रोकिएका सवारीसाधनहरू अब गन्तव्यतर्फ अघि बढ्न थाले
चितवन। तुइन खोलामाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड बिहान केही समय रोकिएपछि पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब पौने ७ बजे सडक अवरुद्ध भएको थियो। तर, सडक डिभिजन कार्यालय भरतपुरको टोलीले पहिरो पन्छाएपछि करिब ८ बजेदेखि दुबै तर्फको यातायात सहज भएको जनाएको छ।
सडक खुल्नासाथ रोकिएका सवारीसाधनहरू आफ्ना गन्तव्यतर्फ अघि बढेका छन्। तुइन खोलामुनि यस वर्ष पटक–पटक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध हुने घटना दोहोरिँदै आएको छ।