दिन्छन्। क्यासेट बिक्री भएर कमाउने अवस्था नभएका बेला धेरै कलाकारलाई यस्ता महोत्सव आर्थिक टेवासँगै लाखौँलाख श्रोता-दर्शकमाझ पुर्‍याउने माध्यम बनिरहेका छन्।

यस्ता मेलामहोत्सव र कन्सर्टले श्रोता, दर्शक र कलाकारलाई भावनात्मक रूपमा जोड्ने काम गर्छ। श्रोता-दर्शकले आफूलाई मन पर्ने गायक-गायिकालाई देख्ने, भेट्ने मौका पाउँछन्। सामाजिक सञ्जालको सुविधाले गर्दा कन्सर्टपछि पनि कलाकार र दर्शकबीच तस्बिर र कमेन्टबाट संवाद भइरहेको हुन्छ।

देशमा ‘हिट,’ विदेशमा माग

सामाजिक सञ्जालमा हेर्दा अहिले धेरै गायक-गायिका विदेश यात्रा गरिरहेको या यात्राको सँघारमा रहेको भेटिन्छ। देशभित्र चर्चा कमाएका धेरै कलाकार युरोप, अमेरिका, जापान, दुबईलगायत देशमा आउजाउ गरिरहेका छन्।

प्रकाश दुतराजले भर्खरै दुबईमा प्रस्तुति दिए। एलिना चौहान क्यानडा पुगेकी छन्। प्रकाश सपुत होलीको अवसरमा अस्ट्रेलियामा गलबन्दी टुर गर्दै छन्।

विदेशमा बस्ने श्रोता-दर्शकका लागि नेपाली संगीत मनोरञ्जनबाहेक जन्मभूमि र नेपाली भाषा र संस्कृतिसँग जोडिने माध्यम पनि हो। मन परेका कलाकारलाई प्रत्यक्ष देख्न र सुन्न पाउने अवसर त छँदै छ।

गत वर्ष ५० दिन अमेरिकामा बिताएकी शान्तिश्री परियारको यस वर्षको एक महिना युरोपमा बितिसकेको छ। अब उनको यात्रा दक्षिण कोरिया र हङकङतर्फ हुनेछ।

गएको भदौमा बेलायतमा दुई हप्ता बिताएका दुर्गेश थापा असोजभर अमेरिका बसे। त्यहाँ उनले ११ सहरमा प्रस्तुति दिए।

कलाकार दुर्गेश थापा

यस वर्षको सुरुमै क्यानडा पुगेकी रचना रिमाल त्यसपछि युरोपका आठ देश पुगेकी थिइन्। जापानको यात्राको तयारीमा रहेकी उनी भन्छिन्, “अचेल दुईचार महिना त विदेशमै बित्छ।”

अंग्रेजी नयाँ वर्षको सन्दर्भमा जापान जान लागेकी समीक्षा अधिकारी १६१८ पुसमा क्रमशः ओसाका, नागोया र टोकियोमा गुन्जिनेछिन्।

‘तीनपाते’, ‘फूलथुंगे रानी’ जस्ता गीतका गायक सुजन चापागाईंले हालै सिक्किमका दर्शकलाई झुमाए। जनवरी पहिलो साता उनी लन्डनका दर्शकमाझ हुनेछन्।

दक्षिण कोरियाको सिओलमा प्रस्तुति दिइरहेका सुजन चापागाईं

गत वर्ष फागुनमा विवाह गरेका महेश काफ्ले र अस्मिता अधिकारी आफूहरूलाई अचेल सामूहिक रूपमा विदेशबाट निम्तो आउने क्रम बढेको बताउँछन्। महेश भन्छन्, “यो वर्ष हामीले ओमान र अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दियौँ।” यो जोडी सांगीतिक प्रस्तुतिकै लागि जापान उड्ने तयारीमा छ।

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले

विदेशमा बस्ने श्रोता-दर्शकका लागि नेपाली संगीत मनोरञ्जनबाहेक जन्मभूमि र नेपाली भाषा र संस्कृतिसँग जोडिने माध्यम पनि हो। मन परेका कलाकारलाई प्रत्यक्ष देख्न र सुन्न पाउने अवसर त छँदै छ।

