काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

मार्सीको साट्टो हाइब्रिड धान विकास गर्न सरकार नै सक्रिय भए पनि रैथाने किसानहरूको लगाव भने जुम्ली मार्सीमै

७ भाद्र २०८२
धान रोपिरहेका जुम्लाका किसान। तस्बिरहरू : कलेन्द्र सेजुवाल/नेपालन्युज
अ+
अ-

जुम्ला। सरकारले उत्पादन बढाउन उन्नत जातका धानको प्रवर्द्धन गरिरहँदा जुम्लाका किसान मार्सी धान जोगाउने अभियानमा लागेका छन्। यहाँका किसानको सरकारसँग आग्रह छ- रैथाने मार्सीको विकल्प खोज्ने होइन, बरु यसको उत्पादकत्व बढाउने नीति–कार्यक्रम ल्याइयोस्।

चन्दननाथ नगरपालिका–९, श्रीढुस्काका चन्द्रप्रसाद रेग्मीले १५ वर्षसम्म उन्नत जातको धान लगाए। मार्सीभन्दा उन्नत जातको धान बढी पनि फल्यो। तैपनि, दुई वर्षदेखि उनले फेरि रैथाने मार्सी लगाउन सुरु गरेका छन्। उनी भन्छन्, “उन्नत जातको मार्सी धानको स्वाद पनि त्यति राम्रो छैन, माटोको उर्वराशक्ति पनि घटेर गयो।”

जेठ तेस्रो साता रोपाइँमा व्यस्त भेटिएका रेग्मीले उत्पादन बढाउने बहानामा सरकार रैथाने मार्सी मास्न उद्दत रहेको आरोप लगाए। उन्नत प्रजातिको धान प्रोत्साहन गर्ने सरकारी नीति भए पनि पछिल्लो समय किसानहरू उत्पादन बढाउनेभन्दा जुम्लाको पहिचान बनेको मार्सी जोगाउने अभियानमा सक्रिय भएका हुन्। किसानहरू सरकारले विकास गरेको उन्नत जातको धानलाई ‘नक्कली मार्सी’ मान्छन्। उत्पादन थोरै भए पनि ‘सक्कली मार्सी’कै खेती गर्नुपर्छ भन्ने उनीहरूको मत छ। श्रीढुस्काका रत्नप्रसाद चौलागाईं उन्नत जातको धान छोडेर रैथाने मार्सीमा फर्किने अर्का किसान हुन्। भन्छन्– “हामीले १०–१५ वर्षसम्म ‘नक्कली मार्सी’ बेच्यौं, यसले केही आम्दानी भए पनि मार्सीको पहिचान मेटियो, यस वर्षदेखि रैथाने मार्सी लगाउन थालेको छु।”

रैथाने मार्सी र हाइब्रिड धानको द्वन्द्वले जुम्लामा कृषि आधुनिकीकरण वा रैथाने बाली संरक्षणको बहस चर्किएको हो। जुम्लाका लागि यसले विशेष महत्त्व राख्छ। परम्परागत मार्सी धान करिब १०९० सालदेखि यहाँ उत्पादन हुँदै आएको छ।
सरकारको सक्रियतामा विसं २०६० को दशकदेखि रैथाने मार्सी फल्ने जुम्लाका खेत (ज्यूलो)मा नयाँ जातका धान रोप्न थालिएको हो। अहिले जुम्लाका किसानले चन्दननाथ–१, चन्दननाथ–३, लेकाली धान–१ र लेकाली धान–३ रोप्दै आएका छन्। सरकारले गत वर्ष रैथाने मार्सीको ‘जीन ट्रान्सफर’ गरेर जुम्ली मार्सी–१८, जुम्ली मार्सी–२० र जुम्ली मार्सी–२२ जस्ता हाइब्रिड धान विकास गरेको छ। रैथाने मार्सीको साटो यिनै धान लगाउन बीउ वितरण गरिएको छ।

मार्सीका विकसित थरीथरीका प्रजाति

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले मार्सीका नाममा यी नयाँ प्रजातिका धान विकास गरेको हो। नार्कको जुम्लास्थित कृषि अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक डा. नवराज आचार्यका अनुसार मरुवा रोग (ब्लास्ट)ले रैथाने मार्सीलाई नष्ट गरेपछि मरुवा रोग प्रतिरोधात्मक उन्नत जातका धान विकास गरिएको हो। आचार्य भन्छन्, “उन्नत जातको धानको उत्पादकत्व रैथाने मार्सीको तुलनामा दोब्बर बढी हुन्छ, मरुवा रोगको प्रकोप देखिँदैन।”

