काठमाडौं। लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक बादलमुनि बागलुङ लोकार्पण भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक न्यौपानेकी आमा पल्लबी न्यौपाने र लेखक भीम न्यौपानेले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्।
कार्यक्रममा शाहले पुस्तक तत्कालीन राष्ट्रिय मनोविज्ञान, पितृसत्तात्मक सामाजिक मनोविज्ञानसँग जोडिएको बताए। बादलमुनि बागलुङलाई शाहले बागलुङको सेरोफेरोमा मात्रै नभएर सिंगो नेपालको दृश्य आँखामा आउने किताबको रूपमा लिएको पनि बताए।
लेखक नयनराज पाण्डेले आम मान्छेको कथामा पनि साहित्य चेत भयो भने संस्करणात्मक पुस्तक बन्न सक्ने भन्दै आफू किताबबाट प्रभावित भएको बताए। त्यसैगरी अर्की वक्ता लेखक तथा अभियन्ता राधा पौडलले पुस्तकले आम मान्छेको अभाव र संघर्षको कथा भन्ने बताइन्। कवि तथा लेखक एलबी क्षेत्रीले पुस्तक मानवीय संवेदनाले भरिएको बताए।
लेखक न्यौपानेले सामान्य मान्छेको आत्मकथा बन्छ या बन्दैन भन्ने प्रश्नले किताब लेख्न हौसाएको बताए। चलचित्र निर्मातासमेत रहेका न्यौपाने अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका छन्।
पुस्तकको प्रकाशन संस्था ‘किताब किरो’ रहेको छ।