आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ।
थकान : तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ।
आँखा दुखाई : दृष्टिसँग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ। खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ।
क्याफिन र अल्कोहल : विज्ञहरूका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ।
सुक्खा आँखा : बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन्। कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ। यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ।
पोषकतत्वको असन्तुलन : म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ। यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रूपमा पुष्टि हुन सकेको छैन।
एलर्जी : आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ।
त्यसैले आँखा फरफराउने समस्या बढी देखिन थाल्यो भने तत्काल नेत्र चिकित्सककहाँ गइहाल्नुहोस्।