नार्कको अध्ययनअनुसार जुम्लाको रैथाने मार्सीको उत्पादकत्व प्रतिहेक्टर २.५ मेट्रिक टन छ। उन्नत जातको धानको उत्पादकत्व यसभन्दा दोब्बर हुन्छ। हेर्दा मार्सीजस्तै देखिए पनि उन्नत जातको धानको स्वाद र पौष्टिकता फरक हुन्छ।
त्यसैले किसानहरू मार्सी जोगाउने अभियानमा जुटेका हुन्। तातोपानी गाउँपालिका–२, सुन्दरगाउँका अमृत सार्की पनि रैथाने मार्सी खेती गरिरहेका जुम्ली किसान हुन्। छिमेकीले बढी फलाउने नाउँमा उन्नत जातको धान लगाए पनि उनले रैथाने मार्सी फलाउन छोडेका छैनन्। उनको दृढता छ, “बरु थोरै उत्पादन होस् तर मार्सी नै लगाउने हो।”

सरकारी तथ्याङ्कले जुम्लामा धान उत्पादन बढेको देखाउँछ भने मार्सी धान उत्पादन अपेक्षाकृत स्थिर छ।

विकासे धान फलाउन सरकार अग्रसर भएकामा उनी चिन्तित छन्। “सरकारले मार्सी मास्ने होइन, जोगाउनेतिर लाग्नु पर्थ्यो तर यसमा सरकार चुकेको छ,” उनी भन्छन्, “मैले त कहिल्यै पनि मार्सी लगाउन छोडिनँ, अरू किसानलाई पनि रैथाने मार्सी नै लगाउन प्रेरित गरिरहेको छु।”

मार्सीका नाममा बजारमा मार्सीजस्तै देखिने रातो चामल बिक्री–वितरण हुने गरेको छ। यसले रैथाने मार्सीको सक्कली पहिचानमाथि चुनौती थपिएको छ।

नार्कको जुम्लास्थित कार्यालयका अनुसार गत वर्ष इन्हान्स्ड जुम्ली मार्सी–१८, इन्हान्स्ड जुम्ली मार्सी–२० र इन्हान्स्ड जुम्ली मार्सी–२२ को विकास गरिएको छ। तीनवटै जातका धान रैथानै मार्सीको ‘जीन’ ट्रान्सफर गरेर विकास गरिए पनि ती हाइब्रिड हुन्। “सरकारले विकास गरेका मार्सीका तीनवटै नयाँ धानमा रैथाने मार्सीको स्वाद र पौष्टिकता छ। ‘मास मार्कर एसिस्टेड सेलेक्सन’ विधिको प्रयोग गरेर नयाँ जातका धानको विकास गरिएको हो,” नार्कका जुम्ला प्रमुख वैज्ञानिक आचार्यको प्रष्टोक्ति छ।

जुम्लास्थित कृषि अनुसन्धान केन्द्र

नार्कले विकास गरेका मार्सी जातका यी तीनथरि धानलाई सरकारले उत्पादनका लागि आमकिसान समुदायमा सिफारिस गरिसकेको छैन तर नार्कले यी तीनथरी धानको बीउ भने स्थानीय किसानलाई वितरण गरिसकेको छ। प्रमुख वैज्ञानिक आचार्यका अनुसार यस वर्ष जुम्ली मार्सी–१८ र जुम्ली मार्सी–२० को १०–१० केजी तथा जुम्ली मार्सी–२२ को २० केजी बीउ वितरण गरिएको छ।

२०७० सालमा असिनापानीले जुम्लाको ७० प्रतिशत धानबाली नष्ट गर्‍यो। किसानलाई लाग्यो– मार्सीमा ब्लास्ट रोगको संक्रमणमात्र होइन, असिना–पानीले पनि क्षति गर्दो रहेछ। संयोग नै मान्नुपर्छ, त्यसको अर्को वर्ष २०७१ सालमा सरकारले लेकाली धान–१ र लेकाली धान–३ सहित थप दुई धानको सिफारिस गर्‍यो। समुद्री सतहबाट १ हजार ५ सय मिटरदेखि २ हजार ६ सय मिटरसम्म उत्पादन हुने यस धानले किसानलाई आकर्षित गर्‍यो। सरकारले विकास गरेको उन्नत जातको धान लगाएका किसानले माटोको उर्वराशक्ति ह्रास भएको बताउन थालेका छन्। माटो परीक्षणपछि यसको वास्तविकता थाहा हुनेछ।

