काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ श्रावण २०८२
अ+
अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ ।
द्विपक्षीय भेटवार्ता पश्चात् चार वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गरिएको अर्थमन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

चितवनको भरतपुरस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको अर्थमन्त्रालयले बताएको छ । उक्त समझदारी पत्रमा नेपालको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् ।

भरतपुरस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक हजार ८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुने छ । यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्ने अपेक्षा छ । त्यस्तै, निजामती कर्मचारी अस्पताल विस्तारको सम्भाव्यता अध्ययन समेत हुने छ । यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सोही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको अर्थ मन्त्रालयले बताएको छ । यसबाट एक हजार २७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गर्नेे द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुने बताइएको छ । यसले कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको अर्थमन्त्रालयले बताएको छ ।

त्यसैगरी, रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् । यो सम्झौता पछि रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्ने बताइएको छ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गरेकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिएका थिए । चीनबाट भएको उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाईमा पुर्याउने पौडेलेको भनाई थियो । त्यसैगरी, अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने बताए ।