विदेशमा हुने कार्यक्रमहरूमा कतै चारपाँच सयदेखि हजारौँको संख्यामा नेपाली दर्शक उपस्थित हुने अस्मिता बताउँछिन्। भन्छिन्, “डलासको मोमो फेस्टमा १५ हजार बढी मान्छे हुनुहुन्थ्यो। भर्जिनियाको अर्को महोत्सवमा पनि १० हजारभन्दा बढीको उपस्थिति थियो।”

कोरियालगायत विदेश यात्राको तयारीमा रहेकी शान्तिश्रीको अनुभव पनि फरक छैन। भन्छिन्, “संघर्षको एउटा तह पार गरी, अप्ठ्यारा दिनमा धैर्य नगुमाई मेहनत गरिरह्यो भने संगीतमा नाम र दाम मात्रै छैन, संसारभरिका श्रोता-दर्शकको माया र सम्मान पनि छ।”

महेश नेपालसँग तुलना गर्छन्, “नेपालभन्दा विदेशमा दर्शक अलि कम हुन्छन्। तर, त्यहाँको माया विशेष हुन्छ। नेपाली कलाकारलाई देख्दा उहाँहरूको आँखामा, बोलीवचन र व्यवहारमा छुट्टै माया प्रकट भइरहेको हुन्छ।” विदेशमा पारिश्रमिक पनि नेपालको भन्दा तीनचार गुणासम्म बढी हुने उनी बताउँछन्।

शान्तिश्री जति गीत हिट भयो, उति पैसाको मोलमोलाइ बढी गर्न पाइने अनुभव सुनाउँछिन्। “सुरुसुरुमा आयोजकले जति भन्यो, त्यतिमै काम गर्थें। अहिले पैसामा चित्त बुझेपछि मात्र कार्यक्रममा गइन्छ।” उनी कलाकार जति लोकप्रिय भयो, उति बढी पैसा पाउने बताउँछिन्। भन्छिन्, “चलेका कलाकारको माग धेरै ठाउँमा हुन्छ। जति धेरै ठाउँ गयो, जति लामो यात्रा भयो कमाइ पनि त्यति धेरै हुन्छ,” उनी भन्छिन्।

चुनौती पनि

गीत चल्नु अवसरसँगै चुनौती पनि हो भन्छन् अर्जुन सापकोटा। ‘वनकी चरी’, ‘पछ्यौरी लिस्स्यो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’ जस्ता हिट गीत पहिल्यै दिइसकेका उनी ‘झलिको’ को सफलतापछि थप चुनौती बढेको बताउँछन्।

गायक अर्जुन सापकोटा

“झलिकोले मलाई जुन परिचय दियो, यो मायासँगै विदेशबाट पनि धेरै कार्यक्रमका लागि निम्तो आइरहेको छ,” उनी भन्छन्, “तर, अहिले प्रतिस्पर्धा बढी छ। एकपटक मात्र हिट भएर फुर्किन मिल्दैन। हरेकपटक राम्रो सिर्जनाका लागि मेहनत बढी गर्नुपर्छ।”

जापान यात्रा गर्न लागेकी रचना रिमाल वर्षमा दुईचार महिना त विदेशमा हुने कार्यक्रममै बित्ने बताउँछिन्।

“सोचेको सपना, देखेको कुरा सबै पुगिरहेको छ,” रचना भन्छिन्, “यसका लागि मेहनत, निरन्तरता र धैर्य पनि चाहिन्छ।”

कोरियालगायत विदेश यात्राको तयारीमा रहेकी शान्तिश्रीको अनुभव पनि फरक छैन। भन्छिन्, “संघर्षको एउटा तह पार गरी, अप्ठ्यारा दिनमा धैर्य नगुमाई मेहनत गरिरह्यो भने संगीतमा नाम र दाम मात्रै छैन, संसारभरिका श्रोता-दर्शकको माया र सम्मान पनि छ।”