किसानका साथसाथै सरकारको नीतिले पनि मार्सीको भविष्य निर्धारण गर्नेछ।

सरकारी तथ्याङ्कले जुम्लामा धान उत्पादन बढेको देखाउँछ भने मार्सी धान उत्पादन अपेक्षाकृत स्थिर छ। आर्थिक वर्ष २०७८/७९ मा ६ हजार २ सय ५० मेट्रिक टन, २०७९/८० मा ६ हजार ४ सय मेट्रिक टन, २०८०/८१ मा ५ हजार ९ सय मेट्रिक टन र २०८१/८२ मा ५ हजार ९ सय ८७ मेट्रिक टन धान फल्यो। तथापि, कृषि विकास कार्यालयका अनुसार पछिल्ला चार वर्षमा परम्परागत मार्सीको उत्पादन वार्षिक मात्र २ हजार मेट्रिक टनमा स्थिर छ। जिल्लाभरि २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुन्छ।

जुम्लाको रैथाने मार्सी अन्यत्र फल्दैन। समुद्री सतहदेखि २ हजार ७ सय ९० मिटर उचाइमा फल्ने मार्सी एउटा विशेष बाली नै हो। माइनस ४ डिग्री सेल्सियस तापक्रमसम्म यसको उमार शक्ति हुन्छ। १०९० सालमा चन्दननाथ बाबाले तातोपानी गाउँपालिकाको लाछु ज्युलो (खेत) मा पहिलो पटक मार्सी धानको बीउ राखेको जनविश्वास छ। पहिलो पटक मार्सीको बीउ राखेको लाछु खेतलाई अहिले ‘गुरुफोक्टो’ भनेर चिनिन्छ। तथापि, मार्सीको बीउको परीक्षणपछि १११२ सालदेखि जुम्लामा मार्सीको खेती आम रूपमा सुरु भएको हो। सुरुमा जुम्लाको सबैभन्दा उच्च स्थान लाछु, छुमचौर र हाँकुमा मार्सी उत्पादन गर्न थालिएको थियो भने अहिले मार्सीको उत्पादन जुम्लाभरि नै हुन्छ।

मार्सीको पहिलो बीउ राखिएको भनिएको तातोपानीको ‘गुरुफोक्टो’ क्षेत्रका बासिन्दा तेजेन्द्रबहादुर रावल सरकारको गलत नीतिका कारण सक्कली मार्सी जोखिममा परेको बताउँछन्। जुम्लाको तातोपानीका होटल सञ्चालक उनले मार्सी जोगाउन पाहुनालाई रैथाने मार्सीको स्वाद चखाउँदै आएका छन्। उन्नत जातको धानलाई मार्सी भनेर झुक्याइने गरेकामा उनको गुनासो छ। “मैले होटलमा आउने पाहुनालाई ख्वाउन जुम्लाको रैथाने मार्सी किनेर ल्याउँछु, किसानलाई पनि राम्रै मूल्य दिन्छु,” उनले भने ।

कम उत्पादन भए पनि परम्परागत मार्सीको आर्थिक पक्ष आकर्षक छ। उन्नत जातको चामल स्थानीय बजारमा प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्री हुन्छ भने रैथाने जुम्ली मार्सी २ सय रुपैयाँमा बिक्री हुन्छ। ‘उत्पादन कम भए पनि आर्थिक रूपमा घाटा नहुने’ संरक्षण अभियानका किसानहरू बताउँछन्।

जुम्ली मार्सीलाई उच्च भेगमा मात्र फल्ने अर्ग्यानिक र दुर्लभ अनाजका रूपमा ब्रान्डिङ गरेर विदेशमा निर्यात गर्न सक्दा जुम्ली किसानलाई बढी लाभ हुनेछ। नार्कले २०२० मा गरेको एक अध्ययनअनुसार मार्सी मानव स्वास्थ्यका लागि अत्यधिक लाभदायक छ। तातोपानी गाउँपालिकाकी कृषि शाखा प्रमुख दीपा पौडेल अन्य धानभन्दा रैथाने मार्सीमा प्रोटिन र फाइबर बढी पाइने बताउँछिन्। मार्सीमा पाइने पोलिफेनोल र फ्लाभोनाइड जस्ता यौगिकहरूले स्वास्थ्यलाई अतिरिक्त लाभ पुग्छ।

धान रोप्दै जुम्लाका किसान

“पछिल्लो समय केही किसानमा उत्पादन कम भए पनि मार्सी लगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ,” पौडेल भन्छिन्, “पालिकाले पनि यस्तो सोचलाई प्रोत्साहन गरिरहेछ।”

रैथाने मार्सी धानको भविष्यलाई लिएर जुम्लामा बहस जारी छ। प्राचीन अनाज मार्सी आफ्नो बासस्थानमा फस्टाउँछ वा बिस्तारै हराउँछ? किसानका साथसाथै सरकारको नीतिले पनि मार्सीको भविष्य निर्धारण गर्नेछ।