काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

प्रकाशकीय

नेपालन्युज नेपालकै पहिलो अनलाइन समाचार पोर्टल भए पनि नयाँ व्यवस्थापनको परीक्षा, प्रतिबद्धता र यात्रा भर्खरै सुरु भएको छ।

७ भाद्र २०८२
अ+
अ-

नेपालको पहिलो अनलाइन समाचार पोर्टल नेपालन्युज स्वामित्व परिवर्तनसँगै आजदेखि पुनः प्रकाशनमा आएको खुसी बाँड्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं। हामीलाई थाहा छ, समग्र सञ्चार क्षेत्रले नै आर्थिक संकट बेहोरिरहेका बेला यसखाले खुसी बाँड्न खोज्नु स्वयंमा एउटा दुस्साहस हो। तर, हामी चुनौती मोल्न तयार भएरै नयाँ शैलीको पत्रकारिताको अभ्यास गर्न होमिएका छौं। आफूलाई आमपाठकको मूल्यांकनको कसीमा राखेका छौं।

समाचार पोर्टलको भीडमा अर्को नेपालन्युज किन? प्रश्न अपेक्षित छ। एकातिर देश दलीयकरण, भ्रष्टतन्त्र र दोहनकारी अर्थतन्त्रमा फसेको छ। अर्कातिर, आमपाठकमाझ वास्तविक पत्रकारितामा भन्दा सामाजिक सञ्जालको पहुँच र प्रभुत्व बढ्दो छ। बढ्दो इन्टरनेट पहुँच, डिजिटलाइजेसन, एआई दुरुपयोग, गलत सूचना र आकर्षक हेडलाइन अहिलेका चल्तीका समाचार हुन्, जुन प्रमाणित तथ्यहरूभन्दा भाइरल बनिरहेका छन्।

इन्टरनेट साक्षरता र सचेतनाको अभावमा दिग्भ्रमित पुस्ता निर्माण गरिरहेका छन्। तथ्यभन्दा मिथ्यामा आधारित ‘क्लिकबेट’ हाबी छ। अफवाह, भ्रम फैलाउन नियोजित रूपमा भीड परिचालन गर्ने र यसबाट सत्यलाई आजित तुल्याउने प्रयास भइरहेको पनि हामीले देखे, भोगेकै छौं।

ठीक यही बेला सबल हुनुपर्ने सञ्चारक्षेत्र पनि संशयमा परेको छ। यसबाट साँचो पत्रकारितालाई कसरी जोगाउने? जनमनमा भरोसायोग्य कसरी बनाउने भन्नेबारे लामो विमर्श गर्न सकिएला तर विभिन्न चुनौती र दबाबका बावजुद विश्वसनीय सामग्री सम्प्रेषण नै यसलाई सामना गर्ने अचूक अस्त्र हो भन्नेमा दुईमत देखिन्न। विश्वसनीय पत्रकारिताको भूमिका केवल घटनाको रिपोर्टिङ मात्र होइन- कारण, परिणाम र सन्दर्भको खोजी गर्नु पनि हो, जसका लागि पर्याप्त समय, स्रोत र पेसागत इमानदारीबाट मात्र सम्भव हुन्छ भन्नेमा हामी विश्वस्त छौं।

यी सबै कठिनाइ पर्गेलेर भन्ने हो भने नेपालमा तथ्यपरक र खोजमूलक पत्रकारिताको महत्त्व र जिम्मेवारी अहिलेको जत्तिको आवश्यकता पहिले कहिल्यै थिएन। किनकि, यत्राविधि समस्यासँग एकसाथ जुध्नु पनि परेको थिएन।

नेपालन्युजको यो आगमन यही प्रतिकूलतालाई अनुकूलतामा बदल्ने प्रयास हो। हाम्रो सर्त र लक्ष्य आर्थिक रूपमा फड्को मार्नेभन्दा पनि विचारको स्वतन्त्र आदानप्रदान गर्ने, राज्यशक्तिमा बसेकालाई जवाफदेही बनाउने, शक्तिसामु नझुक्ने र लोकतन्त्रलाई उन्नत बनाउने पोर्टलका रूपमा आफ्नो चिनारी बनाउने हो। यसका लागि हामी समाचार र बजार दुवैमा केही नवीन प्रयोग गर्न खोजिरहेका छौं। जसको परख आदरणीय पाठकवर्गबाट हुने नै छ भन्ने विश्वास लिएका छौं।

नेपालन्युज पुनः थालनीको आजकै दिन संयोगले कवि मोतिराम भट्ट जन्मजयन्तीको अवसर जुरेको छ। यिनै मोतिराम जसले आदिकवि भानुभक्त आचार्यलाई चिनाए अनि नेपाली भाषामा पहिलो मासिक पत्रिका गोरखा भारतजीवन प्रकाशन गरे।

नेपालन्युज नेपालकै पहिलो अनलाइन समाचार पोर्टल भए पनि नयाँ व्यवस्थापनको परीक्षा, प्रतिबद्धता र यात्रा भर्खरै सुरु भएको छ। आशा छ, हाम्रो यो नयाँ यात्रामा तपाईं गुणी पाठक, विज्ञापनदाता सबै सहयात्री बन्नुहुनेछ।

प्रमोदराज सेढाईं
कार्यकारी अध्यक्ष, नेपालन्युज